८ वैशाख २०८१ शनिबार
विचार

वृद्धाश्रमको अर्काे पाटो

भियनास्थित मेरा साथी बेन्जामिन भ्याएसम्म महिनामा दुई पटक आफ्ना पिता भेट्न वृद्धाश्रम जान्छन्। उनकी श्रीमती पनि आफ्नी आमा भेट्न अर्को वृद्धाश्रम जान्छिन्। कहिलेकाहीँ दुवैजनाले सँगै बाबुआमालाई घर ल्याउँछन् अथवा सबैजना कुनै रेस्टुराँमा भेट्ने कार्यक्रम बन्छ।वृद्ध मातापिता आउने खबरले अरु नाताकुटुम्ब पनि आउँछन् र ठूलो जमघट हुन्छ। घरायसी छलफल, छोराछोरी नातिनातिनाको खबर आदानप्रदान र तत्कालकै विषयवस्तुमा कुराकानी–गफगाफ हुन्छ। खानपिन भेटघाट सकिएपछि साँझ दुवैजना आ–आफ्ना बाबुआमालाई वृद्धाश्रम पु-याइदिन्छन्। मैले एकपटक बेन्जामिनलाई सोधेँ, ‘तिमीहरूको बाबुआमासँग बडा राम्रो सौहार्दपूर्ण सम्बन्ध रहेछ, तिमीहरूको आय पनि राम्रो छ, केबुवालाई घरमै राखेर पाल्न सक्दैनौ?’

उसको जवाफ थियो, ‘बुबालाई घरमा भन्दा वृद्धाश्रममा बढी सुविस्ता हुन्छ। हामी दुवैजना दिनभरि काममा हुन्छौँ, बुबा घरमा एक्लै बस्नुपर्छ। त्यहाँ उहाँका उमेरका अरू धेरै मानिस छन्। कुरा गर्ने साथी छन्। उहाँलाई केहीआवश्यक परे हामीलाई फोन गरे पुगिहाल्छौँ। वृद्धाश्रममा नर्स र सुसारेहरू छन्। खानपिनको प्रबन्ध पनि राम्रो छ, मेरो बुबा पनि त्यहीँ बस्न मन पराउनु हुन्छ।’

वृद्धाश्रम केही अपवादबाहेक निःशुल्क सेवा होइन। राज्यले शिक्षा र स्वास्थ्यका कतिपय सेवा शुल्क लिएर सञ्चालन गरिरहेकै छ र यो पनि त्यस्तै सेवाअन्तर्गत पर्छ।

हाम्रो समाजमा भने वृद्धाश्रमलाई सन्तानले हेलाँ गरेका बाबुआमा बस्ने ठाउँको रूपमा चित्रण गरिन्छ।विद्युतीय सञ्चार माध्यममा पनि वृद्धहरूले त्यस्तै कथा सुनाएको समाचार प्रसारण हुन्छन्। धन–सम्पत्ति र आफ्ना सन्तान हुँदाहुँदै वृद्धाश्रम आएर यो अपमान भोग्नुप-यो भनेर बिलौना गरेका चित्रहरू देखाइन्छन्। साना बालकहरूलाई आमाबाबुले आफ्नो काख छुटाएर नर्सरी वा आवासीय स्कुलमा राखेको कुरालाई इज्जतका साथ हेरिन्छ तर तिनै परिवारले बाबुआमालाई वृद्धाश्रममा राखे भने समाजले हेर्ने दृष्टिकोणभिन्दै हुन्छ। यद्यपि आफ्नो सुरक्षा कसरी गर्ने भन्नेबारे बालकहरूलाईभन्दा वृद्धहरूलाई बढी ज्ञानहुन्छ।

