४ वैशाख २०८१ मंगलबार
समाज

कामपाले अल्पकालीन ल्यान्डफिल साइट नबनाउने

फाइल तस्बिर

काठमाडौ – काठमाडौं महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइट निर्माण नगर्ने भएको छ। दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल सुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो। 

कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन फोहर व्यवस्थापनको लागि काम अघि बढिसकेकाले थप खर्च गरेर अल्पकालीन फोहर व्यवस्थापन केन्द्र नबनाइने भएको हो। यही मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरिसकेको छ।

अहिले यसअघि १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित सिसडोलमानै फोहरको व्यवस्थापन गरिने श्रेष्ठले जानकारी दिए। सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो निर्माण गर्ने काम भइरहेको र आगामी दुई महिनाभित्र काम सकी फोहर व्यवस्थापन स्थल निर्माणको काम सुरु हुने श्रेष्ठले जनाए।

हाल काठमाडौं उपत्यकाबाट दैनिक १ हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ। काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। 

फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले हाल फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बञ्चरेडाँडामा केन्द्र सरकारले छिटोभन्दा छिटो निर्माणको काम सुरु गर्नुपर्ने बताउछन्। बञ्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने ज्ञवालीको भनाइ छ। 

‘आजैबाट बञ्चरेडाँडालाई दीर्घकालीनरुपमा फोहोर राख्ने स्थान बनाउन काम सुरु गर्ने हो भने पनि तत्कालको लागि व्यवस्थापन गर्ने स्थान आवश्यक छ,’ ज्ञावालीले भने। सिसडोलमा करीब ४०÷५० मिटरमाथिसम्म फोहरमा निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना रहेकाले अब त्यहाँ फोहर बिसर्जन गर्न समस्या हुने ज्ञवालीको भनाइ छ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ। गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन। पाँच वर्ष अघिदेखि नै बर्खाको समयमा फोहर धेरै जम्मा हुने हुँदा सिसडोलमा फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ। रासस

 

प्रकाशित: २५ मंसिर २०७५ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App