coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिले घर बनाउनेले अनुदान पाएनन्

खोटाङ – खोटाङका स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनअघि घर ठड्याएका भूकम्पपीडित आवास अनुदानबाट वञ्चित हुनुपरेको बताएका छन्। प्राधिकरणले मंगलबार दिक्तेलमा आयोजना गरेको जिल्ला स्तरिय पुनर्निमाणसम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा सहभागी जनप्रतिनिधिले यस्तो बताएका हुन्।

२०७२ वैशाख १२ गते गएको महाभूकम्प र त्यसपछि पराकम्पनका कारण बस्नै नमिल्ने गरी घर भत्किएपछि आफ्नै लगानीमा हत्तपत्त आवास निर्माण गरेका सयौं पीडित सरकारी अनुदानबाट विमुख भएको केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राईले बताए। ‘हाम्रो गाउँपालिकामा प्राधिकरण गठनअघि १९३ भूकम्पपीडितले आफैं घर बनाए तर उनीहरूले अहिलेसम्म अनुदान पाउन सकेको छैन,’ उनले भने, ‘जसले ऋणपान गर्दै घर बनाए, उसले अनुदान नपाउनु दुःखद हो।’

भूकम्पलगत्तै आफूखुसी घर बनाउँदा मापदण्ड पूरा नगरेको नाममा वास्तविक भूकम्पपीडित अनुदानबाट वञ्चित हुन नहुने जनप्रतिनिधिहरूको भनाइ छ। प्राधिकरण गठनअघि बनाइएका घरका लागि अनुदान माग गर्दा मापदण्डको कुरा झिकेर प्राविधिकसँग विवाद हुने गरेको गाउँपालिका प्रमुख राईले बताए। आफैंले घर बनाएकाले प्राधिकरणको मापदण्ड नपुगेको हुनसक्छ,’ उनले भने, ‘तर उनीहरूले बस्ने विकल्प नभएर आफंै घर बनाएका हुन्। उनीहरू वास्तविक पीडित हुन्।’

ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भूकम्पलगत्तै घर बनाएका र अनुदानबाट वञ्चित हुन पुगेकालाई प्राथमिकतामा नराखेसम्म वास्तविक पीडितलाई न्याय नहुने बताए। उनले भने, ‘बस्ने ठाउँ नभएपछि दुःखका साथ घर बनाएका वास्तविक भूकम्पपीडितले अनुदान नपाउँदा जनप्रतिनिधिलाई नै अप्ठ्यारो परिरहेको छ।’
कतिपय भूकम्पपीडित अझै पनि प्राधिकरणको लाभग्राही सूचीमा समावेश हुनबाटै छुटेको भन्दै बैठकमा चर्को आवाज उठाइएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेका जिल्लामा ७ हजार ५७५ वटा गुनासो दर्ता भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास व्यवस्थापन तथा पूर्वाधार) कार्यालय(खोटाङ)ले जनाएको छ। प्राधिकरणका अनुसार खोटाङका ८ हजार ४४३ लाभग्राहीमध्ये ८ हजार ३२० लाभग्राहीसँग सम्झौता भएर पुनर्निमाण अघि बढाइएको छ।

त्यसमध्ये ८ हजार ३१७ लाभग्राहीले पहिलो किस्ता, ३ हजार ८३६ पीडितले दोस्रो किस्ता र ५४५ परिवारले तेस्रो किस्ता पाइसकेका छन्। जिल्लामा भूकम्प प्रवलीकरण लाभग्राहीको संख्या २५३ छ। जिल्लाका कुल लाभग्राहीमध्ये अझै १२३ सँग सम्झौता समेत हुन सकेको छैन। भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षति भएको तथ्यांक छ।

प्रकाशित: २६ मंसिर २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App