वास्तवमा नर्सरी, बोर्डिङ स्कुल (आवासको प्रबन्ध भएको स्कुल), वृद्धाश्रम जस्ता सार्वजनिक सेवाहरू औद्योगिक विकासका साथसाथै स्थापना भएका हुन्। कृषिमा आधारित ग्रामीण जनसंख्याको बाहुल्य भएको समाजमा यस्ता संस्थाहरूको आवश्यकता न्यून हुन्थ्यो। कृषिमा उद्योग, वाणिज्य तथा सेवाप्रदायक क्षेत्रहरूमा जस्तो यति बजे अफिस जानैपर्ने, यति नबजी नछुट्ने जस्ता सीमा तोकिएका हुँदैनन्। खेतीपातीको काम परिवारको खुसीमा चल्छ। बाली लगाउँदा र भित्र्याउँदा परिवारका सबै सदस्य (बालकदेखि वृद्धसम्म) सहभागी हुन्छन्।कार्यालयमा काम गर्ने महिलाहरू आफ्ना बालक सन्तानलाई वा वृद्ध ससुरालाई खाना खुवाउन घर आउन सक्दैनन्।वृद्धहरू अपहेलित हुनुपरेको घटना हुँदै नभएको अवश्य होइन, तर बाबुआमालाई छोराछोरी, खासगरी छोरा–बुहारीले घरमैराखेर पाल्नुपर्छ भन्ने मान्यता पितृसत्तात्मक संस्कारको उपज हो। यस्तो सोचाइ हुनुमा समाजको आर्थिक संरचना प्रमुख कारण हो।

परम्परागतरूपमा कृषिप्रधान समाजमा शताब्दियाँैदेखि सम्पत्ति भनेको जमिन थियो। बाबुले अंशबन्डा नगरी छोराहरूले सम्पत्ति आर्जन गर्ने उपाय थिएन। थोरै संख्यामा रहेका व्यापारीहरू पनि आफ्नो बचत जमिन वा सुन–चाँदी खरिदमा लगाउँथे। सम्पूर्ण सम्पत्ति परिवारको ज्येष्ठ सदस्यको नियन्त्रणमा हुन्थ्यो। अंशबण्डागर्दा वृद्ध भएका बाबु–आमालाई जिउनी भनेर अंश छुट्याइन्थ्यो। बाबुआमा पाल्ने छोराले उनीहरूको शेषपछि त्यो सम्पत्ति एकमुष्ट आर्जन गर्न सक्थ्यो।

साना बालकहरूलाई आमाबाबुले आफ्नो काख छुटाएर नर्सरी वा आवासीय स्कुलमा राखेको कुरालाई इज्जतका साथ हेरिन्छ तर तिनै परिवारले बाबुआमालाई वृद्धाश्रममा राखे भने समाजले हेर्ने दृष्टिकोणभिन्दै हुन्छ।

यो प्रचलन अब सहरी र अर्ध–सहरी क्षेत्रबाट बिस्तारै लोप हुँदैछ। ग्रामीण भेगमा पनि जमिन यति धेरै टुक्रिसकेको छ कि पछिल्लो कृषि गणनाको नतीजाअनुसार ९० प्रतिशतभन्दा बढी खेतीयोग्य जमीन २ हेक्टरभन्दा साना टुक्रामा विभाजित भइसकेका छन्। यसकारण पैतृक सम्पत्ति अब धन आर्जनको स्रोत हुन छोडिसकेको छ। सम्पत्तिका लागि बाबुबाट अंशको आश राख्नु व्यर्थ भइसकेको अवस्थामा आजको पुस्ता आफ्नो पेसा र आयमूलक कामलाई प्राथमिकता दिन विवश छ र बाबुआमाको सेवा ओझेलमा पर्न जानु स्वाभाविक भएको छ। यो हाम्रो समाजको कटु यथार्थ हो।

