८ वैशाख २०८१ शनिबार
अन्य

आरती

भर्खरै तिहार सकिएको छ। सबैतिर सयपत्री, गोदावरी र मखमलीका आधाउधि फूल टिपिएको भए पनि सौन्दर्य अझै निख्रिएको छैन। बगैँचामा एक किसिमको सौन्दर्य छरिइरहेको छ। हुन त दसैँ र तिहार सकिएपछि हाम्रा सारा खुसी रित्तिएजस्तो महसुस हुन्छ।

मेरो जीवनमा पनि लगभग खुसी रित्तिएको थियो । परिवारको दबाब थियो– पढाइ छाड् र बिहे गर् । मलाई बिहे गर्ने कुनै रुचि थिएन न त पढाइ छाड्ने नै ! भर्खरै त १२ पढिरहेकी छु । पढाइ पनि नराम्रो छैन । राम्रो परिवारको केटो भन्नेबित्तिकै हाम्फाल्न मेरो मनले मानेको छैन। अहिलेको जमानामा पनि यस्तो दबाब देख्दा मलाई अति नमीठो लागिरहेको छ।

घरमा आज पनि त्यस्तै भयो र म फन्फनिँदै घरबाट निस्किएँ । निस्कने बेलामा मेरा बाबुले भनेका थिए, ‘विशाखा, तँ यतिबेला घरबाट निस्किस् भने फर्किएर कहिल्यै नआउनू।’

‘यो कस्तो व्यवहार हो ? छोरी हुँ भन्दैमा हेप्ने ? पालिएको जनावरको पनि हैसियत छैन मेरो,’ मलाई यस्तै सोच आयो र घरबाट हुर्मुर्रिएर निस्किएँ।

उसले मलाई धेरै वर्षअघि देखेको हुँदो हो। त्यसपछिका कयौं दिन पनि लुकीछिपी हेरेको हुँदो हो। उ म हिँडेको, बोलेको उसितै हाँसेको, बोलेको, उसितै हाँसेको पनि चियो गरिरहेको हुँदो हो। म भने बेफिक्री भएर ती सारा कुरालाई पन्छाएर कल्पनाको विकासमै रमाइरहेकी थिएँ।

सिधै म पशुपतिनाथ मन्दिर पुगेँ र साँझको आरती हेरेँ । आरतीको ध्वनिका कारण हुनसक्छ, मन केही शान्त भयो । सोच्छु, हामी नारी कति असहज जीवन बाँचिरहेका छौँ ! आफ्ना चाहना, सपना र उद्देश्यको यहाँ कुनै मोल छैन । छोरी भइसकेपछि तुरुन्तै बिहा गरिदिने हतारो हुन्छ, परिवारलाई।

पशुपतिको आरतीलाई फेसबुकमा अपलोड गरेपछि केही लाइक् र कमेन्ट आउन थाल्यो । ती कमेन्ट र लाइकले पनि मनलाई बहलाउन सकिरहेको छैन । आरती सकिएपछि अब कहाँ जाउँ भएर आयो । अचानक संसारमा आफू एक्लो छु र कोही आफ्नो छैन भन्ने निस्सारता बोध भयो तर बानेश्वरमा मन मिल्ने साथी सरितालाई झट्ट सम्झिएँ र उसलाई फोन लगाएँ ।

‘तँ कहाँ सुत्ने ठाउँ छ ?’

‘फेरि घरमा झगडा पर्यो कि क्या हो?’

‘पशुपतिमा छु, आउन केही मिनेट लाग्छ । भोक पनि लागिरा’छ... ।’

‘चाँडो आइज त, म तँलाई कुर्छु अनि सँगै खाउँला ।’

फोन कट् गरेपछि म सिधै ट्याक्सी लिएर सरिताकहाँ पुगेँ । सरिताले नियालेर हेरी, रुँदारुँदा सुन्निएको आँखा देखी तर केही सोधिन । दुवै चुपचाप खाना खाइरह्यौँ ।

खाना खाइसकेपछि उसले यसअघि पनि म सुतेको कोठामा उसले लगी र भनी, ‘गेट् रेस्ट वेल !’

