७ वैशाख २०८१ शुक्रबार
अर्थ

सीप सिकेर आत्मनिर्भर बन्दै अपांग महिला

धादिङको वैरेनीमा सिलाइकटाइ तालिम लिँदै अपांगता भएका महिला। तस्बिर : सरिता/नागरिक

धादिङ – जन्मजात अपांग भएकी धादिङको गल्छी गाउँपालिका–७, पलाङखर्ककी २१ वर्षीय भवानी कार्की धादिङको वैरेनीमा सिलाइकटाइ सिकिरहेकी छन्। उनको जन्मजात दुवै खुट्टा लुलो भइ हिँड्न नमिल्ने भएको छ। ६ जनाको परिवारमा आफूमात्रै शारीरिक अपांगता भएर बस्नुपर्दा अरुको बोझ जस्तै लाग्ने गरेको कार्कीले बताइन्। ‘सानो हुँदा साथीभाई, छरछिमेकीहरुले पनि जिस्क्याउने गर्थे, नराम्रो व्यवहार गर्थे,’ कार्कीले भनिन्, जिस्क्याउने तथा नराम्रो व्यवहार गर्ने भएपछि घरमा पाहुना आउँदा कहिले पनि कोठाबाट बाहिर निस्किन्नथे।’

कहिले वैशाखी त कहिले ह्विल चियरको मद्दतले गाउँकै वागेश्वरी प्राविमा कक्षा ५ सम्म पढ्न पाइन्। त्यसपछिको अध्ययनका लागि दुई–तीन घन्टा हिँडेर अन्यन्त्र जानुपर्ने भएकाले पढाइ बीचमै रोकिन पुग्यो। पढाइ पूरा गरेर आफूजस्तै अपांगता भएका महिलालाई शिक्षा दिने उनको इच्छा पनि रोकियो। दिनभरी घरमै बसिरहनुपर्दा दिक्क लाग्ने भएपछि उनका बुबाले घरमै किराना पसल राखिदिएका थिए। गह्रौ सामान उचाल्न नहुने र हिँड्न नमिल्ने भएपछि उनलाई समस्या पथ्र्यो।

भवानी एक वर्षदेखि जिल्लाको गल्छी, बैरेनीमा सिलाइकटाइ तालिम लिइरहेकी छन्। सुरुसुरुमा काम गर्न असहज भए पनि बिस्तारै बानी परेको उनले सुनाइन्। तालिममा उनी जस्तै अपांगता भएका महिलाले तालिम लिइरहेका छन्। एक वर्षसम्म उनले कुर्ता, सलवार, स्कुलका ड्रेस, बच्चाका कपडा सिलाउने सीप सिकिन्। सीप सिकेर आफूमा आत्मबल बढेको उनले बताइन्। ‘सीपले आत्मनिर्भर बनाएको छ,’ कार्कीले भनिन्, ‘अब गाउँमा गएर अरु दिदीबहिनीलाई पनि आफूले सिकेको सीप सिकाउछु।’ कटिङ, हेविङ तथा सिलाइमा पोख्त भएपछि उनीमा खुसीको सीमा छैन।

भवानीसँग ताप्लेजुङका २४ वर्षीय प्रमिला शेर्पा पनि सिलाइकटाइ सिकिरहेकी छन्।  सानैदेखि शारिरीक अपांगता हुन पुगेकी शेर्पा सीप सिक्नकै लागि धादिङ आइपुगेकी हुन्। ताप्लेजुङमा अपांगता भएकालाई निःशुल्क रुपमा खासै तालिम तथा सीप नपाउने भएका कारण अपांग संघमार्फत एक वर्षअघि धादिङ आइपुगेकी थिइन्। आफ्नो घरपरिवार र छरछिमेक छाडेर अन्य ठाउँमा नगएका शेर्पा राजधानी नजिकैको ठाउँमा आइपुग्दा नौलो अनुभव गरेकी थिइन्। उनले हरेक डिजाइनका कुर्ता, सलवार, पाइन्ट, बच्चाका कपडा सिलाउने गर्छिन्।

