८ वैशाख २०८१ शनिबार
अन्य

टुँडिखेलमा पिक एण्ड ड्रप सम्भव छ त?

काठमाडौं महानगरपालिका आगामी पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आपपासमा चल्ने सार्वजनिक सवारीसाधनको लागि पिक एण्ड ड्रप प्रणाली लागू गर्ने तयारीमा जुटेको छ।

टुँडिखेललाई एक चक्कर लगाउँदा कम्तिमा आधा दर्जनभन्दा धेरै पटक सार्वजनिक सवारीसाधनले यात्रु चढाउँदै/ओराल्दै आइरहेका छन्। सुन्धाराको गौश्वारा हुलाक कार्यालयदेखि सहिदगेटसम्म झण्डै आधा दर्जन स्थानमा पिक एण्ड ड्रप गरिँदै आइएको छ। जसको कारणले टुुँडिखेल आसपासमा सवारी जाम हुने गरेको छ।
 
गौशारा हुलाक कार्यालय, काठमाडौं मल, पुरानो बसपार्क, रत्नपार्क÷शंखघरपार्क, बागदरबार, भृकृटीमण्डप हुँदै सहिदगेटसम्म सवारी रोकेर नै यात्रु चढाउने र ओराल्ने गर्दै आइरहेका छन्।

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा पिक एण्ड ड्रप प्रणाली कार्यान्वयन गर्न सकिएला त ? उपत्यकाको ट्राफिक व्यवस्थापनमा लामो अनुभव संगालेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ भन्छन्, ‘राज्य नै लागेपछि नसक्ने भन्ने केही छैन। तर, हचुवाको भरमा लागू गरे कार्यान्वयन होला भन्न सकिन्न पनि।’ उनका अनुसार टुँडिखेल आसपासमा मात्रै होइन, उपत्यकाभरि नै सार्वजनिक यातायातलाई पिक एण्ड ड्रपको व्यवस्थापन गर्न आवश्यक भइसक्यो। हुचुवाकै भरमा गर्दा पिक एण्ड ड्रप प्रणाली लागू गर्नै नसकिने होइन,’ उनले भने, ‘राम्रो नहुने मात्रै हो।’

पूर्वप्रहरी उपरीक्षक श्रेष्ठले पिक एण्ड ड्रप लागू गर्नुपूर्व आइतबारदेखि शनिबारसम्म कुन रुटका सवारीसाधनमा यात्रुको चाप कति छ, सवारीको चाप कति छ भनेर वैज्ञानिक आधारमा नै अध्ययन गर्न जरुरी रहेको बताए। ‘पूर्वतयारी र अध्ययनबिनै लागू गरिएका राम्रा कार्यक्रम समेत कार्यान्वयन हुन सकिरहेका छैनन्,’ उनले भने, ‘सबैभन्दा पहिला पेसेन्सरको अडिट अर्थात् चढ्ने÷झर्ने यात्रुको तथ्यांक संकलन गर्न जरुरी छ।’

श्रेष्ठका अनुसार कुन रुटको सवारीसाधन कुन ठाउँमा कति मिनेट पिक एण्ड ड्रप गर्ने भन्ने कुरा पहिल्यै निर्धारण गर्नुपर्छ। ‘अहिले पार्किङ गरिएका सवारीसाधनलाई कसरी व्यवस्थित गर्नेतर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ,’ उनले भने, ‘व्यवहारिक ढंगले पिक एण्ड ड्रपको कार्यान्वयनमा ल्याउन सके ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्नेछ।’
ट्राफिक इन्जिनियर आशिष गजुरेल गृहकार्यपछि मात्रै पिक एण्ड ड्रप प्रणाली लागू गर्नुपर्ने बताउँछन्।

