८ वैशाख २०८१ शनिबार
खेल

रोहित चन्दको टोलीलाई उपाधि

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका रक्षक रोहित चन्दको टोली पर्सिजा जाकार्ताले यस सिजनको ‘गो–जेक लिग वान’ को उपाधि जितेको छ।

आइतबार भएको खेलमा पर्सिजाले मित्र कुकरलाई २–१ ले निराश पार्दै लिग च्याम्पियन बनेको हो। ३४ खेलमा १८ जित, ८ बराबरी र ८ हारको नतिजा निकालेको पर्सिजा ६२ अंकका साथ लिग च्याम्पियन बनेको हो। समान खेलमा ६१ अंक जोडेको पिएसएम माकासारले दोस्रो स्थानमा चित्त बुझायो। यससँगै पर्सिजा एएफसी च्याम्पियनसिप प्लेअफ र एएफसी लिग कपमा स्थान बनाउन सफल भएको छ। गत सिजन चौथो स्थानमा बस्दै सिजनको अन्त्य गरेको पर्सिजाले क्लब इतिहासमा लिग वानको उपाधि जितेको यो पहिलो पटक हो।

यस क्रममा रोहित टोलीका महत्वपूर्ण सदस्य रहेका थिए। उनी ३४ मध्ये ३१ खेलमा मैदान उत्रिएका थिए। लिग अवधिभर ३ गोल समेत गरेका रोहित प्रतियोगिताको ‘मस्ट भ्यालुएबल खेलाडी’ समेत बनेका छन्। यस क्रममा रोहितले पेर्सिबियाका स्ट्राइकर डेभिड डा सिल्भा र पिएसएमका विलेम जान प्लुइमलाई पछि पारेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन रोहितले २००९ मा मच्छिन्द्र क्लबबाट सहिद स्मारक लिग खेल्दै शीर्ष स्तरको फुटबल करियर सुरु गरेका थिए। १९ वर्षको उमेरमा पहिलो सिजनमै सनसनीपूर्ण प्रदर्शनका साथ उत्कृष्ट रक्षकको पुरस्कार पाएका रोहित लगत्तै २०१० मा भारतीय आई लिगको टोली हल एससीमा अनुबन्धित भए। त्यहाँ दुई सिजन बिताएपछि उनको प्रतिभाको चर्चाले दक्षिण एसियाको सिमाना काटिसकेको थियो।

२०१२ मा इन्डोनेसियाका पिएसपिएस पेकान्बारुमा अनुबन्धित भएर उनले एक सिजन खेले। त्यसपछि लगत्तैको सिजनबाट उनले दुई वर्षका लागि उनी पेरसिजामा अनुबन्धित भए। पेरसिजाबाट त्यति बेला उनले ४६ खेलमा ६ गोल गरे। २०१६ मा मलेसियाको टी टिमबाट एक सिजन खेलेपछि उनी गत वर्ष नेपालको मनाङ मस्र्याङ्दी क्लब पुगेका रोहित गत वर्ष फेरि पेरसिजा फर्केका छन्।

प्रकाशित: २४ मंसिर २०७५ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App