१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारी विदेश घुमेको घुम्यै

काठमाडौं - सरकारले विदेश भ्रमणमा कडाइ गरे पनि निजामती कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन्। निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सूची संकलन गरेको हो।

पछिल्लो दुई महिना (असोज र कात्तिक)मा मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। ‘एकदुई दिनमै असोज र कात्तिकमा विदेश भ्रमण गर्ने कर्मचारीको अन्तिम सूची तयार पार्नेछौं, ’ स्रोतले भन्यो,‘ पछिल्लो दुई महिनामा विदेश जानेको संख्या नौ सयभन्दा बढी देखिएको छ।’

गत साउन र भदौमा ८ सय ९ कर्मचारीले विदेश भ्रमण गरेको जानकारी दिंदै प्रधानन्त्री कार्यालय स्रोतले भन्यों, ‘केहीदिनभित्रै साउन र भदौको विवरण सार्वजनिक गर्नेछौं।’ साउन र भदौको तुलनामा असोज र कात्तिकमा विदेश भ्रमण गर्ने कर्मचारीको संख्या बढेको प्रधानमन्त्री कार्यालयका एक कर्मचारी बताउँछन्।

प्रधानमन्त्री कार्यालयले तीन दिनअघि मात्र विदेश भ्रमण गर्ने कर्मचारीको विषयमा जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलयाई पत्रचार गरेको थियो। संघीय मामिलाका एकैपटक ३८ जना कर्मचारी विदेश भ्रमणमा गएपछि प्रधानमन्त्री कार्यालयले संघीय मन्त्रालयलाई पत्राचार गरी सचेत गराएको थियो। संघीय मन्त्रालयका ३८ कर्मचारी अहिले विदेश भ्रमणमा छन्। चीनले आयोजना गरेका क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन ८ दिन अघि २० सदस्यीय एउटा टोली चीन भ्रमणमा गएको थियो। सो टोली मंगलबारसम्म काठमाडौं आउने छ। अर्को १८ सदस्यीय टोली चीन भ्रमण सिद्धयाएर भरखरै काठमाडौं फर्केको छ। ३८ जनाको टोलीमा संघीय मन्त्रालय मातहतका कर्मचारी रहेका छन्। स्थानीयतहका पदाधिकारीहरूलाई विदेश भ्रमणमा कडाइ गर्दै पटकपटक ताकेता गर्ने गरेका संघीय मन्त्रालयका उच्च कर्मचारीहरू आफू भने एकपछि अर्को गर्दै विदेश भ्रमण गरिरहेका छन्।

यसैगरी वन मन्त्रालयलको ११ सदस्यीय टोली यतीखेर पोल्यान्ड भ्रमणमा छ। सो टोली काठमाडौंमै रहेको बेला वन मन्त्रालयको अर्को टोली पोल्यान्ड जाने तयारी रहेको मन्त्रालयका एक कर्मचारी बताउँछन्। यसैगरी शिक्षा र स्वास्थ्य मन्त्रालयबाट पनि छुट्टाछुट्टै टोली विदेश भ्रमणमा छ। लोकसेवा आयोगका सचिव, गण्डकी प्रदेश र कर्णाली प्रदेशका प्रमुख सचिव पनि विदेश भ्रमण गरेर केही दिनअघि मात्र काठमाडौं फर्केका छन्। सो टोलीमा सचिव र सहसचिव तहका ८ जना उच्च कर्मचारी सहभागी थिए। सो टोलीले चीन भ्रमण गरेको थियो। आर्थिक वर्ष २०७४/७५मा निजामती कर्मचारीमध्ये ५ हजार ११ जना कर्मचारी विदेश भमणमा गएको रेकर्ड प्रधानमन्त्री कार्यालयमा छ।

चालु आर्थिक वर्ष यो संख्या झनै बढ्ने प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारी बताउँछन्। सरकारले केही महिनाअघि सार्वजनिक खर्च मितव्ययिता निर्देशिका ल्याइ सरकारी कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको थियो। तर सो निर्देशिकालाई सरकारी कर्मचारीहरूले उल्लघंन गर्ने गरेका छन्। यसैगरी प्रधानमन्त्री कार्यालयले केही साताअघि विदेश भ्रमण गर्ने कर्मचारीहरूको विववरण सम्बन्धित मन्त्रालयको वेबसाइटमा राख्न सबै मन्त्रालयलाई निर्देशन दिएको थियो। सो निर्देशनलाई पनि मन्त्रालयले उल्लघंन गरेका छन्। सोमबारसम्म एउटा मन्त्रालयलले पनि आफ्नो मन्त्रालय मातहतका कर्मचारी विदेश भ्रमण गरेको सूचि सार्वजनिक गरेको छैन। यस विषयमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरसँग जिज्ञासा राख्दा उनले भने, ‘हामीले सजग गराउने काम मात्र हो। प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन कार्यान्वयन गर्ने काम सम्बन्धित मन्त्रालयको हो।’

प्रकाशित: २५ मंसिर २०७५ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App