भन्न त उसले ‘गेट् रेस्ट वेल’ भनी तर आँखामा निद्रा थिएन । भविष्य अन्धकार लागिरहेको थियो । भोलि त फेरि त्यही घर जानु छ, तिनै भाषण सुन्नु छ । भोलिको दिन मैले के गर्ने ? जीवन कसरी अघि बढाउने ? घर छाडेर भाग्ने हो भने, १७÷१८ वर्षकी महङ्खवाकांक्षी केटीलाई यो समाजले अघि बढ्न दिन्छ ? बाँच्न दिन्छ ?

यस्तै सोच्दै गर्दा मोबाइलको म्यासेन्जरमा कसैको सन्देश आयो।

‘को हो यो विकास भन्ने जन्तु ?’ मेरो दिमागले स्कुल, कलेज, साथीभाइका पनि साथी सबैको अनुहार स्क्यानिङ ग¥यो तर ठम्याउन सकिनँ।

विकासः बाबा, आरती हेर्न एक्लै गएको कि परिवारसँग ?

मः एक्लै । किन महिलाले परिवारकै पुच्छर बनेर हिँड्नुपर्छ भन्ने छ र ?

विकासः पुच्छरको कुरा होइन, (ऊ रिसाएन बरु सम्झाउने भाषामा भन्यो) यसरी राति हुँदी छोरी मान्छे एक्लै हिँड्नु हुँदैन क्या !

मः तपाईं मलाई चिन्नु हुन्छ ?

विकासः कुरा गर्दै गएपछि बिस्तारै चिनजान भइहाल्छ नि ! रातिहुँदी पशुपति किन गएको ? केही कुराले मन दुखाए जस्तो छ, हो ? मलाई सेयर गर्न मिल्छ भने सेयर गर न, प्लिज । मनको बह पोख्यो भने मन हल्का हुन्छ । मनमा धेरै कुरा खेलाउनु हुन्न । मलाई साथी सम्झेर सबै कुरा सेयर गर । मैले जाने, बुझेसम्म केही सुझाव दिनसक्छु कि बाबा ।

मलाई लाग्यो, यो बाबा, बाबा भनेर के भन्या होला ! कत्ति न नजिकको बनाउन खोजिरहेको छ ! तर पनि उसले ‘बाबा’ भनेको मन पर्यो। पीरको भारी बोकिरहेकी मलाई कसैले यसरी मीठो सम्बोधन गरेको मनपर्यो। कतै भगवान् शिव मानिस बनेर मेरा सबै कुरा बुझेर सघाउन त आएनन् ! मेरो आस्तिक मनले यस्तै सान्त्वना दियो।

यसपछि झुप्प निद्रा नलागुञ्जेल मैले त्यो बिरानो मानिससँग आफ्ना डर, गुह्य समस्या र खुसीका केही पल साटेँ । त्यसो त म हत्तपत्त कसैलाई विश्वास नगर्ने मान्छे थिएँ, उसैलाई किन सबै कुरा खुलेर सुनाएँ, म आफैँलाई अचम्म लागिरह्यो । यही सोच्दासोच्दै म कतिबेला निदाएँ, आफैँलाई पत्तो भएन।

मोबाइलको म्यासेजको घण्टीले मेरो निद्रा बिथोलिदियो। मोबाइलको घडी हेरेँ, बिहानको आठ बजिसकेको रहेछ । त्यसपछि मैले म्यासेज हेरेँ, विकासले लेखेको थियो, ‘गुड मोर्निङ बाबा, कस्तो छ ? डिड यु स्लिप वेल ?’

