८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टारको जितमा रञ्जित नायक

काठमाडौं – रञ्जित धिमालको दुई गोलको मद्दतमा थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा उपाधि होडमा रहेको ललितपुरे टोली थ्री स्टारले जावलाखेललाई २–० ले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले विजयी गोल दोस्रो हाफमा गरेको थियो। पहिलो हाफमा बलियो रक्षापंक्ति बनाउँदै मैदान उत्रिएको जावलाखेलले दोस्रो हाफमा लयलाई निरन्तरता दिन नसक्दा अंक गुमाउन पुगेको हो।

मनाङसँग उपाधि होडमा रहेको थ्री स्टारका लागि रञ्जितले ५२औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै खाता खोलेका थिए। फ्रिकिक बललाई नियन्त्रणमा लिँदै सुनील बलले पेनाल्टी बक्सभित्रबाट दिएको क्रस पास जावलाखेलका रक्षकको हातमा लाग्दा थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो। प्राप्त अवसरलाई रञ्जितले जाली चुमाउँदा थ्री स्टारले अग्रता लिन सफल भएको थियो।

अन्तिम २१ मिनेटसम्म जावलाखेल १० खेलाडीमा सीमित बन्यो। मैदानको मध्यभागबाट पाएको बललाई अगाडि बढाउने क्रममा थ्री  स्टारका रञ्जन विष्टलाई कुलदीप कार्कीले ६२औं मिनेटमा खराब फाउल गरेपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा जावलाखेल १० खेलाडीमा सीमित बनेको थियो। सोही फाउलमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै रञ्जितले टोलीको अग्रता २–० मा पु¥याए। आइतबारका गोलसँगै रञ्जितले जारी लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा आफ्नो नाम शीर्ष स्थानमा लेखाएका छन्। उनले जारी लिगमा ६ गोल गरेका छन्।

दश खेलाडीमा सीमित जावलाखेलमाथि थ्री स्टारले बाँकी समयमा अग्रता फराकिलो पार्न निरन्तर प्रयास गरे पनि गोल गर्न सकेन। सुरुआतबाट नै रक्षात्मक बन्दै अंक बाँड्ने उद्देश्यमा रहेको जावलाखेल अन्तिम २० मिनेट सम्हालिन नसक्दा पराजित हुन पुगेको हो।

आइतबारको जितसँगै थ्री स्टार तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मनाङभन्दा एक खेल बढी खेल्दै समान १८ अंक बटुले पनि हेड टु हेडको आधारमा थ्री स्टार दोस्रो स्थानमा अटाएको हो। उता लिगमा पाँचौं पराजय भोगेको जावलाखेल ४ अंकका साथ पुछारबाट तालिकाको तेस्रो स्थानमा छ।

यस्तै, लिगअन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा विभागीय टोली एपिएफले सरस्वती युथ क्लबलाई ३–० ले पराजित ग-यो।

रूपबहादुर लामाको दुुई तथा युवराज खड्काको एक गोलको मद्दतमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब लिगमा तेस्रो जित निकाल्न सफल भएको हो। एन्फा मुख्यालयकै मैदानमा भएको खेलमा एपिएफले १८औं मिनेटमा रूपबहादुरको गोलबाट अग्रता लिएको थियो। ४३औं मिनेटमा युवराज खड्काले टोलीका लागि दोस्रो गोल थप्दै अग्रता २–० मा पु-याए।

पहिलो हाफमा देखाएको प्रदर्शनलाई दोस्रो हाफमा पनि जारी राख्दै एपिएफले सरस्वतीलाई दबाबमा राख्यो। ८८औं मिनेटमा रूपबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चत गरे। अंकतालिकाको नवौं स्थानमा रहेको एपिएफ जितसँगै एक स्थान माथि उक्लँदै १० अंकसहित आठौं स्थानमा पुुगेको छ भने पराजित सरस्वती ६ अंकसहित एक स्थान तल नवौं स्थानमा छ।

चौथो चरणको खेलअन्तर्गत मनाङसँग भएको खेलमा अपनाएको रणनीति सफल भएको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले बताए।

‘मनाङसँगको रणनीति सफल भएपछि मैलै त्यसपछिका खेलमा सोही रणनीति अपनाएको छु, सफल पनि भएको छ,’ प्रशिक्षक तामाङले भने, ‘नेपाली क्लबमा नेपाली खेलाडीको प्रदर्शन औसत हुने गर्दछ। विदेशी खेलाडीलाई मार्किङ गर्दै नतिजा निकाल्ने रणनीति आजको खेलमा सफल बन्यो। टोलीको खेलमा सुधार आएको छ। सन्तुष्ट छु।’

उता रक्षात्मक खेल्दै अंक खोस्ने योजनामा रहेका सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले क्लबले अहिलेसम्मकै खराब प्रदर्शन गरेको बताए।

‘लिग सुरु भएपछि अहिलेसम्मकै खराब प्रदर्शन आजको खेलमा भयो, खेलाडीको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। विदेशी खेलाडीले  पनि राम्रो प्रदर्शन गर्न सकेनन्,’ प्रशिक्षक नेपालले भने, ‘केही अवसर खेर गए अनि केहीलाई सदुपयोग गर्न सकेनौं।’

यस्तै लिगअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा नवप्रवेशी टोली च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको छ। जितसँगै च्यासल लिगतालिकाको सातौं स्थानमा उक्लिएको छ।

हलचोकको खेलमैदानमा भएको सातौं चरणको खेलमा च्यासललाई जिताउन सन्तबहादुर तामाङले दुई तथा देवेन्द्र तामाङले एक गोल गरे। फ्रेन्ड्सका विकास लामाले २०औं मिनेटमा गरेको गोल नै सान्त्वना गोल बनेको थियो।

च्यासलले ११आंैं मिनेटमा सन्तबहादुरको गोलबाट अग्रता लिएको थियो। लगत्तै ९ मिनेटपछि फ्रेन्ड्सका विकास लामाले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १–१ को बराबरी खेलेको च्यासलले दोस्रो हाफमा थप दुई गोल गर्दै तीन अंक लिन सफल भयो। ५५औं मिनेटमा देवेन्द्र तामाङले पेनाल्टीबाट गोल गर्दै च्यासललाई पुनः अग्रता दिलाए। ६९औं मिनेटमा सन्तबहादुर गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ मा पु-याए। बाँकी समयमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल गर्न सकेनन्।

जितसँगै च्यासल ७ खेलबाट १० अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ। च्यासलले ३ मा जित, ३ मा हार र १ मा बराबरी खेलेको छ। खराब प्रदर्शनबाट गुज्रिएको फ्रेन्ड्सको समान ७ खेलबाट ५ अंक रहेको छ। फ्रेन्ड्स तालिकाको १०औं स्थानमा छ।

लिगमा सोमबार दुई खेल हुनेछन्। एन्फा कम्प्लेक्समा हुने दुवै खेलको पहिलो प्रतिस्पर्धा विभागीय टोली त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज तथा दोस्रो प्रतिस्पर्धा मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबबीच हुनेछ।

रञ्जितले जारी लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा आफ्नो नाम शीर्ष स्थानमा लेखाएका छन्। उनले जारी लिगमा ६ गोल गरेका छन्।

प्रकाशित: २४ मंसिर २०७५ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App