७ वैशाख २०८१ शुक्रबार
अर्थ

भैरहवा सेज : विद्युत बिनाको विशेष आर्थिक क्षेत्र

बुटवल-  विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजमा उद्योग निर्माण तथा उपकरण जडानकालागि प्रयाप्त विद्युत रहेको दावी सुरुदेखि नै गर्दै आएको छ। ११ केभिएको लाइन सेजमा उपलब्ध गरेको र निर्माण तथा मेसीन जडानकालागि प्रयाप्त हुने उसको दावी हो। त्यस्तै यो बर्ष भित्र उद्योग संचालनकालागि आवश्यक थप विद्युत समेत उपलब्ध गराउने आश्वासन लगानीकर्तालाइ दिदै आएको छ। तर सुरु देखिनै झुठो आश्वासन बाँड्दै आएको विशेष आर्थिक क्षेत्र प्राधिकरणले अहिलेसम्म उद्योग निर्माण तथा मसीनरी सामान जडानकालागि आवश्यक पर्ने विद्युतको व्यवस्था गर्न सकेको छैन।

सेजका ६९ वटा प्लट छेउको बाटोमा गाडीएका पोलमा करेन्ट बिनाका तार झुण्ड्याइएको छ। विद्युत सप्लाइ भएको छैन। जसका कारण यहाँ स्थापना भइरहेको उद्योगले जेनेरेटर चलाएर मसीनरी समान जडान तथा वायलडिङ्गको काम गर्नु पर्ने बाध्यता  छ। सेजकै पहिलो उद्योगको रुपमा स्थापना भइरहेको शक्ति मिनरल्स प्रालिले विद्युत नहुँदा ५० केभिएको डिजि चलाएर मसीनरी जडानको काम गरीरहेको छ। मसीन जडानकालागि प्रयाप्त विद्युत रहेको र बाँकी सबै संरचना तथा सेवा सुविधा यो बर्ष भित्रै उपलब्ध गराउने आश्वासन पाएपछि शक्तिले गत साउनमा उद्योग स्थापनाको काम थालेको हो। ‘हामी आएको पाँच महिना भयो। निर्माणको काम ६० प्रतिशत सकियो। तर अहिलेसम्म सय वाटको बल्व बाल्ने विद्युत छैन’ उद्योगका प्रोजेक्ट म्यानेजर लक्ष्मण ठकुरीले भने। बिजुली नहुँदा डिजेल जेनेरेटर चलाएर औधोगिक उपकरण जडान लगायतका अन्य काम गरीरहेको ठकुरीले बताए। ‘सय लिटर डिजेलले दुइ दिनलाइ पुग्दैन। बिजुली देउ भनेर सेजका अधिकारीलाइ पचास पटक अनुरोध गर्यौं तर सुनेनन’ ठकुरीले भने।

सेजका इन्जिनीयर अरुण भट्टले भने उद्योग स्थापना गर्दा चाहिने बिद्युत उपलब्ध भएको दावी गर्न चुकेनन्। करिब डेढ महिना यता उनी सेजमा आएका छैनन तैपनि उनले प्रत्येक प्लटमा लाइन सप्लाइ भइरहेको दावी फोनबाटै गरे। सेजमै कार्यरत सुपरभाइजर अबु हसन खाँनले  विद्युतका कर्मचारीलाइ पटक पटक अनुरोध गरेपछि आइतबार नापजाँच गरेर गएको तर विद्युत जाडनकालागि कोही नआएको बताए। ‘तार र पोल पुरानै छ तर विद्युत जोडदिन अहिलेसम्म कोही आएका छैनन’ सोमबार नागरिकसंगको कुराकानीमा सुपरभाइजर खाँनले भने। विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रवक्ता सुन्दर थापाले पनि प्लटहरुमा विद्युत नै उपलब्ध नभएको प्रति अनविज्ञता जनाए। विद्युत प्राधिकरणलाइ मर्मत आदेश सहित बजेट पठाइसकेको जनाउदै उनले यसबारे बुझेर तत्काल काम थाल्न निर्देशन दिने बताए।

शक्ति मिनरल्सका प्रोजेक्ट म्यानेजर ठकुरीका अनुसार अवको ६ महिना भित्रै उद्योग संचालन गरी उत्पादन निर्यात गर्ने लक्ष्य कम्पनीको छ। तर सेजमा भने त्यसकालागि आवस्यक पर्ने न्युनतम पुर्वाधार तथा सेवा सुविधा नै छैन। सेजका अधिकारीहरुले यसअघि नै भौतिक पुर्वाधार तयार भएको भनेपनि विद्युतको सव स्टेशन जस्तो आधारभुत संरचना छैन। गत आर्थिक वर्षमै ठेक्का प्रकृयामा जाने भनिएको शव स्टेशन निर्माणलागि एक/दुइ दिनमै टेन्डर आब्हान गरीने इन्जिनीयर भट्टले बताए। उनले डेढ बर्ष भित्रै निर्माण सक्ने गरी टेन्डर आब्हान गर्न लागीएको जानकारी दिए।

तत्कालकालागि सेजमा धकधही शब स्टेशनबाट लाइन तान्ने तयारी छ। धकधहीमा ३३ केभीको शब स्टेशन निर्माणका क्रममा छ। शब स्टेशनको काम ७० प्रतिशत सकिएको प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ। विद्युतका एक जना इन्जिनीयरले सेजमा शब स्टेशन नबनेसम्म ३३ केभिए लाइन आएपनि सिधै उद्योगलाइ बितरण गर्न नमिल्ने बताए। ‘सेजको शब स्टेशन मार्फत उद्योगहरुलाइ विद्युत सप्लाइ गर्न मिल्छ’ ती इन्जिनीयरले भने। उनका अनुसार ३३ केभिए लाइन सेजका लागि प्रयाप्त भने होइन।

विद्युत मात्रै होइन यहाँ न त खानेपानीको व्यवस्था छ। न ढल निकास। वर्षौ पहिले बनाइएका खानेपानी, ढल,बाटो जस्ता संरचना जिर्ण भएका छन्। त्यसको मर्मत गर्ने तर्फ चासो दिइएको छैन। प्लटहरु बुट्यानमा परिणत भएका छन्। केही स्थानीयलाइ घाँस र दाउरा काटेर लैजान भनिएको छ। तर ५२ बिगाहमा हुर्केको बुट्यान स्थानीय दुइ चार जनाले सफा गरेर नसक्ने निश्चित छ। धर्मकाँटा,  पार्कीङ्ग, जस्ता संरचना पुरा भएका छैनन। प्रशासनिक, तथा सेवा भवनलाइ व्यवस्थित गरीएको छैन। एक जना कम्प्युटर अपरेटर र सुपरभाइजर बाहेकका कर्मचारी छैनन्। आवश्यक संरचना र सेवा सुविधा समयमै उपलब्ध हुने नदेखेपछि दर्ता पक्रिया पुरा गरेका लगानीकर्ताहरुले समेत उद्योग स्थापनमा चासो देखाएका छैनन्। एक जना लगानीकर्ता इस्तियाक अहमद खाँले बैंकको ऋणमा गरीने करोडौंको लगानी सेवा सुविधा बिनै सुरु गर्न नसकेको बताए। यहाँ गत भदौ मै १८ वटा उद्योग दर्ता भएका छन्। तीनले ४४ वटा प्लट बुक गरेका छन। ती उद्योगले हाल १० मेघावाट विद्युतको माग गरेका छन्। यसअघि सम्झौता गरेका ६ वटा उद्योग भने दर्ता प्रक्रियामै आएनन्।

प्रकाशित: २४ मंसिर २०७५ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App