‘कस्तो न्यानो शब्द !’ मनमा यस्तै केही कुरा आयो । एकै रातमा मानौँ मैले मेरो जीवनको पुरानो साथी फेला पारेँ । उसका हरेक शब्दले मेरा सबै पीडा, दुःख सबैसबै जादुले छुमन्तरझैँ गरिदियो।
मैले उसलाई जवाफमा लेखेँ, ‘गुड मोर्निङ । आइ एम् फिलिङ गुड।’
०००

केही समयभित्र हामी घनिष्ठ भइसकेका थियौँ । सरितालाई मैले नलुकाई सबैथोक भनेकी थिएँ। उसले पनि एउटा स्कुलमा काम दिलाइदिई । अब मेरा केही काम थिए । स्कुल जानु, नानीहरुलाई पढाउनु, अनि आफ्नो पढाइलाई निरन्तरता दिँदै बेलुकी होस्टल फर्किनु र राति अबेरसम्म विकाससँग मोबाइलमा कुराकानी गर्नु । पढाइ रोकिन नदिन आफ्नो लक्ष्य पूरा गर्न मैले कम्मर कसेँ । अधिकांश अवस्थामा उसको फोन रोमान्सको एउटा पाटो भन्दा पनि मेरो ट्युसनमा परिणत हुन्थ्यो । साथै मलाई अगाडि बढ्न प्रेरित गर्यो।

कहिलेकाहीँ सोच्थेँ– कोही मानिस किन यत्ति धेरै सहयोगी हुन्छ ? किन अरुको बकवासका कुराहरु बिना झिँजो सुनिरहन्छ ?

ऊ भन्थ्यो, ‘जीवनलाई सहज बनाउनुपर्छ, त्यस्तो भयो भने बाँच्न गाह्रो हुँदैन।’

र, उसले सहज बनाउन पनि उत्तिकै भूमिका खेल्थ्यो पनि !

यत्तिका समय बितिसक्दा पनि उसको र मेरो प्रत्यक्ष भेट भएको थिएन । भेट्ने इच्छा पनि थिएन । कतै मेरो कल्पनाको व्यक्ति र वास्तविक विकासमा आकाश–जमिनको फरक भइदियो भने ? ऊ के गर्छ मलाई थाहा थिएन र जे गर्छ, त्यो मलाई मन परेन भने ? ऊ जीवनप्रति सकारात्मक हुन सिकाउँथ्यो तर ऊ स्वयं नकारात्मक जीवन पो बाँचिरहेको छ कि ?

ऊ कुन उमेरको हो ? परिवारमा को–को छन् ? केही थाहा थिएन मलाई । तर पनि ऊ मेरो खुसी, सुख, मेरा आशा सबैथोक बन्न पुगेको थियो । कसैसँग नजिक हुनु, कसैको सन्तोषको लागि चौबिसै घण्टा सोच्नु, एक छिन पनि कुरा नहुँदा युग बितेको जस्तो अनुभव हुनु, उसको स्वरको सानिध्यताको आशाबाहेक अरु कुनै मोह नहुनु, कस्तो जीवन बाँचिरहेकी छु म भन्ने मलाई लाग्थ्यो ।

हरेक क्षण उसकै म्यासेजको प्रतीक्षा र अनुहारै नदेखे पनि यत्ति नजिक भइँदोरहेछ भन्ने मलाई थाहा हुँदै गयो । एक दिन कुरा नगर्दा दुवैको मन साह्रै दुःखी हुँदोरहेछ भन्ने पनि बुझ्न थालेँ मैले । त्यसैले एकअर्कालाई चित्त नबुझ्ने कुनै काम हामीले कहिल्यै गरेनौँ । यसैगरी मोबाइल म्यासेजबाट हामी नजिक हुँदै मायामा डुबिसकेका थियौं । हाम्रो मायामा खाली सोच, भावना अनि एकअर्का प्रतिको सम्मान र समर्पण थियो । ईश्वरले बनाएको मायाको जोडी थियौं हामी ।
०००

