७ वैशाख २०८१ शुक्रबार
अर्थ

पहिलो दिन सम्भाव्यता अध्ययनमा केन्द्रित

काठमाडौं - केरुङ–काठमाडौं रेलमार्गको तेस्रो बैठकमा उक्त रेलमार्गको सम्भाव्यता अध्ययनबारे छलफल भएको छ। सोमबारदेखि नेपाली र चिनियाँ अधिकारीबीच सुरु भएको तेस्रो बैठकको पहिलो दिन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ।

‘आजको बैठकमा रेलमार्गको विषयमा प्रारम्भिक छलफल भएको छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘अझै छलफल हुनेछ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा नेपालको नेतृत्व सचिव मधुसूदन अधिकारी र चिनियाँ टोलीको नेतृत्व नेसनल रेलवे अथोरिटीका उच्च अधिकारीले गरेका छन्। चिनियाँ टोलीमा १६ जना अधिकारी छन्।

पहिलो दिनको बैठकमा प्रारम्भिक छलफल भएको मिश्रले बताए। चिनियाँ पक्षले उक्त रेलमार्गको सम्भाव्यता अध्ययनबारे बताएको उनले जानकारी गराए। ‘पहिलो दिनको बैठकमा दुई पक्षले एकअर्कालाई जानकारी गराउने काम भएको छ,’ मिश्रले भने, ‘यो बैठक अझै दुई–तीन दिन चल्छ।’

अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने विषयमा थप छलफल गर्न चिनियाँ टोली आइतबार काठमाडौंमा आइपुगेको हो। रेलमार्ग निर्माणको विषयमा यसअघि दुईवटा औपचारिक बैठक सम्पन्न भइसकेका छन्। पोहोर कात्तिकमा चिनियाँ उच्च अधिकारीको टोली केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययनपछि काठमाडौंमा तीन दिन छलफल गरेर फर्केको थियो।

त्यस्तै, वैशाख दोस्रो साता चीनमा दुई देशको संयुक्त दोस्रो बैठक भएको थियो। उक्त बैठकले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनको जिम्मा चिनियाँ कम्पनी चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इस्टिच्युटलाई दिने निर्णय गरेको थियो। उक्त बैठकमा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा सात सदस्यीय टोली सहभागी भएको थियो।  

अहिलेसम्म उक्त रेलमार्ग बनाउने विषयमा प्रारम्भिक चरणको छलफल मात्र भइरहेको छ। ७२ किलोमिटर लामो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनै बाँकी छ।

गत वर्ष चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन दुई खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिसकेका छन्। केरुङ–काठमाडौं ७२ किलोमिटर लामो उक्त रेलमार्गमा चल्ने रेल प्रतिघन्टा एक २० किलोमिटर दौडने  र अधिकांश ठाउँमा पुल र सुरुङ हुने टोलीको अध्ययनले देखाएको थियो।

उक्त रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान गरिएको छ। त्यस्तैगरी, चार हजार मिटरबाट एक हजार चार सय मिटरमा झर्नुपर्ने भएकाले ओरालो रेलमार्गका लागि चुनौती भएको चिनियाँ टोलीले बताएको थियो।
पोहोर कात्तिकमा आएको चिनियाँ टोलीले स्थलगत अध्ययनपछि केरुङ–काठमडौं रेलमार्ग अप्ठेरो भए पनि बनाउन सकिने निचोड निकालेको थियो। उक्त टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेलमार्ग बनाएको कम्पनीका इन्जिनियर, प्राविधिक समेत सहभागी थिए।

तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको बेला उक्त रेलमार्ग निर्माणमा गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चीन सरकारले गरेको थियो। महरा रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारीहरुलाई अनुरोध गरेर स्वदेश फर्केका थिए। त्यसैको सिलसिलामा चिनियाँ टोली नेपाल आएर स्थलगत अध्ययन गरेको हो।

प्रकाशित: २५ मंसिर २०७५ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App