coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवन हात्ती महोत्सव पुष ११देखि

सौराहामा पुस दोस्रो साता हात्ती महोत्सव सविता श्रेष्ठ चितवन – चितवन हात्ती महोत्सवको १५औं सस्करण पुसमा आयोजना हुने पक्का भएको छ । पुस ११ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी गरिएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा हुन लागेको महोत्सवको

चितवन – चितवन हात्ती महोत्सवको १५औं सस्करण पुसमा आयोजना हुने पक्का भएको छ। पुस ११ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी गरिएको छ।

क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा हुन लागेको महोत्सवको तयारी सुरु भएको संघका अध्यक्ष एवं १५औं चितवन हात्ती महोत्सव २०७५ का संयोजक सुमन घिमिरे बताउँछन्। महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौर सौराहामा हुनेछ।

अहिले सौराहामा पर्यटक कम आउने समय हो। अफ सिजनमा पर्यटकलाई सौराहा ल्याउन महोत्सव आयोजना गर्न थालिएको उनले बताए। ‘हरेक वर्ष हुने महोत्सवकै निरन्तता हो,’ उनी भन्छन्, ‘यो सिजनमा नेपाल आएका विदेशी र स्वदेशी पर्यटकलाई सौराहा ल्याउन महोत्सव गर्दै आएका छौं।’

समाज, संरक्षण र समृद्धिका नारासहित आयोजना गरिने महोत्सवमा हात्तीलाई कमभन्दा कम सास्ती होस् भनेर ध्यान दिइएको महोत्सवका संयोजक घिमिरे बताउँछन्। महोत्सवमा हात्तीलाई सास्ती हुने भन्दै पशुअधिकारकर्मीले आवाज उठाउन थालेपछि सुधार गर्दै लगिएको उनको भनाइ छ। यसअघि महोत्सवमा हात्ती दौड आयोजना हुने गरेकोमा त्यसलाई हटाइएको उनले जानकारी दिए। कार्यक्रमबाट जनावरलाई पीडा नहोस् भनेर ध्यान दिइने उनले बताए।

यसपटकको महोत्सवमा हात्तीको वनभोज, फास्ट वाक प्रतियोगिता, छावाहरुको फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगिता, कवि गोष्ठी र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने संयोजक घिमिरेले जानकारी दिए। गएको वर्ष फुटबल र पोलोका लागि एउटै हात्ती प्रयोग गर्ने गरिएकोमा यस वर्ष फरकफरक हात्ती सहभागिता गराइने छ। हात्तीको फास्ट वाक प्रतियोगितामा २० वटा हात्ती, पोलोमा चार टिम, फुटबलमा चार टिम, सुन्दरी प्रतियोगितामा पाँचवटा हात्तीको सहभागिता रहने उनले बताए।

संरक्षणसँगै पयर्टन प्रवद्र्धनका लागि महोत्सवलाई परिमार्जित गर्दै निरन्तरता दिइएको संयोजक घिमिरेले जानकारी दिए। सौराहा चिनाउनेमा हात्ती सफारी प्रमुख रहेको संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका प्रवक्ता दिपक भट्टराईले बताए। हात्ती सफारी युरोपेली पर्यटकले कम र नेपाली, भारतीय र चिनियाँले बढी रुचाउने गरेको उनी बताउँछन्।

‘सौराहा आउने भनेकै हात्तीका लागि हो,’ उनी भन्छन्, ‘त्यसैले महोत्सव नै हात्तीलाई केन्द्र बनाएर गर्न थालिएको हो।’ हात्तीलाई सफारीसँगै अन्य क्रियाकलापमा पनि सहभागी गराउन तालिम दिन थालिएको युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारी बताउँछन्। हात्तीलाई माला लगाइदिन, पेनाल्टी हान्न, बास्केटबल पोस्टमा फाल्न सिकाइरहेको उनले जानकारी दिए। सौराहाका व्यवसायीसँग रहेका ५५ वटा हात्ती सहकारीमा आबद्ध छन्।

तीनवटा हात्ती सहकारीमा आबद्ध नभएको उनले जानकारी दिए। सहकारीले सौराहामा हात्ती सफारीको शुल्क समान बनाएर लागू गर्ने तयारी गरेको छ। आगामी जनवरीदेखि लागू गर्ने गरी नेपालीका लागि १२ सय ५०, सार्क मुलुकका लागि १७ सय ५० र अन्य मुलुकका पर्यटकका लागि २२ सय ५० रुपैयाँ शुल्क तोकिएको अध्यक्ष तिवारीले बताए। ‘हात्ती र चितवनको पर्यटनको सम्बन्ध गहिरो छ,’ उनले भने, ‘जिप सफारी वर्षभर नहुने भएकाले पनि हात्ती सफारीको महत्व बढी छ।’

यस वर्षको महोत्सवमा ‘चितवन काव्य यात्रा’ अन्तर्गत संरक्षणमूलक कवि गोष्ठी आयोजना गर्ने तयारी छ। साहित्यमार्फत पर्यटकीय आकर्षण उजागर गर्न देशभरका २५ जना कविलाई सौराहामा राखेर संरक्षणमूलक कविता गोष्ठी गरिने संयोजक घिमिरे बताउँछन्। गोष्ठीमा सहभागिता र साहित्यकारका संस्मरण, नियात्रामार्फत पनि सौराहाको प्रवर्द्धन हुने उनले बताए।

प्रकाशित: २४ मंसिर २०७५ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App