४ वैशाख २०८१ मंगलबार
अन्य

‘सहरको विकास कागज र कुरामा सीमित भयो’

रामप्रसाद पौडेल, गायक

तपाईँको बुझाईमा सहर भनेको के हो ?
सुविधायुक्त, व्यवस्थित र गुजुप्प परेको बस्ती नै सहर हो। सहरको जनघनत्व बढी भए पनि त्यहाँका हरेक पक्ष चुस्त पारिएको हुन्छ। सहरी प्रशासनले हरेक पक्षमा निगरानी राखेको हुन्छ। अत्यावश्यकीय र आकस्मिक सेवाको हकमा पनि सहर अग्रपंक्तिमा हुन्छ। यातायात, शिक्षा, स्वास्थ्य, प्रशासनिक कामलगायत धेरै सेवा तथा सुविधा सहरमा पाइन्छ।

हाम्रा सहरले मानवीय आवश्यकता पूरा गरेका छन् त ?
नेपालको हकमा कुरा गर्दा रहर र कहर दुवै हिसाबले बसोबास गर्ने ठाउँ मानिन्छ सहर। किनभने कोही आफ्ना रहर र सपना पूरा गर्न कहरले भए पनि सहर पसेका हुन्छन् भने कोही भौतिक स्रोत र साधनले सम्पन्नताले रहर र सुख खोज्दै सहरमा बसेका हुन्छन्। मानवीय आवश्यकतासँग सहरलाई जोडेर हेर्दा हाम्रा सहर मध्यम खालका छन्। नीतिगतरूपमा हेर्दा हाम्रा अति नै पछि छौं। यहाँ भएका नीति नियम र कानुन कार्यान्वयन भएका छैनन्। देशमा ठुल्ठूला अपराध भइरहँदा पनि राज्य पक्ष जिम्मेवार भएको देखिन्न। सहरमा नेता र राज्यका निकायहरूमा सत्यता भएन। उनीहरूले निष्पक्ष भएर काम गरेनन्।

हामी कामभन्दा पहिले कुरा गर्छौं। तर, काम गर्दैनौं, विदेशीहरू काम गरेपछि मात्रै कुरा गर्छन्। सहरको विकासमा गुरुयोजना तय गर्छन्। हामीकहाँ त्यस्तो खालको योजना भएनन्। सहरको विकास कागज र कुरामा सीमित भयो।

घुमेकामध्ये मनपरेको सहर ?
नेपाल आफैमा सुन्दर देश हो। संसारलाई लोभ्याउने विविधता बोकेर पनि हामी निकै पछि परेका छौं। त्यसकारण मलाई यहाँका सबैजसो ठाउँहरू सुन्दर लाग्छ। त्यसमाथि पनि अझ सुन्दर लाग्ने ठाउँ गुल्मीको रूपकोट हो, जहाँ म जन्मिएको थिएँ।

उपत्यका कस्तो लाग्छ ?
उपत्यकामा अवसर र राज्यका सेवा सुविधा मात्रै छैनन्, यो प्राकृतिकरूपमा पनि सम्पन्न ठाउँ हो। यहाँको जस्तो हावापानी अन्तका सहरमा विरलै पाइन्छ होला। पुस्ताले पनि उपत्यकालाई कलाको सहर भनेर चिनाइदिएका छन्। यहाँका ऐतिहासिक सम्पदा, कला संस्कृति संसारमै पाइन्न। धेरै पक्षहरू ठिक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ। अहिले जताततै फोहर र व्यवस्थित मात्रै देखिन्छ। सहरभित्र आनन्द लिने ठाउँहरू छैनन्। जता गयो भिडभाड मात्रै देखिन्छ। सबैजना राजधानी भन्दै यही आए। तर, सरकारले जनसंख्या अनुसार सहरलाई व्यवस्थित पार्न सकेन। सहरवासी पनि सहरप्रति जिम्मेवार भएनन्।

उपत्यका बाहिर मनपर्ने सहर ?
पोखरा मनपर्छ। यहाँ ताल, हिमाल र अनेकौं पदमार्गहरू छन्। सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ। सडक र होटल पनि व्यवस्थित छन्। सबैतिर सफा र शान्त छ। कुनै समय काठमाडौं पनि यस्तै व्यवस्थित थियो। तर, जनसंख्याको चाप बढ्दै जाँदा काठमाडौं अस्तव्यस्त भएको हो। त्यस्तै, बुटबल पनि अहिले निकै व्यवस्थित सहर बनेको छ।

सहर बिग्रनुका कारण के होला ?
सहरमा स्थायी राजनीति भएन। विकास निर्माणका कामलाई निरन्तरता दिइएन। अहिलेसम्म आइपुग्दा योजनावद्ध विकासको थालनी नै भएन। नेतृत्व फेरिँदा सहरका योजना र विकासको मोडल पनि फेरियो, जसका कारण सहरमा स्थायी विकास हुन सकेन। अर्को कुरा, हामीले प्रकृतिले दिएका वरदानलाई पनि चिन्न सकेनौं। पुर्खाले त्यति दुःख गरेर सिर्जेका ऐतिहासिक सम्पदालाई संरक्षण गरेनौं। पहुँचवालाहरूले पुर्खाको सम्पत्तिमाथि राजनीति गरिरहेका छन्। कसैले पनि यसलाई जोगाउनुपर्छ, यो हाम्रो मौलिकता हो भनेर चिन्तन गरेका छैनन्।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
केही देशका सहर घुमेको छु। दुवैका सबैजसो सहर पुगेको छु। भारतको नयाँ दिल्ली पनि पुगेको छु। त्यहाँ बाटाहरू व्यवस्थित पारिएको छ। विकासको पहिलो सर्त नै सडकलाई मानिएको छ। त्यस्तै, बाहिरी मुलुकहरूले दीर्घकालीन योजना बनाएका छन्। तर, हामीकहाँ दीर्घकालीन योजना भएन। विकास बजेट पनि सही ठाउँमा प्रयोग भएन।

