८ वैशाख २०८१ शनिबार
समाज

ज्वाइँकाे हत्या गर्ने फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सुर्खेत - १६ वर्षअघि हत्या गरेर फरार भएका एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। २०५९ चैत २५ गते तरंगा–६ सिमखोलीका २४ वर्षीय बमबहादुर सुनारको हत्या गरेर फरार रहेका प्रताप कामीलाई प्रहरीले पक्राउ गरेको हो। हत्या गरिएका सुनार कामीका ज्वाइँ हुन्।

प्रहरीका अनुसार बहिनीले आफूलाई श्रीमानले कुटपिट गर्ने गरेको बताएपछि उनले रिसको झोकमा बन्चरोले हानेर ज्वाइँ को हत्या गरेका थिए। हत्या गरेपछि भारतमा बस्दै आएका कामीलाई आइतबार वीरेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदिपबहादुर क्षेत्रीले भारतको गुजरातमा रहेका कामीलाई आफन्तको सहयोगमा नेपाल बोलाएर पक्राउ गरिएको बताए।

‘१६ वर्ष पुरानो यो घटनाका अभियुक्त भातरमा रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा हामीले नेपाल बोलाएका थियाैँ’ डिएसपी क्षेत्रीले भने, ‘नेपाल आएलगत्तै पक्राउ गरेका हौं।’ ज्वाइँको हत्यापछि भारतमा रहँदै आएका उनले उतै विवाह गरेका थिए। उनका चार छोराछोरी छन्।

प्रहरीले पक्राउ परेका कामीलाई अदालतबाट म्याद थप गरेर बयान लिन सुरु गरेको छ। अनुसन्धान अधिकृत प्रहरी निरीक्षक प्रेम रेग्मीले कामीको बयान लिने काम सुरु गरिएको बताए। ‘तत्कालिन घटना मुचुल्कामा अभियुक्तकी आमाले ज्वाइँको हत्या गरेर छोरा फरार रहेको बताइसकेकी छन्’ उनले भने, ‘त्यसैका आधारमा बयान लगेर अदालतमा बुझाउँछौं।’

 

प्रकाशित: २४ मंसिर २०७५ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App