coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आठौं राष्ट्रिय खेलकुद अझै अनिश्चित

आठौं राष्ट्रिय खेलकुद उद्घाटन र समापनका लागि तयार गरिँदै गरेको नेपालगन्ज रंगशाला । तस्बिर : नागरिक

काठमाडौं – दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने राष्ट्रिय खेलकुद समग्र नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने एक ठूलो प्रतियोगिता हो। तर, पहिला तीन संस्करणभन्दा बाहेक त्यसपछिका संस्करण भने २–२ वर्षमा हुन सकेनन्। वि.सं. २०३८ सालमा पहिलो संस्करण काठमाडौंमा भएको थियो। त्यसपछिका दुई संस्करण पनि दुई वर्षकै अन्तराल ०४० र ०४२ सालमा भए। त्यसपछिका संस्करण भने दुई वर्षमै भएनन्।

यसबीच ३७ वर्षभित्र १८औं संस्करण हुनुपर्ने राष्ट्रिय खेलकुद सातौं संस्करण मात्रै भएका छन्। प्रस्तावित आठौं संस्करण भने अझै अन्योलमा छ। विगतमा पनि राष्ट्रिय प्रतियोगिताबाटै देशका गौरवशाली खेलाडी उत्पादन भएका यथार्थ हामीसँग ताजै छ। त्यसैले यो प्रतियोगिता नेपाली खेलकुदका लागि मेरुदण्ड हो।

यद्यपि, पछिल्लो चरणका राष्ट्रिय खेलकुद ‘बिरालो बाँध्न’ मै सीमित छन्। जसरीतसरी प्रतियोगिता गरिन्छ, तर प्रतिफल भने सामान्यभन्दा माथि जाँदैन। राष्ट्रिय खेलकुद सकिँदा अघिल्लो संस्करणको स्थान निर्धारण हुन्छ। तर, तयारी भने घस्रने अवस्थामा पनि रहँदैन। सरकारले समयमै बजेट व्यवस्था नगर्नु तथा नेपाली खेलकुदको अभिभावक संस्था खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीचको सम्बन्धमा चिसोपनाका कारण पटकपटक मिति सरेर मात्र यसअघिका संस्करण आयोजना भएका थिए।

आठौँ संस्करणमा पनि यस्तै कार्यले निरन्तरता पाइरहेको छ। सातौँको समापन समारोहमै मध्यपश्चिमाञ्चल जिम्मा दिइएको आठौँ राष्ट्रिय खेलकुद दुई पटक सर्ने तय भइसकेको छ। नेपालगन्जमा मंसिर २१ देखि २८ गतेका लागि पहिलो पटक तय भएको राष्ट्रिय खेलकुद राखेपको १ सय १०औँ बोर्ड बैठकले माघमा सारेको थियो।

खेल नेतृत्वले राष्ट्रिय खेलकुद समयमै सकेर १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा लाग्नुपर्ने बेला हो अहिले। तर, त्यसो भइरहेको छैन। नेपालले पटकपटक साग आयोजनाको मिति सारेर छिमेकीसामु आफ्नो बेइज्जत मात्र गरेको छैन, लाखौं खेलाडीको भविष्यमाथि पनि खेलबाड गरिरहेको छ।

तर, मिति भने तय गरेन। मिति तोक्न युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको अध्यक्षतामा बसेको बोर्ड बैठकले आँट गरेन। गरोस् पनि कसरी, तयारी राम्रो थिएन। समयमा बजेटको पहल भएन । फेरि दोस्रो पटक पनि प्रतियोगिता सर्ने सार्वजनिक भइसकेको छ।

खेलकुद पूर्वाधार निर्माण कार्य सम्पन्न नहुँदा आयोजकले पनि प्रतियोगिता सार्न अनुरोध गरेको थियो। राखेप नेतृत्वले पनि फागुनको पहिलो या दोस्रो सातादेखि नै राष्ट्रिय खेलकुद हुने सार्वजनिक कार्यक्रममार्पmत बताउँदै आएको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले प्रतियोगिता फागुनको पहिलो साता हुने बताए । उनले भने, ‘माघ मसान्तसम्म निर्माणाधीन संरचना पूरा हुनेछन्। त्यसैले खेल आयोजना फागुनमा गर्नेछौं। मौसमका हिसाबले पनि सो समय निकै उत्तम हो।’

