७ वैशाख २०८१ शुक्रबार
राजनीति

योगी आदित्यनाथले भने : रामायण र बुद्धिस्ट सर्किट विकास गरौं

जनकपुरधाम - भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामायण तथा बुद्धिस्ट सर्किट विकासमा जोड दिएका छन्। सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा बुधबार जनकपुर आएका योगीले धार्मिक सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

उनले जनकपुर–अयोध्या तथा काठमाडौं–बनारसबीच भगिनी सहर निर्माणसम्बन्धी सम्झौताले दुवै मुलुकको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुवै सम्झौता भएका थिए। दुवै देशका भगिनी सहरलाई अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा ल्याउन धेरै काम गर्न बाँकी रहेको पनि उनले बताए।

विवाह पञ्चमी महोत्सव मूल समारोह समितिले रंगभूमि मैदानमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै योगीले जनकपुर र अयोध्याबीचको दूरी घटाउन भारत सरकारको सहयोगमा उत्तर प्रदेश सरकारले चार लेन सडक निर्माण सुरु गरेको बताए। ‘यो सडक बनेपछि जनकपुर र अयोध्याबीचको दूरी ४ घन्टा, जनकपुर र लखनउबीचको दूरी ५ घन्टा र जनकपुर तथा दिल्लीको दूरी ८ घन्टामा सीमित हुनेछ’, योगीले भने, ‘साथै, हजारौं वर्ष पुरानो हाम्रो साझा सांस्कृतिक परम्परा र विरासतको राजमार्गसमेत खुल्नेछ।’ यसले दुई मुलुकबीचको सांस्कृतिक विकाससँगै पर्यटन प्रवद्र्धन गरी आर्थिक विकासमा पनि ठूलो सहयोग पुग्ने दाबी उनले गरे।

‘नेपाल र भारतबीच एक प्रकारको सम्बन्ध छ। तर, जनकपुर र अयोध्याबीच आफ्नै सम्बन्ध छ’, योगीले भने, ‘सीताको जन्मभूमि जनकपुर हो भने रामको जन्मभूमि अयोध्या। सीताबिना राम अधुरा रहेजस्तै जनकपुर र अयोध्याबीच नङ र मासुजस्तो सम्बन्ध छ। दुनियाँकै सर्वश्रेष्ठ संस्कृतिको उदाहरण सीता र रामले प्रस्तुत गरेका छन्। यो सम्बन्धलाई निरन्तरता दिनु हाम्रो कर्तव्य हो।’

गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्याबीच यात्रु बससेवा उद्घाटन गरेर ऐतिहासिक कार्य गरेको दाबी गर्दै उनले भने, ‘जयनगर–जनकपुर–कुर्था रेलमार्ग निर्माण सम्पन्न भएको छ। भारत सरकारको सहयोगमा निर्माण भएको उक्त रेलमार्ग अर्को वर्षसम्म बर्दिबास पुग्ने हाम्रो विश्वास छ।’

योगीले ३१ मिनेटको भाषणका क्रममा रामायणमा आधारित कथा, मिथिला र अयोध्याबीचको सम्बन्ध तथा हिन्दु धर्मको महŒवबारे पनि व्याख्या गरे। प्राचीन मिथिलाका राजा जनक र अयोध्याका राजा दशरथबीचको सम्बन्धले जनकपुर र अयोध्यासँगै नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाएको दाबी उनले गरे।

उनले रामायण सर्किटजस्तै बुद्धिस्ट सर्किटको विकासमा पनि जोड दिए। बुद्धिस्ट सर्किटमा लुम्बिनी, कपिलबस्तु, देवदह, बोधगया, सारनाथ, नालान्दा, कुसीनगर, बैशाली पर्छन्। उनले भारतको आर्थिक प्रगतिको वास्तविक लाभ नेपालले प्राप्त गर्न कनेक्टिभिटीमा आधारित योजना कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनले आपसी सम्बन्ध थप बलियो बनाउन भारत सरकारको निर्देशनमा नेपालको संघीय र प्रदेश सरकारसँग सहकार्य गर्न उत्तर प्रदेश सरकार तत्पर रहेको बताए।

उत्तर प्रदेशका समकक्षीलाई स्वागत गर्दै प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले एक सय सात वर्ष पुरानो जानकी मन्दिरको सौन्दर्यीकरण र मैथिली संस्कृति प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। ‘जानकी मन्दिर हिन्दु धर्म मान्ने संसारभरका मानिसको आस्थाको केन्द्र त छँदैछ’, उनले भने, ‘नेपाल र भारतबीच धार्मिक पुलका रूपमा समेत रहेको जानकी मन्दिरको विकास प्रदेश २ सरकारको प्राथमिकतामा छ।’

उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री राउतले अभिनन्दन गरेका थिए। मैथिली भाषामा लेखिएको अभिनन्दन (ताम्र) पत्र योगीलाई प्रदान गर्दै राउतले जनकपुर आगमनप्रति आभार प्रकट गरे। योगीले मुख्यमन्त्री राउत तथा संघीय सरकारका संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलाई कुम्भमेलामा सहभागी हुने निमन्त्रणपत्रसँगै अयोध्याको सांस्कृतिक महŒव झल्किने मायाको चिनो प्रदान गरे।

प्रदेश सरकारले योगीको स्वागतमा उनीसँगै पाँच सय एक साधुसन्तलाई भण्डारा (वैष्णव भोजन) गरायो। योगीका लागि मधेस भवन परिसरमा भोजन गर्न विशेष स्थान बनाइए पनि उनले साधुसन्तसँगै बसेर भोजन गरे। उनीसँगै मुख्यमन्त्री राउत, प्रदेशसभा सभामुख सरोजकुमार यादव, राजपा नेता राजेन्द्र महतो र महन्थ ठाकुर, संघीय समाजवादी फोरमका रामसहाय यादव, प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, भारतीय राजदूत मन्जिभसिंह पुरी भण्डारामा सहभागी भए।

रंगभूमि मैदानमा महोत्सवका तर्फबाट जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास र नगरबासीका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले पनि योगीलाई अभिनन्दन गरे।

बिहान १०ः४० बजे जनकपुर विमानस्थलमा उत्रिएका योगी आधा घन्टा जानकी मन्दिरमा पूजापाठ गरेपछि मधेस भवन पुगेका थिए। त्यहाँ उनले मुख्यमन्त्री राउत र प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँग छुट्टाछुट्टै भेट गरे। त्यसपछि योगी रंगभूमि मैदानमा आयोजित सीतारामको छाया स्वयंवर समारोहमा दुई घन्टा बसे। उनी अपराह्न ४ बजे स्वदेश फर्किए।

प्रकाशित: २७ मंसिर २०७५ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App