७ वैशाख २०८१ शुक्रबार
राजनीति

धर्मका नाममा द्वन्द्व निम्तिन सक्छ : पूर्वराष्ट्रपति यादव

फाइल फाेटाे

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानअनुरुप धर्म–संस्कृतिसम्बन्धी विषयको व्यवस्थापन गरिनुपर्ने बताएका छन्। महालक्ष्मी नगरपालिका—८, विष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञको बुधबार शुभारम्भ गर्दै डा. यादवले भने, ‘धर्म–संस्कृति संवेदनशील विषय हो, यसप्रति बेलैमा होस नपुर्याए मुलुकमा नयाँ द्वन्द्व निम्तिन सक्ने खतरा छ।’

धर्म–संस्कृतिका मुद्दा बेवास्ता गरिए समाजमा अस्थिरता मच्चाउन चाहनेलाई त्यसबाट मलजल पुग्नसक्ने उनको भनाइ थियो। विश्वमा धर्मको कारण ठुल्ठूला युद्ध भएका प्रसंग उद्घृत गर्दै उनले समयमै विचार पुर्याउन जरुरी रहेको बताए। ‘नयाँ संविधान जारी गर्दा मैले राजनीतिक दललाई मधेस समस्याका साथै धर्म–संस्कृतिबारे गम्भीर रहन आग्रह गरेको थिएँ, सबैलाई यस्ता विषयमा सहमति जुटाएर अगाडि बढ्न भनेको थिएँ,’ उनले भने।

पूर्वाधार निर्माणका नाममा चुरे क्षेत्रमा वन विनास भएकोमा उनले चिन्ता व्यक्त गरे। चुरे क्षेत्रमा बनाउने भनिएको मदन भण्डारी राजमार्गले विकासभन्दा विनाश गर्नसक्ने उनको धारणा थियो। ‘आदरणीय मदन भण्डारीको नाममा बन्न लागेको राजमार्गले चुरेको जंगल विनाश हुनसक्छ, यसबाट तराईमा पानीको हाहाकार मच्चिन सक्छ,’ उनले भने।

महायज्ञको सफलताको शुभकामना दिँदै यादवले पवित्र कार्यमा सबैलाई सहयोगका लागि आग्रह गरे। सो कार्यक्रममा उनले बक्सिङ खेलाडी मनोहर बस्नेत म्याक्स बी, सगरमाथा सफल आरोही प्रकाशराज पाण्डे र कल्पना श्रेष्ठलाई पनि सम्मान गरे। यसैगरी, पूर्वराष्ट्रपतिले खानेपानी आयोजनाका लागि जग्गादान गर्ने पुतली थापा, सहकुल खत्री र लक्ष्मण खड्का, २०६७ सालमा सर्वाधिक दान गर्ने सानुमाया बिष्ट, खानेपानी आयोजनामा योगदान गर्ने महेश बिष्ट, जारी महायज्ञमा सर्वाधिक राशि दान गर्ने हामी सबैको यातायात प्रालि, ब्लुम नेपाल स्कुल, पुष्पराज केसी र लीलाकुमारी केसी, गणेश केसी र रेखा बिष्ट, इच्छाराम केसी र सानु केसीलगायतका दाताहरुलाई सम्मान प्रदान गरे। महायज्ञ आयोजक कमिटीका तर्फबाट कुबेर केसीले स्वागत मन्तव्य राखेका थिए।

सो कार्यक्रममा वाणीभाष्कर भुवन आचार्यले सभ्यता र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य रहेको बताए। विष्णुडोल खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लक्ष्मण कार्कीले कार्यक्रममा सहभागी र सहयोगीलाई धन्यवाद ज्ञापन गरे। आयोजक कमिटीका सचिव विवेककुमार कार्कीले कार्यक्रम सञ्चालन गरे। कार्यक्रमा शुभतारा स्कुल लामाटारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो। मंसिर २६ देखि पुस ३ सम्म चल्ने महायज्ञमा वाणीभाष्कर आचार्यले प्रवचन दिने कार्यक्रम छ।

प्रकाशित: २६ मंसिर २०७५ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App