यता, राखेपका सदस्यसचिव केशवकुमार विष्टको दाबी पनि त्यस्तै छ। सदस्यसचिव विष्ट भन्छन्, ‘तयारीमा केही ढिलाइ भए पनि निर्धारित दुई वर्षभित्र नै प्रतियोगिता हुन्छ। फागुनभित्र नहुने कुनै आधार छैन। समयसमयमा प्रत्यक्ष रूपमै निरीक्षण गरिराखेका छौं। तयारी तीव्र रूपमा भएका छन्। त्यसैले समयमै हुन्छ।’

गत मंसिर ३ गते स्थानीय प्रतिनिधि र प्राविधिक सम्मिलित टोलीको निरीक्षणपश्चात् जारी रिपोर्टमा ६० प्रतिशत मात्र पूर्वाधार निर्माण सम्पन्न भएको उल्लेख छ। नेपालगन्ज रंगशालालाई स्तरोन्नति गर्ने र फोल्डिङ प्यारापिट बनाउने निर्णयले पनि पूर्णता पाउन सकेको छैन।

तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको ‘जी’ स्ट्यान्डर्डको फोल्डिङ प्यारापिट अझै बनिसकेको छैन। मलेसियामा बनाइएको यो रंगशालाको डमी मंसिरको तेस्रो साता मात्र नेपालगन्जको आयोजना स्थलमा आइपुगेको छ। यहीं उद्घाटन र समापन समारोहको कार्यक्रम हुनेछ। यही स्थानमा केही खेलसमेत हुन्छन्। विभिन्न जिल्लामा गरेर कुल ३५ खेल ३५ नै स्थानमा हुनेछन्।

प्रतियोगिताका अधिकांश खेल बाँकेका १७ स्थानमा हुनेछन्। दाङमा ७, बर्दियामा ४, रूपन्देहीमा ४, कपिलवस्तुमा १ खेल र केही खेल काठमाडौंमा समेत हुनेछन्। यीमध्ये १२ स्थानमा निर्माणकार्य पूर्ण रूपमा सम्पन्न भइनसकेको आठौं खेलकुदका भौतिक पूर्वाधार निर्माण तथा खेलस्थल तयारी संयोजक भीम ओलीले जानकारी दिए।

आयोजकले राष्ट्रिय खेलकुद परिषद्मार्फत अर्थमन्त्रालयसँग एक अर्ब पाँच करोड रुपैयाँ माग गरेको थियो। निर्माणमा ७० करोड र खेलसञ्चालनका लागि ३५ करोड आयोजकको माग  थियो। यसमध्ये १७ करोड रुपियाँ निकासका भइसकेको छ। तत्कालका लागि आवश्यक ४३ करोड खेलकुद मन्त्रालयमार्पmत अर्थमन्त्रालयसँग माग गरे पनि निकासा हुन नसकेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका ओलीले जानकारी दिए।

खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै गत असोज १९ गते  नै रकम माग गरे पनि हालसम्म सुनुवाइ भएको छैन। अध्यक्ष ओलीले भने ,‘हामी निर्माण समयमा सक्नेछौं। खेल माघभित्रै हुनेछ। त्यसका लागि बजेट निकास समयमा हुनुपर्दछ। यदि, खेल स¥यो भने बजेट नै कारण हुनेछ। त्यसको दोष सरकार जान्छ।’

युवा तथा खेलकुदमन्त्री सुनारले आवश्यक बजेटको बारेमा छिट्टै सुनुवाइ हुने दाबी गर्दै भने, ‘बजेटका कारण प्रतियोगिताको तयारीमा प्रभाव पर्ने छैन। हामी भविष्यवाणीतिर नजाऊँ  बजेट समयमै निकासा हुन्छ।’

