संस्कृति

विवाहको वैदिक मान्यता

मङ्गलबार, २५ मङि्सर २०७५, १४ : २२ नागरिक

हरि पाण्डेय ‘पथिक’

सनातन वैदिक मान्यताअनुसार विवाह गृहस्थाश्रममा प्रवेश गर्ने महत्वपूर्ण अवसर हो । उमेर पुगेका युवा–युवती दुवैले विधिवत् रूपमा ब्रह्मचर्यका नियमको अन्त्य गरी नयाँ जीवनमा प्रवेश गर्ने काम यहीँबाट प्रारम्भ हुन्छ । विवाहमा दुवै पक्षका अभिभावकको स्वीकृति, सहमति र संरक्षकत्वमा कुलघरान र गुण मिल्ने केटा र केटीबीच पतिपत्नीको सम्बन्ध गाँसिन्छ । विवाह गर्ने उमेरका कुमार र कन्यालाई भावी जीवनका चुनौतीबारे पूर्वानुमान गरेर सही निष्कर्षमा पुग्न कठिन हुने भएकाले अनुभवप्राप्त अभिभावकको मार्गदर्शन लाभदायी हुन्छ । त्यसैले उपयुक्त जोडा छानेर छोराछोरीलाई नयाँ जीवनको प्रारम्भ गराइदिने जिम्मा पनि अभिभावकलाई नै दिइएको छ । अभिभावकको संरक्षकत्वमा देवतालाई साक्षी राखी सुखद एवं सफल दाम्पत्यको कामना गर्ने अवसर नै विवाहको उत्सव हो । 

वैदिक मान्यताअनुसार विवाह उत्सव मात्र नभई संस्कार पनि हो । यसबाट वरवधूका अविवाहित अवस्थामा वहन गरेका केही जिम्मेवारी घट्छन् र केही थपिन्छन् । वरवधूका भौतिक संसार र मानसिक संसारमा अब उसका जीवनसाथीको पनि अधिकार हुन्छ । उसले गर्ने निर्णयले अर्को व्यक्तिको जीवन पनि प्रभावित हुन्छ । उनीहरूका अन्तरङ्ग निर्णयमा र बहिरङ्ग काममा साथीको सहयोग मिल्छ । प्रिय निर्णयका लागि बल मिल्छ भने अप्रिय निर्णयका लागि सुझाव मिल्छ । यसले उनीहरूमा परिपक्वता र निर्णायक क्षमताको पनि विकास हुँदै जान्छ । सामाजिक जीवनको अभ्यास यहीँबाट सुरु हुन्छ । यसरी नयाँ पुस्तालाई सबल र सक्षम बनाएर सामाजिक जिम्मेवारी हस्तान्तरण गर्दै जाने परम्पराले नै सभ्यताको विकास भएको हो । 

वैदिक मान्यताअनुसार विवाहका मुख्य दुई उद्देश्य देखिन्छन्- १. मर्यादित रूपमा कामवासनाको उपभोग गर्नु र २. वंश परम्परा अविच्छिन्न बनाउनका लागि सन्तान उत्पादन गर्नु । यी दुई उद्देश्य नारी र पुरुषको सहकार्यबाट मात्र सम्भव हुने भएकाले गुण मिल्ने वरवधूबीच विवाह गरी गृहस्थ जीवनको सुखभोग गर्ने व्यवस्था शास्त्रले गरेका छन् । गृहस्थ जीवनबाटै धर्म, अर्थ र काम गरी तीनवटा पुरुषार्थ सिद्ध हुने भएकाले ‘धन्यो गृहस्थाश्रमः’ गृहस्थाश्रम धन्य छ भनेर यसको प्रशंसा पनि गरिएको छ । वर्णाश्रम व्यवस्था अन्तर्गत सबै आश्रम र सबै प्राणीको जीवन गृहस्थ आश्रममा आश्रित हुने भएकाले यसलाई आश्रमहरूमध्येको श्रेष्ठ मानिएको छ । 

नयाँ गृहस्थ जीवनलाई मङ्गलमय बनाउनका लागि देवता, पितृ र अभिभावकहरूको आशीर्वाद लिने अवसर वैवाहिक समारोह हो । यसमा दैवी शक्ति र अभिभावकहरूलाई साक्षी राखेर वरवधूले जीवनका हरेक सुखदुःखमा सहकार्य गर्ने वाचा गर्दछन् । भौतिक शरीर भिन्न भए पनि एक मन आधा अङ्ग बनेर सहकार्य गर्न सकौँ भन्दै दैवी शक्तिसँग प्रार्थना गरिन्छ । प्रत्यक्ष अग्निदेव, सूर्यदेव र धु्रवसँग अखण्ड अनुराग एवं अटल सौभाग्यको कामना विवाहोत्सवमा गरिन्छ । 