विगत ५० वर्षमा नेपालको जनसंख्याका महत्वपूर्ण सूचकहरूमा पनि उल्लेख्य परिवर्तन आएको छ। जनसंख्यावृद्धि र औसत आयुमा आएको सुधारले वृद्धहरूको संख्या बढिरहेको छ। २०१८ सालको जनगणनाले ६० वर्ष नाघेकाहरूको संख्या  करिब ५ लाख देखाएको थियो भने२०६८ सालको जनगणनामा उक्त संख्या २२ लाख पुगेको छ। फलस्वरूप श्रमयोग्य जनसंख्या र वृद्धहरूबीचको अनुपात (वृद्ध निर्भरता दर) वर्षेनि बढेको छ। बदलिँदो परिस्थितिमा राज्यले वृद्धहरूलाई ‘उनकै छोराछोरीले पालून् भनेर’ बेवारिस छोड्न मिल्दैन।उनकै छोराछोरीलाई पाल्न लगाउन पनि एक प्रभावकारी संयन्त्र चाहिन्छ र त्यो भनेको वृद्धाश्रम नैहो।तर समाजमाकिन वृद्धाश्रमलाईअपहेलित वृद्धहरूको बासका रूपमा लिइयो रकिन यसले आवासीय स्कूलहरू बराबरको इज्जत पाएन? सम्भवतः खाने र सुत्ने सुविधा मात्रै दिएर वृद्धाश्रम बन्दैन। त्यति सुविधा त कारागारमा पनि हुन्छ।वृद्धाश्रममा ज्येष्ठ नागरिकले सम्मानित जीवन बिताइरहेको महसुस हुने खालका सुविधा खास गरी स्याहार–सुसार, उपचार र औषधि–मुलो, शारीरिक व्यायाम, पढ्न–लेख्न, मनोरञ्जन रज्ञान आर्जन समेतका सुविधाहरू हुनु आवश्यक छ।

राज्यले आफ्ना ज्येष्ठ नागरिकले कहीँ कतै अपहेलित अवस्थामा जीवन यापन गर्न नपरोस् भनेर केही नीतिगत सुधार र सुरक्षित वृद्ध जीवनका कार्यक्रमहरू ल्याउनु आवश्यक छ।वृद्धाश्रम केही अपवादबाहेक निःशुल्क सेवा होइन। राज्यले शिक्षा र स्वास्थ्यका कतिपय सेवाहरू शुल्क लिएर सञ्चालन गरिरहेकै छ र यो पनि त्यस्तै सेवा अन्तर्गत पर्छ। अर्को कुरा वृद्धाश्रम निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई सहभागी बनाउन सकिन्छ। शिक्षा र स्वास्थ्य सेवा निजी क्षेत्रबाट सफलतापूर्वक सञ्चालन भएकै छन्। यसको विस्तार वृद्धाश्रम जस्ता सेवाहरूमा पनि गर्न सकिन्छ। तर निजी क्षेत्रलाई सहभागी बनाउन बीमाको उचित प्रबन्ध आवश्यक हुनेछ, जसले गर्दा लगानीकर्ताहरूआफ्नो कामबाट प्रतिफल प्राप्त हुने कुरामा ढुक्क हुनसक्ने छन्।अन्त्यमा राज्यले वृद्धाश्रममा दिइएको सेवा र त्यसबाट उठाइएको शुल्कको अनुगमन गर्ने प्रभावकारी निकाय तोक्नुपर्नेछ।

बाबुआमा पाल्ने विषयअब यो एक–दुई परिवारको नभएर सम्पूर्ण समाजको समस्या बन्दैगएको छ। आधुनिक समाजमा कुनै वस्तु वा सेवाको पर्याप्त माग भएपछि सोहीअनुसारका आपूर्तिका संरचनाहरू पनि आवश्यक हुन्छन्। यसका लागि राज्य नै अघि सर्नुपर्छ र निजी क्षेत्रलाई पनि उसको लगानी सुरक्षित हुने र मुनाफा पनि कमाउन सकिने वातावरण बनाइदिनु पर्छ।आधुनिक विकास हाम्रो लक्ष्य हो भनेयसले समाजमा पार्ने प्रभावलाई पनि आत्मसात् गर्न सक्नुपर्छ।
(भियना)

प्रकाशित: २५ मंसिर २०७५ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App