coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘वायुसेवा निगम प्रगतिपथमा’

काठमाडौं – नेपाल वायुसेवा निगम प्रगतिपथमा रहेको संस्थाका कार्यकारी अध्यक्ष मदन खरेलले दाबी गरेका छन्।

बजारमा हल्ला भएजस्तो निगम आर्थिक रुपमा कमजोर पनि नभएको र सानोबाट ठूलो व्यवसायमा हात हाल्दा समस्या हुनु स्वाभाविक रहेको उनले बताए।

नेपाल वायुसेवा निगम कर्मचारी संघ आधिकारिक ट्रेड युनियनको निर्वाचन सभामा बोल्दै खरेलले भने, ‘निगमसँग आर्थिक अभाव भएको हो तर बजारमा हल्ला भएको जस्तो टाट पल्टिएको होइन।’

‘५० अर्ब हाराहारीको सम्पत्ति भएको निगम कसरी टाट पल्टियो भन्न सकिन्छ ?’ उनले प्रश्न गरे। खरेलका अनुसार निगम व्यवसाय विस्तारको क्रममा रहेकाले केही आर्थिक स्रोत आवश्यक परेको छ। प्रगतिको बिन्दुमा पु-याउन मेहनत गर्नुपर्ने र सोही अनुसार निगम लागेको उनको भनाइ छ।

निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले भने निगमलाई सकाउन हवाई माफिया लागेको टिप्पणी गरे। सोही सभामा बोल्दै वाइड बडी खरिदको क्रममा उठेका प्रश्नलाई सम्बोधन गर्दै महाप्रबन्धक कंशाकारले भने, ‘कहिले भाडा, कहिले टेन्डरबिना, कहिले वारेन्टीबिनाको जहाज ल्याइयो भनेर केटाकेटी प्रश्न उठिरहेका छन्,’ उनले थपे, ‘यी केटाकेटीले गर्ने जस्ता प्रश्न हवाई माफियाले उठाइरहेका छन्।’

कंशाकारका अनुसार वाइड बडी खरिदका क्रममा कुनै कमजोरी छैन। सम्पूर्ण प्रक्रिया पूरा गरेको उनले दाबी गरे। निगमलाई जनकपुर चुरोट कारखाना जस्तो बनाउन खेल भइरहेको दाबी उनको छ। निगम बजार विस्तारमा लागेकाले वाइड बडीले निगमलाई प्रगति पथमा लैजानेमा कुनै शंका नभएको उनको भनाइ छ।

चुनावी सभालाई सम्बोधन गर्न आएका सांसद गगन थापाले निगमको विषयमा उठिरहेका सवालबारे स्पष्ट पार्नुपर्ने बताए। ‘निगमले वाइड बडी जहाज किनेर राम्रो काम गरेको छ,’ उनले भने, ‘तर अहिले उठिरहेका विषयमा भने निगमले स्पष्ट पार्नुपर्छ।’

उनका अनुसार निगमको विषय राष्ट्रिय छलफल र छानबिन बनेको छ। त्यसबाट अनियमितता भएको देखिएमा कोही पनि कारबाहीबाट उम्कन नपाउने सांसद थापाले बताए। तर निगमलाई विभिन्न बहानामा कमजोर बनाउन भने नहुने उनको धारणा छ। निगमले आफूलाई सुधार्दै र जनविश्वास आर्जन गर्दै जानुपर्ने उनको भनाइ छ।

प्रकाशित: २५ मंसिर २०७५ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App