सामाजिक दृष्टिले विवाह एउटा रमाइलो उत्सव पनि हो । यसमा वैदिक कर्मकाण्डका अतिरिक्त सामाजिक चालचलन पनि प्रशस्त जोडिएका हुन्छन् । त्यसैले वैदिक पद्धतिअनुसार गरिने विवाहमा पनि ठाउँअनुसारका फरक–फरक विधि हुन्छन् । यस्ता सामाजिक विधि–व्यवहारलाई कर्मपद्धतिकै मान्यता दिनुपर्ने कुरा गृह्यसूत्रका लेखक पारस्करले बताएका छन् । उनले विवाहको वैदिक विधि बताएर अन्त्यमा ‘स्थानीय विधि–व्यवहारलाई मान्यता दिनू’ भनेका छन्। 

विवाहको पद्धतिमा केही प्रधान कर्म र केही अङ्गभूत कर्म रहेका छन् । कन्यादान, पाणिग्रहण, लाजाहोम, अश्मारोहण, सप्तपदी र जयाहोम विवाहका प्रधान कर्म हुन् भने मधुपर्क, सूर्यदर्शन, हृदयालम्भन, अभिषेक र चतुर्थी अङ्गकर्म हुन् । यसै गरी स्वयंवर, लग्नग्रन्थि–बन्धन, परस्पर अवेक्षण, सिन्दूर–दान, स्थानपरिवर्तन जस्ता कर्म आचारप्राप्त कर्म हुन् । नेपाली समाजले गोडा धुने, खाँडो जगाउने, कौडा खेल्ने, जुठो खाने जस्ता विधिहरू थपेर विवाहको पद्धति तयार पारेको छ । 

विवाहमा प्रयोग हुने मन्त्रको भाव

विवाहमा प्रयोग हुने वैदिक मन्त्रले मङ्गलमय र सफल दाम्पत्य जीवनको कामना गरेका छन् । विवाहकर्मको आरम्भ वरवधूले परस्पर हेराहेर गरेर हुन्छ । यसमा ‘समञ्जन्तु विश्वेदेवाः....’ मन्त्र पढिन्छ । यस मन्त्रमा वरले वधूलाई सम्बोधन गर्दै यसो भन्छन्— हे कन्या ! हामी दुईका मनमा जस्ता सङ्कल्प उठ्छन् र हामीले जस्तो व्यवहार गर्छौं ती कुरालाई विश्वेदेव र अप् देवताले मङ्गलमय बनाऊन् । हाम्रा विचार समान होऊन् । हामी दुईका हृदय समान होऊन् । वायुदेव र प्रजापति देवले हाम्रा हृदय समान बनाऊन् । 

पाणिग्रहण विवाहको महत्वपूर्ण कर्म हो । यसैको महत्वले गर्दा विवाहलाई पाणिग्रहण पनि भनिन्छ । यसमा वरले वधूको दाहिने हात ग्रहण गर्दछन् । यसमा पढिने मन्त्रहरूमध्ये ‘अमोऽहमस्मि....’ मन्त्रमा वरले वधूलाई यसो भन्छन्- हे कन्या ! म विष्णु हुँ, तिमी लक्ष्मी हौ । तिमी महाकाली, महालक्ष्मी, महासरस्वतीरूप त्रिदेवी हौ, म ब्रह्मा, विष्णु, महेशरूप त्रिदेव हुँ । तिमी ऋचा (गीत) हौ, म साम (लय) हुँ । म आकाश हुँ, तिमी पृथ्वी हौ । हामी दुईबीच अभिन्न सम्बन्ध रहेको छ । 

लाजाहोम विवाहको अर्को महत्वपूर्ण कर्म हो । यसमा वधूले भाइका हातबाट शमीपत्र र लावा लिएर अग्निमा आहूति दिन्छिन् । यसबेला ‘इमान् लाजान्....’ मन्त्रमा वधूले वरलाई सम्बोधन गर्दै भन्छिन्— हे स्वामी ! हजुरको समृद्धिका लागि म यी लावा अग्निमा आहुति दिन्छु । यस आहुतिले म कन्या र हजुर वर हामी दुवैमा परस्पर अनुराग जाग्रत् होओस् । यो पवित्र अनुराग बलियो हुँदै जाओस् । अग्निदेवले हामी दुईको यो अनुरागलाई अनुमोदन गरून् । 

विवाहको अर्को महत्वपूर्ण कर्म हो सप्दपदी क्रमण । यसमा वरले आफ्नो दाहिने हातले वधूको पाउ समातेर लावाले बनाएको सप्तपदीमा टेकाउँदै लैजान्छन् । यसै कर्मबाट वधूले वरको गोत्र प्राप्त गर्छिन् भन्ने मान्यता रहेको छ । जीवनयात्रामा सदा सहकार्यको सूचक यस कर्ममा वरले भगवान् विष्णुको प्रार्थना गर्दै वधूलाई मनले चाहेको फल दिऊन्, शरीरमा बल दिऊन्, धन वृद्धि गरून्, सुख दिऊन्, पशुधनको वृद्धि गरून्, ऋतुहरूको उत्तम फल मिलोस् र हामी दुई अर्धाङ्ग भई सबै काममा सहयात्री साथी बनौँ भन्ने भाव प्रकट गर्दछन् । 

