८ वैशाख २०८१ शनिबार
अर्थ

केरा उत्पादक किसानलाई राहत वितरण

पीडित किसानलाई राहत रकम वितरण गरिँदै। तस्बिर : सविता/नागरिक

चितवन – कालिका नगरपालिका–६ भटेनीमा लगाइएको केरा खेती नष्ट गरिएको लामो समयपछि पीडित किसानलाई राहत वितरण गरिएको छ। कालिका नगरपालिका र चितवन केरा उत्पादक संघले शुक्रबार पीडित किसानलाई राहत वितरण गरेको हो।

नगरपालिकाले एक लाख ५० हजार र संघले एक लाख रुपैयाँ किसानलाई वितरण गरेको हो। नगरपालिका र संघबाट किसानले प्रतिबोट करिब ८३ रुपैयाँ राहत पाएका छन्। पीडित किसानहरु नरराज धिताल, कोपिला दाहाल, शंकर हुमागाई, गोपी लामिछाने, लिला पंगेनी, पूर्ण बहादुर खड्का, देवीप्रसाद गोताम, ध्रुव आचार्य, गोविन्द दाहाल, भूमिनन्द दवाडी, शोभा भट्ट र झलक सुवेदीलाई राहत रकम वितरण गरिएको छ।

घटना लगत्तै प्रदेश र केन्द्रबाट अनुगमन गरिए पनि कतैबाट राहत नआएको वडा नम्बर ६ का अध्यक्ष विनोद रेग्मी बताउँछन्। केरा फँडानीको घटना भएकै सातामा असिनापानी र हावाहुरीले समेत चितवनमा ठूलो परिमाणमा केरा नोक्सान भएको थियो। त्यस घटनाले अघिल्लो घटनालाई छायाँमा पा¥यो। पीडित किसानलाई राहत दिन ढिलाइ भएको वडा अध्यक्ष रेग्मी बताउँछन्।

केन्द्रबाट राहत नआएपछि थोरै भए पनि स्थानीय तहबाटै राहत प्रदान गरिएको उनले बताए। फल लागेका र लाग्ने क्रममा रहेका केराका बोटहरु नष्ट भएका थिए। पीडित किसान कोपिला दाहालको बगानमा सबैभन्दा बढी क्षति पुगेको थियो। उनको बगानका मात्रै एक हजार दुई सय बोट काटिएका थिए। ढिला भए पनि राहत पाउँदा व्यवसायलाई निरन्तरता दिन प्रोत्साहन मिलेको दाहाल बताउँछिन्।

अलि अघि राहत वितरण गरिएको भए क्षति पुगेको बगानमा नयाँ बिरुवा लगाएर हुर्काउन सजिलो हुने उनले बताइन्। ‘छिटो पाएको भए राहत रकमले बगानमा हेरचाह गर्न मद्दत पुग्ने थियो,’ उनले भनिन्, ‘थप क्षतिपूर्तिका लागि पनि पहल गरिदिए राम्रो हुन्छ।’ चितवनमा अहिले करिब दुई हजार सात सय बिघामा केरा खेती गरिएको छ। ६ सय ३० कृषकले व्यावसायिक केरा खेती गर्दै आएका छन्। केरा खेती नष्ट गर्नेलाई पक्राउ गरेर मुद्दा चलाइएको छ।

केरा उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने भनिए पनि यस्ता घटना र हावाहुरी, पानीका कारण किसानले नोक्सानी खेप्नु परेको चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष विष्णुहरी पन्त बताउँछन्। व्यावसायिक केरा खेती गर्ने किसानले नोक्सानीबाट क्षतिपूर्ति लिनका लागि बिमा गर्ने सुविधा छ। अधिकांश किसान भने बिमाभन्दा बाहिर रहेको उनी बताउँछन्।

गएको वैशाख २३ गतेको ठूलो हावाहुरी र असिनापानीबाट भएको क्षतिमा बिमा गर्ने किसानले क्षतिपूर्ति पाएका थिए। घटनामा करिब सात करोड रुपैयाँ बिमाबाट किसानले पाएको पन्तले बताए। बिमा गर्दा एक बोटको दुई सय रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ। बिमा शुल्कमा सरकारले अनुदानको समेत व्यवस्था गरेको छ। यसअघि फाँडेर नष्ट हुने घटना बिमामा समेटिएको थिएन। अहिले एकाघरका सदस्य बाहेक अरुले गर्ने क्षतिका घटनालाई पनि बिमाले समेटेको पन्त बताउँछन्।

एक बोटबाट केरा बिक्री गरेर किसानले चार सयदेखि पाँच सय रुपैयाँसम्म आम्दानी गर्छन्। व्यावसायिक कृषिप्रति किसानलाई स्थापित गराउन सानो मात्रामा भए पनि राहत दिइएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ बताउँछन्। भविष्यमा हुनसक्ने क्षतिको जोखिम कम गर्न किसानले अनिवार्य बिमा गराउनुपर्ने उनले बताए।

गत वैशाख ७ गते राति कालिका नगरपालिका–६ भटेनीमा लगाइएको केरा अज्ञात समूहले काटेर नष्ट गरिदिएका थिए। उनीहरुले १२ जना किसानले भटेनीमा लगाएको तीन हजार ९४ केराका बोट काटेर नष्ट गरिदिएका थिए।

प्रकाशित: २३ मंसिर २०७५ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App