काठमाडौं– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन्। यद्यपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे।
बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले भने, ‘आउने पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं। तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ।’
मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ है भनेर हिँडिरहेको अवस्थामा फेरी राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे। उनले भने, ‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भैरहेको छ। भौतिक संरचनासहित त्यहाँ सेटअप छ। अब त्यो ठाउँबाट राजधानी लानेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्याउँछ। १३ वटै जिल्लामा हाम्रा कार्यालयहरु स्थापना भैसकेका छन्। डिभिजन कार्यालयहरु सबै बनिसकेका छन्।’
काम गर्नको लागि आफूहरुले वातावरण तयार पारेको उनको जिकिर छ। उनले अब लगभग कामहरु नरोकिनेगरि कानुन निर्माण गरिसकिएको जनाए। मुख्यमन्त्री पौडेलले आफूहरुको अब केन्द्रिय सरकारसँग मुख्य माग भनेको नै केन्द्रिय सरकारले बनाउनुपर्ने कानुन छिटो बनाईदिओस् भन्ने नै रहेको सुनाए।
आफूहरु ७ वटै प्रदेशका मुख्यमन्त्रीले गम्भिर रुपमा उठाएका विषयहरुमा कर्मचारी र कानुनको समस्या रहेको पनि उनले सुनाए। कानुन र कर्मचारीको अभावका कारण आफूहरुले जनताले अपेक्षा गरेबमोजिमको विकास निर्माणका कामहरु गर्न नसकेको उनले स्वीकार गरे।
हालै काठमाडौंमा सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले साझा समस्या प्रधानमन्त्रीसामू राखेको पनि उनले बताए। २ दिनसम्म चलेको उक्त अन्तरप्रदेश परिषदको बैठक असाध्यै उपलब्धिमूलक रहेको उनको जिकिर छ।
प्रकाशित: २६ मंसिर २०७५ १२:४५ बुधबार