तपाईँको विचारमा सहर व्यवस्थित किन भएनन् ?
सहरलाई व्यवस्थित राख्ने पहिलो सर्त भनेको सडक नै हो। जबसम्म फराकिला सडक बन्दैनन्, तबसम्म सहरको विकास भएको मानिन्न। विदेशी मुलुकहरूले पनि सडकबाटै सहरको विकास थालनी गरेका थिए। हामीकहाँ सडकका योजनामा ठूलो दलाली भइरहेको छ। ठेकेदार र राजनीतिक नेताका कारण सडक योजनाहरू अलपत्र छन्।

विदेश र हाम्रा सहरबीचको भिन्नता के पाउनुभयो ?
हामी कामभन्दा पहिले कुरा गर्छौं। तर, काम गर्दैनौं। विदेशीहरू काम गरेपछि मात्रै कुरा गर्छन्। सहरको विकासमा गुरुयोजना तय गर्छन्। हामीकहाँ त्यस्ता योजना भएनन्। सहरको विकास कागज र कुरामा सीमित भयो। नेपाल विश्वकै एउटा यस्तो देश हो, जहाँ शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेका थिए। त्यति मात्रै होइन, विश्वको ध्यान तान्ने अग्लो सगरमाथा पनि यहीँ छ। अनेकौं किंवदन्ती बोकेका ऐतिहासिक दरबार पनि यही छन्। मौसम र हावापानी पनि धेरै राम्रो छ। यी पक्षलाई केन्द्रमा राखेर हामीले नेपाललाई संसारसामु चम्काउन सक्छौं।

सहरवासी कस्तो लाग्छ ?
सहरमा बस्ने सबै गैरजिम्मेवार भए। सहरवासीमा चेतना छैन। सबैले आफ्नो मात्रै सोचे। आफू बसेको ठाउँलाई सफा राख्छु भन्ने सोच कोहीमा पनि आएन। सहरमा बस्नेहरू सबैजना सहरप्रति सचेत भएको भए सहर अस्तव्यस्त हुने थिएन होला।

सहरलाई कसरी सफा राख्न सकिएला ?
सहर सफा राख्न पहिला आफूबाट सुरु गर्नुपर्छ। सहरवासीमा जनचेतनाको खाँचो छ। घरभित्रको फोहर व्यवस्थापन गर्ने, हरेक व्यक्ति जिम्मेवार हुने, तोकिएको स्थानमा फोहर फाल्ने, विकास निर्माणका कामलाई समयमै सक्ने, राज्यमा बस्नेहरूले विकास निर्माणका काममा दुरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ।

सहरमा कलाकारिता गर्न कतिको सजिलो छ ?
सेवा सुविधाको हिसाबले कलाकारिताको लागि सहर राम्रो ठाउँ मानिन्छ। तर, पछिल्लो समय तीव्र प्रतिस्पर्धा भएको छ। पुराना लोक भाका हराएका छन्। समाज भड्काउने गीत संगीतले चर्चा कमाएका छन्।

उपत्यकाको मन नपर्ने पक्ष के हो ?
पहिलो कुरा, यहाँको प्रदूषण मन पर्दैन। सबैतिर धुवाँधुलो र मानिसको अस्तव्यस्तता देखिन्छ। सहरमा बस्नेहरू आफ्नो मात्रै सोच्छन्। अब त प्रदेश सरकार पनि बनिसकेको छ।

राम्रो लाग्ने पक्ष ?
उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष मौसम हो। प्रकृतिले हामीलाई सदावहार मौसम दिएको छ। यहाँकोे मौसम र हावापानी राम्रो भएकाले पनि विदेशीहरू नेपालमा तानिएका छन्। जहाँ पुराना मठ–मन्दिर, धार्मिक क्षेत्रहरू पनि छन्।  

सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला ?
योजनाबद्ध विकास थाल्ने, योजनालाई मूर्त रूप दिने, सहर बिग्रनुको मुख्य कारण नै सरकारी निकाय बलियो नभएर हो। नीति नियमलाई सरकारले कार्यान्वयन गराउन सक्ने हो भने सहर व्यवस्थित हुन्छ। नागरिकले पनि सास्ती खेप्नु पर्दैन।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
स्वच्छ हावा पानी होस्। सडक फराकिला हौंन्। आफू बसको वरपर सफा होस्। मानिसमा आत्मियता भेटियोस्। हरेक सेवा–सुविधा चुस्त हौन्। हरियाली, फराकिला सडक र चुस्त सरकारी सेवा सहरको विशेषता नै हो। म पनि यस्तै सहरको परिकल्पना गर्छु।  

पछिल्लो समय पुगेको सहर कुन हो ?
भारतको मुम्बई पुगेको थिएँ।

सहरको मनपर्ने खानेकुरा के हो ?
मलाई नेपाली खाना नै मिठो लाग्छ। साग, दाल, भात र तरकारी मिठो लाग्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २४ मंसिर २०७५ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App