८ वैशाख २०८१ शनिबार
समाज

ट्राफिककाे लापरवाहीका कारण टाइम कार्ड लागु भएन

विपी राजमार्गस्थित सिन्धुली–खुर्कोट खण्ड। तस्बिर : अनिल/नागरिक

सिन्धुली - राजमार्गमा गति सिमित गरी दुर्घटना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्ने भनिएपनि पछिल्लो समय जिल्ला ट्राफिक प्रहरीको वेवास्ताले टाइम कार्डको प्रभाव देखिन छाडेको छ। गति नियन्त्रण गर्दै सिमित गतिमा सवारीलाई नियन्त्रण गरी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले टाइम कार्डको लागु गरिएको भएपनि पछिल्लो समय टाइम कार्डको औचित्य नै देखिन छाडेको स्थानीय बताउँछन्।

सवारी चालकको बदमासी, जिल्ला प्रहरी कार्यालय  र जिल्ला ट्राफिक प्रहरीको लापरवाहीका कारण टाइम कार्डको प्रभाव देखिन छाडेको स्थानीयको गुनासो छ। दैनिक जसाे दुर्घटना बढ्दै गएपछि केहि वर्ष अघि तिब्र गतिकै कारण दुर्घटना बढेकाे भन्दै ट्राफिक प्रहरीले टाइम कार्डलाई कडाइका साथ लागु गरी ट्राफिक व्यवस्थापन गर्ने बताएको थियो। बनेपा–सिन्धुली–बर्दिबास सडक खण्ड अन्तर्गत नेपालथोक देखि सिन्धुलीको भिमान सम्मका लागि दुई बर्ष अघिदेखि टाइमकार्ड लागु गरिएकाे भएपनि राजमार्गमा चल्ने सवारीले टाइमकार्डको धज्जी उडाउँदै तिब्र गतिमा सवारी चलाइरहेका छन्। जसले दुर्घटनाकाे दरलार्इ बढाएकाे छ।

"विपी राजमार्ग साँघुरो र घुमाउरो भएकाेले टाइम कार्ड लागु गरेका हौ", जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रामेश्वरप्रसाद यादवले भने "तर त्यस्तो हुन सकेन चेकपोष्टमा आइपुग्दा कार्डमा उल्लेख भएअनुसारकै टाइममा आउने तर बाटोमा अत्याधिक तिब्र गतिमा गुडाउने र चिया पसल तथा होटलमा रोकेर राखेर पोष्टमा पुग्दा मात्रै नियम पालना गरेको देखियाे, त्यसैले आगमि दिनमा टाइम कार्डलाई कडार्इका साथ लागु गर्छौ।" उनले ट्राफिक दरबन्दी अनुसार नभएकाले समेत समस्या थपिएकाे बताए। "थोरै ट्राफिक छन्, एकातिर चेकिङ राख्यो अर्को तिर पुग्दैन", उनले भने।

विपी राजमार्गको नेपालथोक, खुर्कोट सदरमुकामस्थित चेकपोष्ट र भिमानमा टाइमकार्डको चेकिङ हुने गरेको भन्दै प्रहरी प्रमुख यादवले टाइम कार्डमा हस्ताक्षर गर्ने प्रहरीको समेत नाम पद खुलाउनु पर्ने नियम ल्याउन लागेको बताए। टाइम कार्ड अझै कडाइका साथ लागु गर्छौ, उनले नागरिकसँग भने–‘नियम मिच्ने सवारीलाई छड्के चेकिङबाट समेत कारबाही हुन्छ।’ उनले छड्के चेकिङका लागि आफैले लिष्ट बनाएर ट्राफिकलाई दिन लागेको बताए।

बनेपा–सिन्धुलीमाढी–बर्दिबास सडक खण्डमा सवारीको गति सिमित गर्नुपर्ने राजमार्ग आयोजनाले नै सुझाएतापनि पूर्वका विभिन्न स्थानबाट बिपी राजमार्ग हुँदै काठमाडाैं ओहोरदोहोर गर्ने सवारीले उच्छृङ्खल व्यवहार देखाई गति तिब्र पारेपछि टाइमकार्डलाई कडाई गर्नु परेको प्रहरीको भनाई छ। विशेष गरी साना माइक्रो बस (हायस) का कारण दुर्घटना बढेको स्थानीय बताउँछन्। हायसले जताबाट पनि ओभरटेक गर्ने तथा तिब्र गतिमा कुदाउने जस्ता नियम उल्लङ्घन गर्दै सवारी चलाएका कारण दुर्घटना बढ्दै गएको उनीहरुकाे भनार्इ छ।

टाइमकार्ड अनुसार साढे एक घण्टामा आइपुग्नुपर्ने स्थानमा ७०/७२ मिनेटमै सवारी आइपुग्ने गरेका छन्।  टाइमकार्ड अनुसार भिमान सिन्धुली १८ किलोमिटरमा ठुला सवारीले ४० र साना सवारीले ३० मिनेट को गतिमा गुड्नुपर्ने हुन्छ भने सिन्धुली खुर्कोट ३९ किलोमिटर सडकमा ठुला सवारीले १ घण्टा ५० मिनेट र साना सवारीले १ घण्टा ३० मिनेट लगाउनु पर्छ। यस्तै खुर्कोट नेपालथोक खण्डमा ठुला सवारीले साढे एक घण्टा लगाउनुपर्छ भने साना सवारीले एक घण्टा १० मिनेट लगाउनु पर्ने नियम छ।

 

प्रकाशित: २६ मंसिर २०७५ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App