‘उपत्यकामा चल्ने सार्वजानिक सवारीसाधनले गुन्द्रुक खाँदे जसरी यात्रु कोच्छन्। त्यस्ता सवारीसाधनलाई कति मिनेट पिक एण्ड ड्रपको समय तोक्ने निक्र्याैल गर्नै गाह्रो देखिन्छ,’ उनले भने, ‘सार्वजनिक सवारीसाधनले अहिले जहाँ पायो त्यहि रोकेर यात्रु पर्खिने तथा झार्ने प्रवृत्ति देखिन्छ, त्यसलाई रोक्ने एक मात्रै उपाय पिक एण्ड ड्रप नै हो।’
उनका अनुसार अहिलेका भएका पूर्वाधारलाई व्यवस्थित गरेर मात्रै पिक एण्ड ड्रप गर्दा अझै व्यवहारिक हुन्छ। ‘सार्वजनिक यातायात संसारभर नै पिक एण्ड ड्रप गरिन्छ,’ उनले भने, ‘यहाँ मात्रै हो, रोकेर नै यात्रु कुर्ने प्रवृत्ति,’ उनले भने, ‘सार्वजनिक यातायात ननस्टप चलाएको चलायै गर्नुपर्छ। यात्रु चढ्दा र ओर्लदा मात्रै रोक्ने हो।’

ट्राफिक इन्जिनियर गजुरेलले सवारी साधनलाई टाइमकार्ड लागू गरेर र आवश्यक पर्ने पूर्वाधार तयार पारेर उपत्यकाभर नै लागू गर्न जरुरी भएको बताए। ‘उपत्यकामा पैदल यात्रुको चाप अत्याधिक छ। त्यसैले सार्वजनिक यातायातलाई सुधारेर व्यवस्थित गर्न जरुरी भइसक्यो,’ उनले भने, ‘उपत्यकामा अब पिक एण्ड ड्रपको विकल्प छैन।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले टुँडिखेल आसपासमा सार्वजनिक सवारीसाधनमा पिक एण्ड ड्रप लागू गर्न कुनै समस्या नरहेको बताउँछन्। ‘टुँडिखेल आसपासमा जभाभावी सवारी रोक्ने र चढाउने प्रवृत्ति निरुत्साहित गर्न पिक एण्ड ड्रपको व्यवस्था गर्न लागेका हौं,’ उनले भने, ‘यसका लागि लागि अध्ययन समिति गठन गरेका छौंं। समितिले दिएको प्रतिवेदन अनुसार आगामी पुस १ गते देखि टुँडिखेल आसपासमा पिक एण्ड ड्रपको व्यवस्था लागू गर्नेछौं।’

उनका अनुसार एउटै सवारीसाधन काठमाडौं मल, नयाँ बस, भृकृटीमण्डप हुँदं सहिदगेटसम्म रोक्ने प्रवृत्ति अन्त्य हुनेछ।

काठमाडौं महानगरपालिकाले गत मंगलबार सर्वपक्षीय भेला गरेर आगामी पुस १ गतेदेखि टुँडिखेल आसपासको सडकमा पिक एण्ड ड्रप प्रणाली कार्यान्वयन गर्न लागेको हो। उपत्यकाको अत्याधिक सवारीको चाप हुने टुँडिखेल आसपासमा कम्तिमा आधा दर्जनभन्दा धेरै पिक एण्ड ड्रप बसस्टप रहेका छन्। सुन्धारा काठमाडौं मल अगाडि, पुरानो बसपार्क, रत्नपार्क÷शंखधरपार्क, भृकृटीमण्डप र सहिदगेट अगाडि सवारीसाधन लहरै राखेर यात्रु पर्खिरहेका छन्। ति स्थानमा एउटा सार्वजनिक सवारीसाधनले कम्तिमा १० मिनेटदेखि आधा घण्टासम्म यात्रु पर्खिने गरेका छन्। काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा टुँडिखेल आसपासमा पिक एण्ड ड्रप व्यवस्था गर्न लागिएको हो।

पाँच सदस्यीय अध्ययन समिति गठन
पिक एण्ड ड्रप समस्या समाधान गर्नको लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ। महानगरको सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। अध्ययन समितिको सदस्यहरूमा सडक डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जिनियर रामबहादुर गुरुङ, साना ठूला सवारी एकान्तकुनाका उपसचिव वसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्ट छन्। समितिको सदस्य सचिवमा महानगरका नगर प्रहरी प्रमुख विष्णु जोशी छन्। समितिलाई सात दिनमा अध्ययन गरेर प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।

प्रकाशित: २४ मंसिर २०७५ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App