coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हजुरआमा कुटेर घरबाट निकाल्ने नाती र नातिनी बुहारीलाई कैद

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान, लाउन नदिइ कुटपिट गरेको घरेलु हिंसा मुद्दामा नाती र नातिनी बुहारीलाई कैद जरिवाना र क्षतिपूर्ति सजायको फैसला सुनाएको छ। 

जिल्ला न्यायाधीश टीकाराम आचार्यको इजलासले चौतारा–साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकका ३० वर्षीय विक्रम गिरी र उनकी श्रीमती ३५ वर्षीया विष्णु गिरीलाई घरेलु हिंसा कसुरमा जनही दुई महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। 

घरेलु हिंसा कसुरमा जिल्ला अदालतले पहिलो पटक कसुरदारलाई कैद सजाय तोकेको हो। यसअघि अधिकतम जरिवाना र क्षतिपूर्ति भराउने सजाय भए पनि कैद भने तोकिएको थिएन। 

‘फैसला अनुसार दुबैले हजुरआमालाई ५० हजार रुपैयाँका दरले क्षतिपूर्तिसमेत दिनुपर्ने छ,’ अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले नागरिकसँग भने। ७८ वर्षीया राधाकुमारी गिरीले खानलाउन नदिएको, कुटपिट गर्दै आएको र हेला गर्ने गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्। राधाकुमारी र बिक्रम दम्पति नाताले एकाघरका हजारआमा, नाति–नातिनी बुहारी हुन्। 

घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को दफा १३ बमोजिम पीडकलाई कैद र जरिवाना तथा दफा १० बमोजिम क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार पौडेलले बताए। सोही ऐनअनुसार सजाय माग गर्दै राधाकुमारीले २०७५ साउन १९ गते प्रहरीमा निवेदन दिएकी थिइन्। खानलाउन नदिइ हेला गर्दै आएका नाति–नातिनी बुहारीले २०७४ चैत १४ गते कुटपिट गरी देब्रे हात भाचिँदिएको, देबे्र करङमा चोट लागेको पीडितले उल्लेख गरेकी छिन्। 

त्यसपछि पनि कुटपिट गर्न नछाडेपछि न्यायका लागि बाध्य भएर नाती–नातिनी बुहारी विरुद्ध मुद्दा लड्नु परेको उनले आफ्नो निवेदनमा भनेकी छिन्। ‘भूकम्पले भत्काएको घर बनाउन आफ्नै जग्गासमेत दिएनन्। अनुदानको पहिलो किस्ता उपचारमै सकियो,’ राधाकुमारीले उल्लेख गरेकी छिन्। 

हाल छिमेकीको शरणमा बस्दै आएको समेत उनले बताएकी छिन्। स्रेस्तेदार पौडेलले घरेलु हिंसा कसुरमा जिल्ला अदालतले पहिलो पटक कसुरदारलाई कैद सजाय तोकेको हो। ‘यसअघि अधिकताम जरिवाना र क्षतिपूर्ति भराइए पनि कैद सजाय नै तोकिएको भने थिएन,’ उनले भने। 

प्रकाशित: २५ मंसिर २०७५ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App