सरकारले समयमै राष्ट्रिय खेलकुद गर्न केकस्ता उपाय  अगाडि बढाएका छन् भन्ने प्रश्नमा मन्त्री सुनार भन्छन्,‘अब प्रत्येक राष्ट्रिय खेलकुदमा समस्या आउने छैन। यस पटक स्थायी किसिमको कार्यविधि बनाउँदै छौं। कार्यविधिमा ७ सय ५३ तहमा खेलस्थल निर्माण गर्ने योजना छ। यसमा अर्थमन्त्रालयको समेत सहमति भइसकेको छ। यो अहिले मन्त्रिपरिषद्मा छ। जुन पास हुने तयारी छ।’

यद्यपि, मन्त्रालयले भनेजस्तो माघमै संरचना बन्ने अवस्था छैन। आठौं खेलकुदका प्राविधिक टोली र स्थानीय जनप्रतिनिधि समिल्लित पछिल्ला रिपोर्टमा  समयमै खेल हुने अनिश्चित छ। बिनातयारीको मिति तय र खेलकुद मन्त्रालयले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्न चुक्दा आठौं खेलकुद फेरि स्थगित नहोला भन्न सकिन्न। स्वयम् आयोजकले पनि बजेट अभावका कारण आठौंको तयारीमा ढिलाइ भएको बताइसकेका छन्।

मन्त्री सुनारले भने,  ‘अघिल्लो सरकारले तय गरेको मितिभन्दा केही ढिला भएको हो। सोही निर्णयमा १३औं दक्षिण एसियाली खेलकुदलाई समेत आधार हुने गरी मिति घोषणा भएको थियो। हामीले समयमा नै प्रतियोगिता गर्ने उद्देश्यले योजना बनाएका हौं। तर सबै संरचना निर्माण गरेर आठौं खेलकुद गर्नुपर्ने भएकाले ढिलाइ हुन पुग्यो। यद्यपि, अब दुई वर्षभित्र नै हुन्छ।’

खेल नेतृत्वले राष्ट्रिय खेलकुद समयमै सकेर १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा लाग्नुपर्ने बेला हो अहिले। तर, त्यसो भइरहेको छैन। नेपालले पटकपटक साग आयोजनाको मिति सारेर छिमेकीसामु आफ्नो बेइज्जत मात्र गरेको छैन, लाखौं खेलाडीको भविष्यमाथि पनि खेलबाड गरिरहेको छ।

खेलकुदमन्त्री सुनारले पटकपटक राष्ट्रिय खेलकुद र १३औँ साग समयमा आयोजना गर्ने तथा खेलकुदलाई समृद्धितर्पm डोर्याउने दाबी गरे पनि त्यो भाषणमा मात्र सीमित भएको छ। उनको भनाइको अनुभूति नेपाली खेलकुदले गर्न पाइरहेको छैन।

दिनप्रतिदिन नेतृत्वको यस्तो रबैयाले खेलाडी मारमा परेका छन्। उनीहरूले तयारीमा पनि थकान महसुस गरेका छन्। उनीहरू भन्छन्, ‘कतै आठौँ खेलकुद यो वर्ष गर्भमै तुहिने त होइन।’ तेक्वान्दोका खेलाडी रञ्जन श्रेष्ठ भन्छन्, ‘नेपालमा राष्ट्रिय खेलकुद नियमित हुन्थ्यो भने धेरै संस्करण सम्पन्न भइसक्थे। यस्ता रबैयाका कारण कयौैं पुस्ताले यो प्रतियोगिता नै खेल्न पाएनन्। यस पटक पनि राष्ट्रिय खेलकुद अर्को वर्ष नकुर्नुपर्ला भन्न सकिन्न।’

खेलाडीले भने जस्तै आयोजक मध्यपश्चिमाञ्चलका अध्यक्ष ओली भन्छन्, ‘फागुनभित्र प्रतियोगिता गर्न सकिएन भने ६–७ महिना लागि अनिश्चित हुन्छ। यद्यपि, त्यसो हुन हामी दिँदैनौं। सरकारको सहयोगमा समयमै गर्छौं।’

प्रकाशित: २५ मंसिर २०७५ २३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App