सानैमा हातखुट्टा लुलो हुने समस्या भोगिरहेकी उनले एसएलसीसम्मको अध्ययन गरेकी छन्। अपांगता भएपछि साथीभाइले जिस्काउने गर्थे। परिवारको बोझको रुपमा जन्मेकी रैछुजस्तो पनि लाग्ने गरेको शेर्पाले बताइन्। ‘शारीरिक अपांगता भएपछि आफू सबैको बोझ जस्तै लाग्थ्यो,’ शेर्पाले भनिन्, ‘घरदेखि टाढा आएर सीप सिकेकी छु, आफूजस्ता अपांगता भएका महिलालाई पनि सिकाउनेछु।’ अपांग संस्थामा आबद्ध भएर आफूजस्तै साथीहरु भेटिपछि खुसी लाग्ने गरेको उनले बताइन्। अपांगता भएकाले पनि सीप सिकेर सामान्य मानिसजस्तै गरेर बाँच्न सक्दो रहेछ भन्ने लागेको कार्कीले बताइन्।

मेरिक्नोल फादर्स एन्ड ब्रदर्स, युएसए काठमाडौं नेपालको आर्थिक सहयोगमा अपांग कल्याण संघ धादिङको आयोजनामा सञ्चालिन एकवर्षे निःशुल्क आवासीय सिलाइकटाइ तालिममा सहभागी अपांगता भएका महिला उत्साहित भएका छन्। अपांगता भएकाहरुमा पनि विभिन्न फरक क्षमता हुने भएकाले आत्मबल बढाउन तालिम सञ्चालन गर्दै आइरहेको अपांग कल्याण संघका महासचिव गोविन्द खनालले बताए। ‘हरेक वर्ष अपागंता भएकाहरुलाई आत्मनिर्भर बनाउन तालिम सञ्चालन गर्दै आइरहेका छौं,’ खनालले भने, ‘तालिममा सहभागीले व्यावसायिक रुपमा काम गरी आम्दानी पनि लिने गरेका छन्।’

तालिममा जिल्लाभित्रका मात्रै नभइ देशभरका विभिन्न जिल्लाबाट समेत सीप सिक्न आएका थिए। जन्मेको सात महिना हुँदा आगोले पोलेर दुवै खुट्टा लुलो भएर टेक्न नमिल्ने भएपछि ह्विल चियरको साहारामा हिँड्डुल गरिरहेकी नवलपरासीको गैंडाकोट नगरपालिकाकाकी पार्वती सापकोटाले पनि तालिम लिएकी छन्। घरमा आफन्त आउँदा लुकेर बस्ने गरेकी उनी अहिले निर्धक्कसाथ सिलाइको काम गर्छिन्। आफन्त आउँदा घरमै लुकेर बस्नुपरेको सम्झना गर्दै पार्वती भन्छिन्, ‘म आफैंमा आएको परिवर्तन देखेर आफैं छक्क पर्ने गरेकी छु।’ गाउँमा गएर सबैलाई आफ्नो सीप देखाएर चकित बनाउने उनले बताइन्।

एसएलसीसम्मको अध्ययन गरेकी उनले आर्थिक अवस्था कमजोर भएकै कारण त्यसपछिको अध्ययन पूरा गर्न सकिनन्। नजिकै सरकारी क्याम्पस नभएको र निजी क्याम्पसमा पढ्न आर्थिक अवस्था कमजोर भएकाले पढाइ रोकिएको हो। साथीमार्फत सिलाइकटाइ सिक्न धादिङ आइपुगेकी उनी अहिले पनि ह्विल चियरबिना हिँड्न सक्दिनन्। अपांगता भएपछि मानिसको हेर्ने र सोच्ने दृष्टिकोण र यातायातका साधनमा कठिनाइ हुने गरेको उनले बताइन्।

अपांगता भएकाहरुको आत्मबलका लागि अपांग कल्याण संघले निशुल्क रुपमा तालिमहरु सञ्चालन गर्दै आइरहेको छ। तालिममा अपांगता भएका र विपन्न महिलालाई सहभागी गराउँदै आइरहेको छ। सवारीसाधन, सरकारी कार्यालय तथा संघसंस्था अपांगमैत्री नहुँदा समस्या हुने गरेको अपांग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले बताए।

प्रकाशित: २६ मंसिर २०७५ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App