७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रमुख नहुँदा योजना अलपत्र

निर्माणाधीन वीरगन्ज–पथलैया ६ लेन व्यपारिक मार्ग। तस्बिर : नागरिक

बारा – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लापरबाहीले करोडौं रुपैयाँ लगानीमा सञ्चालन गरिएको वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग निर्माण कार्य अलपत्र हुने अवस्थामा पुगेको छ।

तीन अर्ब १२ करोड ४१ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको उक्त व्यापारिक मार्ग योजना कार्यालय पथलैया लामो समयदेखि प्रमुखविहीन छ। प्रमुख नहुँदा प्रशासनिक तथा निर्माण कार्यसमेत प्रभावित भएको बताइएको छ।

‘गएको जेठमा तत्कालीन प्रमुख रबिन्द्रलाल दास सरुवा भएपछि उनको ठाउँमा असारमा मेघराज मरासनी आएका थिए,’ व्यापारिक मार्ग योजनाका इन्जिनियर अशोक यादवले भने, ‘मरासनीको सरुवा भएको दुई महिना हुन लाग्दा पनि मन्त्रालयले अर्का योजना प्रमुख पठाएको छैन।’ योजना प्रमुख नहुँदा विकास निर्माणदेखि दैनिक प्रशासनिक कार्यमा समेत समस्या उत्पन्न भएको यादवले बताए।

बाराको पथलैयादेखि पर्साको सुक्खा बन्दरगाह रहेको सिर्सियासम्म २६ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माण गर्न ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीले तीन अर्ब १२ करोड ४१ लाखको ठेक्का सकार गरी निर्माण सुरु गरेको उनले बताए।

आर्थिक वर्ष ०७२–७३ असार २८ गते दुई वर्षभित्र निर्माण गर्न एएमआर–पप्पु–कन–टेक जेभी, श्रेष्ठ–बिरुवा–एपेक्स जेभी, पप्पु–लुम्बनी जेभी, शर्मा–युनिटेक बिल्डर्स–दिवा निर्माण सेवा जेभी, एएमआर–कन–टेक जेभीले ६ वटा प्याकेजमा ठेक्का सकार गरी निर्माण सुरु गरेको योजना कार्यालय पथलैयाले जनाएको छ।

निर्माण कम्पनी एएमआर–पप्पु–कन–टेक जेभी, श्रेष्ठ–बिरुवा–एपेक्स जेभी, पप्पु–लुम्बनी जेभी, शर्मा–युनिटेक बिल्डर्स–दिवा निर्माण सेवा जेभीले एउटाएउटा प्याकेजको निर्माण कार्य ठेक्का पाएका छन् भने एएमआर–कन–टेक जेभीले दुई प्याकेजको निर्माणको ठेक्का पाएको योजना कार्यालय पथलैयाले जनाएको छ।

आर्थिक वर्ष ०७४–७५ को असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने व्यापारिक मार्गको निर्माण सुरुदेखि नै ढिलो हुँदै गएको बताइन्छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले पनि ध्यान दिनुको साटो उल्टै योजनाको कामलाई पछि सार्ने काम भएको आरोप योजनाका अधिकारीले लगाएका छन्।

सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठले वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्ग योजनाको प्रमुखलाई सरुवा गर्ने अधिकार मन्त्रालयसँग रहेकाले सडक विभागले केही गर्न नसकेको बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको अनावश्यक हस्तक्षेपले योजना प्रमुखलाई सरुवा गरिए पनि अर्का प्रमुखलाई पठाउन ढिलाइ हुँदै गएको मन्त्रालयका एक अधिकारीले बताए।

महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा अनावश्यक रुपमा सडक विभागअन्तर्गत रहेका योजनाका प्रमुखलाई सरुवा गरेर काठमाडौंमा थन्क्याएपछि धेरै योजना अलपत्र परेको मन्त्रालयका ती अधिकारीले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले सडक विभाग अन्तर्गत सञ्चालन गरिएका धेरै योजना प्रमुखविहीन रहेको र उनीहरुका ठाउँमा अर्को व्यवस्था गर्ने कार्यमा लागिएको बताए।

उनले प्रमुख नभए पनि योजनाको कामका लागि निमित्तको व्यवस्था गरिएको र निमित्त भएपछि सडक निर्माण कार्य राम्रो अवस्थामा रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बचाउ गर्न सचिवको अधिकार खोजेका छन्।

मुलुकको ७० प्रतिशत व्यापार हुने नेपालको प्रवेशद्वार वीरगन्ज नाका र एकमात्र सुक्खा बन्दरगाबाट हुने कारोबारमा सहजता आउने विश्वासको साथ वीरगन्ज–पथलैया ६ लेनको व्यपारिक मार्ग निर्माण गर्न लागिएको छ।

वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग योजना जस्तै, जनकपुर हुलाकी सडक, धनगढी हुलाकी सडक लगायत दर्जनभन्दा बढी योजना प्रमुख सरुवा गरेको महिनौ हुन लाग्दा समेत त्यसको स्थानमा अर्को योजना प्रमुख मन्त्रालयले नपठाएको सडक विभागले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७५ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App