८ वैशाख २०८१ शनिबार
कला

नेपाल संगाल्दै फर्किए विदेशी कलाकार

महोत्सवमा सहभागी एक कलाकार चित्र बनाउँदै। तस्बिरः नागरिक

काठमाडौं – विदेशसँग सम्बन्ध जोड्ने माध्यम राजनीति र कुटनीतिलाई लिइन्छ। राजधानीमा भएको जलरङ महोत्सवले भने यी दुई माध्यमभन्दा फरक अर्थात् कला संस्कृतिबाट पनि सम्बन्ध प्रगाढ पार्न सकिन्छ भन्ने सन्देश दियो।

नेपालको सुन्दरतासँगै यहाँको शान्ति र सद्भाव बोकेर जलरङ कोर्ने विदेशी कलाकार शनिबार स्वदेश फर्के। ‘नेपाल निकै सुन्दर देश हो। यहाँको कलात्मकता र प्राकृतिक सुन्दरता अन्य कहिँ छैन,’ अमेरिकी कलाकार मिन्नी भेलेरोले भनिन्। पहिलो पटक नेपाल भ्रमणमा आएकी उनले मनले भनेका चित्रलाई जलरंग मार्फत प्रस्तुत गरिन्।

चीनका कलाकार हुन या नेपालसँग बढी सानिध्यता रहेको भारत वा बंगलादेश नै किन नहुन। ती देशका कलाकार पुनः नेपालमा आएर कला कोर्ने इच्छा राख्दै स्वदेश फर्किए। गत सोमबारदेखि काठमाडौं र लुम्बिनीमा एकसाथ सुरु भएको ‘जलरङ कला महोत्सव’ आइतबारसम्म चलेको थियो। महोत्सव सकिनुअघि विदेशीसहित नेपाली कलाकारले पाटन दरबार स्क्वायरमा नेपाली कला संस्कृतिको प्रतिकका रुपमा रहेको काठका टुँडाल, ढुंगाका मूर्ती, मन्दिर, सत्तल र चोकमा रहेका कलालाई जलरङमा सजाए।

विदेशी कलाकारहरूले आफूले बनाएका चित्रलाई विदेशमा नेपालको प्रवद्र्धन गर्न आफुसँगै लिएर गएका छन्। मंगोलियाका कलाकार मुङ्खु गुगुले विदेशमा पुगेर नेपालमा भेटेका र देखेका कलालाई निरन्तर जलरङमा उतार्ने बताइन्। जलरङ समाज नेपाल च्याप्टरका अध्यक्ष एनबी गुरुङले नेपालप्रतिको विदेशी कलाकारको सद्भावलाई उनीहरूले आगामी दिनमा कलामार्फत देखाउने बताए। ‘नेपालमा यसप्रकारको कार्यशाला हुनु चानचुने कुरा हैन। यसले नेपालको कला संस्कृति र यहाँको प्रकृतिलाई विदेशी भूमिमा परिचित गराउने र जलरंग क्षेत्र विस्तारित हुन भूमिका खेल्नेछ,’ उनले भने।

कार्यशालामा उत्कृष्ट चित्र कोरेका दशजनालाई अवार्ड र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो। महोत्सवमा मंगोलियाका मुङ्खु गुगु, भारतका प्रशान्त कटुवा र अमलेस मजुमदार र नेपालका लालकाजी लामा, जीवन पौडेल डीराम पाल्पाली, मनोज तामाङ, सुरेश स्याङतान, डीवी राई र महेन्द्र राई पुरस्कृत भएका थिए। कार्यक्रममा चित्रकार बाबु साइला ‘युवा प्रोत्साहन सम्मान’बाट सम्मानित भए।

कार्यशालामा विदेशी र स्वदेशीसहित ४० जनाको सहभागिता रहेको थियो। कलात्मक प्रदर्शनीमा ४० देशका ३ सय बढी चित्रकला राखिएका थिए। नेपाल कला परिषदमा आइतबार आयोजित समापन कार्यक्रममा कलाकार गेहेन्द्रमान अमात्यले कलाकार भीम श्रेष्ठ, केशवराज खनाल र कान्छाकाजी भासिमालाई सम्मान गरे। उनले नेपालमा जलरङप्रति कलाकारको जागरुकता ल्याउन महोत्सव सफल भएको दाबी गरे।

विदेशीसहित नेपाली कलाकारले पाटन दरबार स्क्वायरमा नेपाली कला संस्कृतिको प्रतिकका रुपमा रहेको काठका टुँडाल, ढुंगाका मूर्ती, मन्दिर, सत्तल र चोकमा रहेका कलालाई जलरङमा सजाए।

प्रकाशित: २४ मंसिर २०७५ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App