६ वैशाख २०८१ बिहीबार
अर्थ

विमानस्थलको आधा अर्ब उठ्न बाँकी

काठमाडौं – वायुसेवा कम्पनीहरुले विमानस्थल प्रयोगबापत त्रिभुवन विमानस्थल कार्यालयलाई तिर्न बाँकी रकम झण्डै आधा अर्ब पुगेको छ। चालु र बन्द अवस्थामा रहेका आधा दर्जनभन्दा बढी वायुसेवा कम्पनीले विमानस्थललाई ४९ करोड १७ लाख रुपैयाँ बक्यौता चुक्ता गरेका छैनन्।

बारम्बार ताकेता गर्दा पनि चार करोड बक्यौता नतिरेपछि बिहीबारबाट सौर्य एयरलाइन्सको उडानै बन्द गरिएको छ। आन्तरिक उडान गर्दै आएको सौर्यले बक्यौताको एक चौथाइ अंश नबुझाएसम्म उडान प्रतिबन्ध फुकुवा नगर्ने कार्यालयले जनाएको छ। सौर्यले केही दिनमै बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि कम्पनीको आन्तरिक विवादले चाँडै बुझाइहाल्ने अवस्था भने देखिँदैन।

सौर्यले सिआरजे २०० सिरिजका ५० सिट क्षमताको एक थान जहाजमार्फत नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गर्दै आएको छ। सौर्यको सोही सिरिजको अर्को जहाज बिग्रिएर बसेको छ।

आन्तरिक उडान गर्ने सिम्रिक एयरलाइन्स पनि बक्यौता नतिर्नेमा पर्छ। सिम्रिकले ४६ लाख बुझाउन बाँकी छ। यसअघि करोड हाराहारी तिर्न बाँकी सिम्रिकले बक्यौता घटाउँदै लगेको विमानस्थल कार्यालयले जनायो।

बक्यौता नतिर्नेमा हिमालय एयरलाइन्स पनि छ। बाह्य उडान गर्दै आएको हिमालयले १२ करोड ३२ लाख बक्यौता तिरेको छैन। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार यसअघि हिमालयको बक्यौता अत्यधिक थियो। केही महिनाअघि पाँच करोड ५० लाख बुझाएको हिमालयले बाँकी डिसेम्बरभित्र बुझाउने प्रतिबद्धता जनाएको छ। त्यो अवधिमा बक्यौता रकम नबुझाए जनवरीबाट उसको पनि उडान रोक्ने क्षेत्रीले बताए।

विमानस्थललाई बक्यौता नतिर्नेको अग्रपंक्तिमा मलेसियाको एयर एसिया छ। एयर एसियाले असोज अन्तिम साता नेपालको उडान बन्द गरेको छ। विमानस्थल प्रयोग शुल्क भने चुक्ता गरेको छैन। एयर एसियाले २१ करोड १८ लाख रुपैयाँ बुझाउन बाँकी छ।

बक्यौता नबुझाएपछि नेपालबाट अन्तिम उडान गर्दा विमानस्थलले जहाज नै रोक्ने प्रयास पनि गरेको थियो। कम्पनीले बक्यौता चुक्ताको प्रतिबद्धता तथा नेपालस्थित मलेसियन दूतावासले रकम उठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपछि जहाज छोडिएको थियो।

विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार एयर एसियाको बक्यौता विलम्ब शुल्क हो। उसले विलम्ब शुल्क छुट गरिदिन आग्रह गरेको छ। विमानस्थलले छुट गर्न नमिल्ने भन्दै ताकेता गरेको छ।

‘बक्यौता रकम छिटो बुझाउन ताकेता गरिरहेका छौं,’ प्रवक्ता तिवारीले भने, ‘नेपालस्थित मलेसियन दूतावासलाई समेत रकम उठाउन सहयोग गर्न पत्राचार गरेका छौं।’ बक्यौता रकम कसैलाई पनि छुट नहुने उनले बताए।

त्यसैगरी, गल्फ एयर, किङफिसर एयरलाइन्स, बहराइन एयरलाइन्स, बन्द भइसकेको कस्मिक र नेकोन एयरलगायतले पनि विमानस्थललाई बक्यौता तिरेका छैनन्। यी कम्पनीले बारम्बार ताकेता गर्दा पनि अटेर गरिरहेको विमानस्थल कार्यालयको भनाइ छ।

कस्मिकले तीन करोड ३३ लाख रुपैयाँ तिरेको छैन। नेकोनले चार करोड ६३ लाख र गल्फ एयरले दुई करोड २२ लाख रुपैयाँ बुझाउन बाँकी छ। किङफिसरले एक करोड ११ लाख तिरेको छैन। सबैभन्दा कम बहराइन एयरलाइन्सले २४ लाख रुपैयाँ बुझाउन बाँकी छ।

चालु अवस्थामा रहेका एयरलाइन्सबाट पनि बक्यौता उठाउन विमानस्थललाई सकस भइरहेको छ। महाप्रबन्धक क्षत्री भन्छन्, ‘कतिपय त सम्पर्कमै छैनन्।’ सम्पर्कमा भएका एयरलाइन्सलाई ताकेता गरिरहेको उनले बताए। ‘सम्पर्कमा हुनेसँग ताकेता गरिरहेका छौं,’ उनले भने, ‘एयरलाइन्स बन्द भए पनि बक्यौता कसैलाई छुट हुँदैन।’

उनका अनुसार पछिल्लो समय ताकेता गरेरै धेरै एयरलाइन्सको बक्यौता उठाउने काम भइरहेको छ। विमानस्थलले वायुसेवा कम्पनीहरुसँग ल्यान्डिङ, पार्किङ, सुरक्षा, कोठा, काउन्टर लगायतको शुल्क लिने गर्छ।

प्रकाशित: २४ मंसिर २०७५ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App