coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपन्न बस्तीमा डा. केसीको स्वास्थ्य सेवा

सोठियाइन (सिरहा) – मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचको माग राखी सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. गोविन्द केसीले १४औं अनशन तोड्दा जुस पिलाउने नथुनी रामको बस्तीमा पुगी स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन्।

उनी सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ स्थित सोठियाइन गाउँको विपन्न बस्ती पुगेर स्थानीयको स्वास्थ्य जाँच गरेका हुन्। उनले त्यहाँ सोमबार बिहान न्यानो कम्बल बाँडे र दिउँसो स्वास्थ्य जाँचसमेत गरे। त्यहाँको स्वास्थ्य चौकीमा बिरामीलाई उपचार गर्न डा. केसीलाई सघाइरहेका थिए उनकै विद्यार्थी डा. राज झा।

डा. केसीले अधिकांश बिरामीसँग जानीनजानी स्थानीय मैथिली भाषामै कुराकानी गरे। स्थानीय महिला तथा सर्वसाधारणलाई नेपाली बोल्न कठिन भएको महसुस गररै उनले मैथिली बोल्ने कोसिस गरेको डा. झाले जानकारी दिए। ‘कुनैकुनै बिरामीलाई डाक्टरसाबले नेपालीमा सोध्दा त्यसलाई मैथिलीमा अनुवाद गरेर बिरामीलाई बताइदिन्थें,’ डा. झाले भने।

डा. केसीले मैथिलीमा सोध्दा स्थानीय बिरामीले समस्या बताउन सहज महसुस गरिरहेको उनले सुनाए। ‘उहाँले मैथिलीमा समस्या सोध्दा आफ्नै गाउँठाउँको डाक्टरजस्तो लाग्यो,’ घुँडाका बिरामी सूर्यनारायण यादवले भने, ‘यति ठूलो र चर्चित डाक्टर यति सहज र सरल होलान् भन्ने हामीले सोचेकै थिएनौं।’ डा. केसीले सोमबार दिनभर सिरहाको दक्षिणी भेगमा पर्ने सीमावर्ती सोठियाइन र नवराजपुरको दलित विपन्नसँग बिताए। विपन्नहरूको समस्या बुझेर उनी सोठियाइन पुगी त्यहाँको स्वास्थ्य चौकीमा शिविर चलाएका हुन्।

काठमाडाैंबाट आइतबार दिउँसो औषधि र कम्बल लिएर एक्लै लहान आइपुगेका डा. केसी साँझ करिब ५ बजे सीमावर्ती सोठियाइन पुगेका थिए। लहान आइपुगेपछि डा. केसीले नथुनीलाई फोन गरेर सोठियाइन जाने बाटो सोधेका थिए। नथुनीले देखाएको बाटो पछ्याउँदै उनी सोठियाइनको मुसहर बस्ती पुगेका थिए।

डा. केसीलाई आफ्नो गाउँमा भेट्दा सुरुमा पत्यार नलागेको स्थानीय रामसुफल यादवले बताए। डा. केसीले विपन्नहरूलाई शीतलहरबाट बचाउन केही थान कम्बल र चिसोमा हाडजोर्नीको समस्याले पीडित वृद्धवृद्धाका लागि औषधि र मलम लिएर आएको बताएपछि स्थानीय रामसुफल भावुक बने। उनले डा. केसीलाई बस्ती पनि घुमाइदिए।

सोमबार बिहानै लहानबाट टेम्पोमा सोठियाइन पुगेका डा. केसी दिनभर कम्बल बाँड्न र उनीहरूको उपचारमै व्यस्त रहे। डा. केसीले स्थानीय बालबालिकालाई औषधि, चकलेट, बिस्कुटलगायत सामग्री बाँडेका थिए। ‘यहाँ म अझ एक साताअघि नै आउनुपथ्र्यो,’ उनले भने, ‘विपन्नहरूलाई जाडोबाट बचाउन न्यानो बाँड्न पाउनु मेरो सौभाग्य हो।’

प्रकाशित: २६ मंसिर २०७५ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App