coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छैन जानकारी पहिलो महिनावारी

काठमाडौं – पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन्। तीमध्ये अधिकांशलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ ? भन्ने जानकारी छैन।

प्राकृतिकरुपमा महिलामा रागरस (हार्माेन)का कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरभित्रको भित्री तह तुहिएर रगत बग्ने प्रक्रियालाई महिनावारी भन्ने गरिन्छ। महिनावारी हुनु भनेको महिलाको प्रजनन् गर्न सक्ने उमेरमा प्रवेशको संकेत मानिन्छ।

पहिलो पटकको महिनावारीका कारण छात्राले विद्यालय जान छाड्ने, विद्यालयका शौचालय छात्रा मैत्री नहुँदा उनीहरु विद्यालय नै नजाने तथा छात्राको कम उमेरमा विवाह हुने प्रवृत्तिमा समेत नेपालले खासै सुधार गर्न नसकेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो। महिनावारी हुँदा प्रयोग हुने लुगा (प्याड) को सहज पहुँचको उपलब्धता नहुनु, सरसफाइका लागि पानी नहुनु तथा फोहर कपडाले उत्पन्न गर्ने प्रजनन रोगको समस्यामा कमी नआएको कार्यक्रममा औंल्याइयो।

जर्मन विकास नियोग, जर्मनको संघीय आर्थिक तथा विकास मन्त्रालय र महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीद्वारा संयुक्तरुपमा नेपालमा दोस्रो पटक महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी कार्यक्रमका सहभागीले सो कुरा औंल्याएका हुन्।

‘विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरीले महिनावारीका बेला अघि बढ्न सकून् भनेर सुनिश्चित गरौं,’ भन्ने सम्मेलनमा यस क्षेत्रमा कार्यरत महिला, बालबालिका, शिक्षा तथा विज्ञान प्रविधि, स्वास्थ्य तथा जनसंख्या र खानेपानी तथा सरसफाइ मन्त्रायलय, यहाँस्थित दातृ निकायका प्रतिनिधि तथा विज्ञ लगायतको सहभागिता रहेको थियो।

सफा पानी, सुरक्षित र लैंगिकरुपमा छुट्याइएका चर्पीको अभाव, लाजको अनुभूति र असजिलोपना लगायतका समस्या किशोरी तथा महिलाले भोग्दै आएका छन्। ती समस्यालाई सम्बोधन गर्न नसक्दा कति छात्राले विद्यालय तह नै पूरा गर्न पाउँदैनन्, कति हिंसामा पर्दछन् भन्ने अध्ययनसमेत भएको छैन। पछिल्लो समय नेपालमा महिला र किशोरीले भोग्नु परेका महिनावारीसम्बन्धी समस्या तथा व्यवधानहरुलाई सम्बोधन सरकारी निकायले उच्च प्राथमिकता दिएका छन्। एक विद्यालय एक नर्स कार्यक्रमको सुरुआत शिक्षा मन्त्रालयले गरेको छ। यसलाई अन्तर्राष्ट्रियजगत्ले स्वागतसमेत गरेका छन्। ‘पिरियड पोभर्टी’ अर्थात् महिनावारी सरसफाइ सामग्री जुटाउन स्थानीय निकाय तथा विद्यालयले स्वतःस्फूर्त रुपमा लगानी बढाउन थालेका छन्।    (विष्णु नेपाल/रासस)

कार्यक्रममा आयोजक संस्था जिआइजेडका स्वास्थ्य कार्यक्रम संयोजक भ्यालेरी ब्रोच अलभ्रेञ्जाले ग्रामीण क्षेत्रमा महिनावारी व्यवस्थापन गर्न नेपाल सरकारलाई सहयोग गर्न सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे। ‘पहिलो पटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाइमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानमा केन्द्रित रही किशोरावस्थाको स्वास्थ्य र विकासमा रहेका अन्तरहरुलाई मेट्न सम्मेलन आयोजन गरिएको हो,’ उनले भने।

महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीका संयोजक गुणराज श्रेष्ठले महिनावारी व्यवस्थापन कार्यक्रमलाई विद्यालयका पाठ्यक्रममा समावेश गराई जनचेतना जगाउन जोड दिए। सम्मेलनमा शिक्षा, जनचेतन तथा सिकाइ, नीति तथा पैरवी, दिगोपन, अनुसन्धान तथा विश्लेषण, पानी, सरसफाइ तथा महिनावारी स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा सहभागीका बीचमा छलफल भएको थियो।

महिनावारी स्वास्थ्य व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ डा मरनी सोमरले महिनावारी स्वास्थ्य व्यवस्थापन चिकित्सक र नर्सको मात्र नभई समुदायले यसमा ध्यान दिन जोड दिँदै पछिल्लो समय नेपालले यस क्षेत्रमा उल्लेखनीय सुधार गरेको बताए।

पूर्वनेपाल सुन्दरी माल्भिका सुब्बाले महिनावारीका कारण आफूले पनि भान्साका छिर्न नपाएको उदाहरण प्रस्तुत गर्दै आफ्नो पहिलो सन्तानको अन्नप्राशनको अघिल्लो दिन महिनावारी हुँदा पनि अन्नप्राशन कार्यक्रममा सहभागी भएको बताइन्। अधिकारकर्मी बन्दना राणाले महिनावारी स्वास्थ्य व्यवस्थापनका गर्न किशोरीलाई नमुना बनाई चेतना लगाउन ध्यान दिन आग्रह गरिन्।

प्रकाशित: २६ मंसिर २०७५ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App