सूर्यदर्शन कर्ममा मङ्गलमय दीर्घजीवनको कामना गर्दै ‘तच्चक्षुर्देवहितम्....’ मन्त्र उच्चारण गरिन्छ । यसमा सूर्यदेवसँग यसरी प्रार्थना गरिन्छ— जगत्का आँखास्वरूप भएका सूर्यदेवका कृपाले हामी सय वर्ष देखौँ, सय वर्षको आयु प्राप्त गरौँ, सय वर्षसम्म कानले सुनौँ, सय वर्षसम्म मीठो वचन बोलौँ, सय वर्षसम्म दीनतारहित होऔँ र सय वर्षसम्म हराभरा शरद् ऋतुको पूर्ण उपभोग गरेर त्यसभन्दा पनि बढी समय आनन्दपूर्वक रहौँ । 

हृदयालम्भन कर्ममा वरले वधूको काँधमाथिबाट हात लगेर उनको हृदयमा छुँदै ‘मम व्रते ते....’ मन्त्र उच्चारण गर्दछन् । यस मन्त्रमा वरले वधूलाई सम्बोधन गर्दै भन्छन्— हे कन्या ! मैले पालन गर्नुपर्ने शास्त्रीय मर्यादामा तिम्रो पनि मन लागोस् । तिम्रो र मेरो मन समान होओस् । मेरो वचन तिम्रा लागि अनुकूल होओस् । प्रजापतिले मेरो प्रसन्नतामा तिमीलाई पनि प्रसन्न हुने बनाऊन् । हामी दुवैका मन, वचन र खुसी समान होऊन् । 

विवाह नयाँ वरवधूबीच अनुराग वृद्धिको कामना गर्ने, हार्दिक एकताका लागि दैवी शक्तिसँग प्रार्थना गर्ने र सहकार्यको वाचा गर्ने अवसर हो । विवाहमा जोडिएको सम्बन्ध कहिल्यै नटुट्ने हुन्छ । सम्बन्ध विच्छेदको कल्पनासम्म पनि वैदिक मान्यताले गरेको छैन । विवाहबाट त वरवधू दुवैका कुल एकआपसमा जोडिन पुग्छ, दुवै कुलको उद्धार हुन्छ भन्ने मान्यता रहेको छ । पति सधैँ एकपत्नीव्रत रहनुपर्ने र पत्नी सधैँ पतिव्रता रहनुपर्नेे कुराको परिकल्पना यसले गरेको छ । पुरुषले परस्त्रीलाई आमा समान मानेर आफ्नी सहधर्मिणीसँग धर्मपूर्वक दाम्पत्य जीवनको सुखभोग गर्नका लागि वैदिक मान्यताले प्रेरित गर्दछ । 

विवाह सुखमय दाम्पत्य जीवनमा प्रवेश गर्ने अवसर हो । विवाहपछि पतिपत्नीले शास्त्रमर्यादा अनुरूप धर्म, अर्थ र काम प्राप्तिका लागि जीवनभरि सहकार्य गर्दछन् । पतिपत्नीको सुख, सन्तान–सुख, धनको सुख र धर्मबाट प्राप्त हुने सुख उपभोग गर्ने समय गृहस्थ जीवन नै हो । यो आफूले सुखभोग गर्दै अरूको पनि सेवा गर्ने जीवन हो । यसमा आफ्ना आदरणीयहरूलाई आदर सम्मान गर्ने अवसर मिल्छ भने भरणपोषण गर्नुपर्नेहरूलाई उपकार गरेर तृप्त पार्ने अवसर पनि मिल्छ । त्यसैले त गृहस्थ जीवनलाई धन्य भनिएको हो । गृहस्थ पतिपत्नीले गरेका शुभ कर्मले देवता, पितृ र सम्पूर्ण प्राणी जगत् तृप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

गृहस्थ जीवनलाई व्यवस्थित रूपमा सुरुआत गर्ने अवसर नै विवाह हो । विवाहले पतिपत्नीबीच अखण्ड अनुराग र भावनाको एकीकरणका लागि प्रेरित गर्दछ । सफल दाम्पत्यका लागि पतिपत्नीबीच दृढ सम्बन्ध र सख्यभाव जाग्रत हुनुपर्छ । यसका लागि व्यक्तिस्वार्थ त्यागेर समर्पणको भाव विकास गर्नु आवश्यक हुन्छ । यसैका लागि प्रेरित गर्ने हुनाले विवाह मधुमय जीवनको मङ्गलाचरण हो । 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad