७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रहरीसँग छैन पक्राउ र रिहा विवरण

उल्टाखाम (कञ्चनपुर) - प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गरिसकेपछि कसैको रोहबरमा छाड्ने प्रावधान छ। साउन ९ गते राति पाले चौधरीको पसलमा मासु र नगद चोरी भयो। उनले प्रहरीलाई जाहेरी दिए। सालघारी प्रहरी पोस्टबाट गएको प्रहरी टोलीले चौधरीकै पसलनजिकबाट साउन १० गते बिहान १० बजेतिर प्रदीप रावललाई पक्राउ गरेर लगे। उक्त पक्राउबारे प्रहरीले स्विकारोक्ति छ तर कुनै लिखित विवरण नहुँदा कतिबेला रिहा गरिएको भन्ने स्पष्ट हुन सकेको छैन। यसबारे प्रदीपका आफन्त र प्रहरीको भनाइ बाझिएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुवेर कडायत प्रदीपलाई पक्राउ गरेर प्रहरी पोस्टमा ल्याई समान्य सोधपुछपछि छाडिएको बताउँछन्। ‘विशाल चौधरीको नाम भनेपछि त्यतिबैलै छाडिएको हो,’ उनी भन्छन्, ‘उनलाई समातेको कुनै डकुमेन्टेसन छैन, त्यतिबेलाका प्रहरीलाई सोधेर थाहा पाएको हुँ।’ पक्राउ गरेर कुनै विवरण नराख्नु प्रहरीको कमजोरी भएको स्थानीय बताउँछन्। प्रहरीले अनुसन्धान गरिरहेका बेला र अधिकारिक रूपमा दोषी नभनिसकेको अवस्थामा विरोध गर्न नहुने एकथरी स्थानीयको भनाइ छ। ‘प्रहरीले अधिकारिक रूपमा भनेको छैन। अनुसन्धान गरिरहेकै बेला निर्दोषलाई फसाउन लाग्यो भनेर विरोध गर्नुको अर्थ हँुदैन,’ निर्मलाको न्यायका लागि आवाज उठाउँदै आएका कञ्चनपुरका नागरिक समाजका अध्यक्ष भवराज रेग्मी बताउँछन्।

यसैगरी निर्मलाका आमा दुर्गादेवीले डिएनएको रिपोर्टलगायत प्रमाण मिलेमा आफूलाई न्याय मिलेको ठान्ने अभिव्यक्ति दिएकी छन्। दिलिप विष्टलाई दोषी भनेर सार्वजनिक गरेपछि डिएनए मेल खाएको थिएन। डिएनएको रिपोर्ट नआउँदै प्रहरीले दुई जनाले आरोप स्विकारेको सूचना चुहाउनु अपरिपक्व वा शंकास्पद व्यवहार भएको विश्लेषण गरिएको छ। सअघि डिएनए परीक्षणका लागि रगत दिने चार जनाको नाम गोप्य राखिएको भए पनि अहिले नाम सार्वजनिक भएको हो। प्रहरी डिएनए रिपोर्ट पर्खिरहेको छ।

निर्दोषलाई फसाइएको भन्दै चक्काजाम
चार महिनापछि प्रहरीले निर्मलाको हत्या गरेको स्विकारेको भनेर ‘निर्दोष’लाई फसाउन लागेको भन्दै प्रदीप रावल र विशाल चौधरीका आफन्त तथा छिमेकीले विरोध गरेका छन्। उनीहरूले सोमबार दिउँसो चार घन्टा महेन्द्रनगर ट्राफिक पोस्टअगाडि राजमार्गमा चक्काजाम गरे। उनीहरूले ‘दोषी अर्कै हो, निर्दोषलाई फसाउन पाइँदैन’ भन्दै नाराबाजी पनि गरे। ‘निर्मलाका दोषीलाई बचाउन मेरो निर्दोष छोरालाई फसाउन खोजिएकाले विरोधमा चक्काजाम गरिएको हो,’ विशालका बुवा वीरबहादुर चौधरीले भने, ‘गरिब भन्दैमा निर्दोषमाथि अन्याय हुनुहुँदैन।’ साउन १० गते दिउँसो छोरो विशाल घरमै भएको र घरबाट बाहिर निस्कनेबित्तिकै ४ बजेतिर प्रहरीले पक्राउ गरेर लगेको उनी बताउँछन्।

निर्मलाको प्रतीकात्मक शव प्रदर्शन
निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राख्दै महिला अधिकारकर्मीहरूले सोमबार कञ्चनपुर जिल्ला प्रशासनअगाडि निर्मलाको प्रतीकात्मक शव बनाएर प्रदर्शन गरेका छन्। करिब दुई घन्टाको प्रदर्शनपछि त्यसको विसर्जन गरिएको थियो। प्रदर्शनपछि उक्त प्रतीकात्मक शव जलाउन खोजिए पनि निर्मलाकी आमाको इन्कारपछि विर्सजन गरिएको नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले बताइन्।

प्रकाशित: २५ मंसिर २०७५ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App