८ वैशाख २०८१ शनिबार
राजनीति

जनताको उजुरी लिदै प्रदेश सरकार

रुपन्देही– बुटवल उपमहानगरपालिका ५ की मान कुमारी नेपालीले ४ धुर जग्गाको मूल्य तिरिन। तर लालपूर्जामा पौन चार धुर मात्रै भयो। लालपूर्जामा जग्गा कम भएपछि उनले पटक पटक जग्गावालासँग गुनासो गरिन। मालापोत कार्यालय पटक पटक धाईन। तर समस्या समाधान भएन। कहीँबाट पनि समस्या समाधान नभएपछि मंसिर ८ गते प्रदेश मामिला सूचना केन्द्रमा उजुरी दिएकी छन्। मानकुमारीको समस्याबारे मालापोत कार्यालयलाई खबर गरेर समस्या समाधानको चरणमा रहेको प्रदेश मामिला सूचना केन्द्रका प्रमुख बुद्ध प्रकाश पौडेलले बताए। 

सरकारी सेवा, ढिलासुस्ती, अनियमितता र आपतकालिन बेलामा सूचना केन्द्र मार्फत उजुरी गर्ने व्यवस्था गरिएको छ। 

कात्तिक १९ गते गैडहवा रुपन्देही घर भई बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत भोला यादव वेपत्ता भएपछि परिवारले प्रदेश सूचना केन्द्रमा उजुरी गरेँ। उजुरी गरेकै दिन बर्दिया राष्ट्रिय निकुञ्जमा सम्पर्क गरेपछि वेपत्ता यादवको अवस्था पत्ता लाग्यो। यसरी समस्यामा परेका सर्वसाधरणको गुनासो सुन्न थालेपछि प्रदेश ५ प्रदेश मामिला सूचना केन्द्रमा उजुरी गर्नेहरुको संख्या बढ्न थालेको छ। जनतासँग प्रदेश सरकार सँगै छ भन्ने सन्देश दिने उदेश्यले सूचना केन्द्रमा नागरिकको उजुरी लिन थालिएको छ।

स्थानीय, प्रदेश र कुनै पनि सरकारी निकायले काममा गरेको ढिलासुस्ती, विकास निर्माणमा हुने अनियमितता, सरकारी सेवा तथा कुनै पनि क्षेत्रको समस्याबारे नागरिकले सूचना केन्द्रमा उजुरी गर्न सक्नेछन्। उजुरीको व्यवस्था भएपछि अहिले केन्द्रमा उजुरी र गुनासो आउनेक्रम क्रमश बढ्दै गएको छ। बिशेष गरि जग्गामा हुने लेनदेन, मालपोतमा भएका अनियमितता जस्ता बिषयहरु केन्द्रमा उजुरी पर्ने गरेको छ। उजुरी आउना साथ सरकारका सम्बन्धित मन्त्रालय वा अन्य निकायसमक्ष उजुरीको सुनुवाई गर्ने गरिएको केन्द्र प्रमुख पौडेलले बताए। सर्वसाधरणले गुनासो फोन, इमेल र कार्यालयमै आएर दिन सक्नेछन्। बिशेष गरि प्रदेश ५ लाई सुशासनमा नमूना प्रदेश बनाउने सरकारको सोँच अनुसार यो अवधारणा अघि सारिएको हो। ‘भर्खर केन्द्र स्थापना भएकाले नागरिकको उजुरी आउन थालेको छ ’ प्रमुख पौडेलले बताए। 

सुशासनसँगै आपतकालिन घटना, शान्ति सुरक्षा र विपदमा परेका बेलामा समेत सूचना केन्द्रमा खबर गर्ने गरि केन्द्र स्थापना गरिएको हो। अहिले सुशासन भन्दा बढी आपतकालिन घटनाका उजुरी आएका छन्। आगलागीका घटनाको १२ वटै जिल्लाबाट सूचनाहरु आउने गरेका छन्। प्रदेश सरकारको पैसा नलाग्ने टेलिफोन नम्बर १६६०७१५२०२० मा फोन गरेर आपतकालिन सूचना तथा सुशासनका बिषयसँग जोडिएका बिषयमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ। विहान ९ः३० बजेदेखि साँझ ५ बजेसम्म टोलफ्रि नम्बरमा फोन गरेर नागरिकले उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ। यसका साथै इमेल, तथा चिठी पठाएर पनि उजुरी गर्न सकिनेछ। 

विपद, आकस्मिक घटना, शान्ति सुव्यवस्था र सुशासनका चार क्षेत्र हेर्ने गरि सूचना केन्द्र सरकारले सञ्चालनमा ल्याएको छ। विपद, आकस्मिक र शान्ति सुव्यवस्था सँगै सुशासनलाई पनि सरकारले उतिकै प्राथमिकतामा राखेको छ। नागरिकले कुनै पनि खालको समस्या भोग्नु परे सरकारलाई सहयोगीको रुपमा सम्झने वातावरण बनाउनका लागि गुनासो राख्ने केन्द्रको रुपमा विकास गर्न खोजेको छ । 

१२ वटै जिल्लामा आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत सूचना संकलन गर्ने गरिएको छ। तर प्रदेश ५ का रुपन्देही, प्यूठान, रोल्पा, रुकुम र गुल्मीमा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र छैन्। यी जिल्लाहरुमा छिट्टै आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने योजना रहेको छ। यसका साथै अब जिल्ला समन्वय समितिलाई जिम्मेवार बनाउने गरि सूचना केन्द्रलाई थप प्रभावकारी बनाउन खोजिएको छ । ‘यसको प्रचार प्रसार अझ हुन सकेको छैन, जनताले विपदमा पर्दा, असुरक्षित महसुस हुँदा वा कुनै पनि सरकारी निकायमा सेवा लिदा अप्ठ्यारो भए तुरुन्त खबर गर्न सक्छन, यसले सुशासन बढाउछ’, प्रमुख पौडेलले भने। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको भवनमा प्रदेश मामिला सूचना केन्द्र सञ्चालनमा आएको छ। १२ वटै जिल्लाका नागरिकले सरकारको सहयोगमा सुशासन कायम गराउनका लागि सूचना केन्द्रमा उजुरी गर्ने माध्यम शुरु गरेको हो। प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत कात्तिक ९ गते प्रादेशिक सूचना केन्द्रको उद्घाटन गरेका थिए। बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी जस्ता प्राकृतिक प्रकोपका बेलामा सूचना केन्द्रलाई परिचालन गर्ने पहिलो योजना सरकारको छ। सरकारले केहि उद्दारका सामाग्री समेत तयारी अवस्थामा राखेको छ। 

बुटवल धागो कारखानामा आपतकालिन उद्धारका सामानहरु स्टोर गरेर राखेको छ। कुनै पनि प्राकृतिक प्रकोपका बेलामा उद्धारका लागि जनशक्ति परिचालनदेखि उद्धारका सामाग्री समेत तयार पारेर राखिएको छ। प्रदेशभरिका सूचना संकलन गर्ने र संघीय सरकारलाई समन्वय गर्ने काम पनि भइरहेको छ। केन्द्रको कामलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीले समेत ध्यानाकर्षण गराइरहेका छन्। सूचना केन्द्रमा एक जना प्रमुख सहित अनुसन्धान प्रहरी, प्रहरी र कप्यूटर अपरेटर गरि ५ जना जनशक्ति खटिएका छन्। 

प्रकाशित: २५ मंसिर २०७५ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App