विस्तारै समय बित्दै गयो । हेर्दाहेर्दै मैले मास्टर्स सकेँ र ऊ पनि एमबिबिएस डाक्टर बन्यो । ऊ टिचिङ हस्पिटलमा काम गरिरहेको थियो।

विकासः गुड मोर्निङ, बाबा ।

मेरो मन रमायो । तुरुन्तै म्यासेज फर्काएँ ।

विकासः तिमी र म भावना र विचारले नजिक भयौँ । अब हामी एकअर्का बिना धेरै अगाडि बढ्न  सक्दैनौं । त्यसैले भेटौँ न ।

मेरो मुख रातो भयो । मुटुको धड्कन बढ्यो । आफूले त्यति सम्मान र माया गरेको मान्छेले मुख फोरेरै हेर्न मन गरेको छ । यत्तिका वर्षको तपस्यापछि मैले उसलाई हेर्न पाउने भएँ । तर भेट्ने कहाँ ?

उसको जवाफ आयोः पशुपतिको आरतीमा । पहिलो पटक मैले तिमीलाई त्यहीँ देखेको थिएँ ।
के उसले मलाई देखेको थियो ? त्यही भएर ऊ मेरा सामु आउन खोजिरहेको थिएन ?
मैले जवाफमा यत्ति मात्र लेखेँः हवस् । साँझ सात बजे ।
०००

उसले मलाई धेरै वर्षअघि देखेको हुँदो हो । त्यसपछिका कयौँ दिन पनि लुकीछिपी हेरेको हुँदो हो । ऊ म हिँडेको, बोलेको, ऊसितै हाँसेको पनि चियो गरिरहेको हुँदो हो । म भने बेफिक्री भएर ती सारा कुरालाई पन्छाएर कल्पनाको विकासमै रमाइरहेकी थिएँ ।

मेरो कल्पनाको विकास हेन्डसम थियो । बोली त त्यसै पनि मीठो भइहाल्यो, जसमा म आर्कषित भएकी  थिएँ । एउटा शिष्ट र भलाद्मी युवक !

साँझ म पशुपति पुग्दा हरेक हेन्डसम केटाहरुलाई विकासका रुपमा कल्पना गर्थें र आशालु नजरले तिनलाई हेर्थें । तिनले मलाई कुनै भाउ दिँदैनथे र घरिघरि म तर्सन्थेँ– कतै मेरो कल्पनाको विकास र वास्तविक विकासको तालमेल मिल्दैन कि ? जस्तो होस्, जुन रुपको होस्, मैले त उसलाई पहिलो दिनको म्यासेजबाट नै शिवजीले मेरा लागि पठाएको उद्धारकर्ता ठानेकी थिएँ । मेरो जीवनसाथीकै रुपमा मान्न थालेकी थिएँ । विकासले चाहिँ मेरो रुप मन नपराएर खाली साथी मात्र भन्यो भने ? के म यो पीडा खप्न सकूँली !

जीवनमा त्यो दिनजस्तो मैले कहिल्यै आफूलाई शृङ्गार गरेकी थिइनँ । यत्ति विधि कहिल्यै रम्रिएकी पनि थिइनँ । मैले किनेको लुगा पनि उसलाई मनपर्ने कलरको छानेकी थिएँ ।

पशुपतिमा आरतीको मध्य अवस्थामा थियो । यत्तिकैमा कसैले मलाई गम्लङ्ग अँगालो हाल्यो । म तरङ्ग भएर तर्सिएँ र झट्ट अलि पर सरेँ । फरक्क फर्केपछि मैले अरु केही देखिनँ र मेरो हात सिधै छेउको मानिसको गालामा थप्पड मारेँ ।
‘आम् सो सरी बाबा !’

यो चिनेको स्वर थियो । मैले के गरेँ यो ? मैले विकासको अनुहार सिधै हेर्न सकिनँ । म लाजले पानीपानी भएँ । बरु उल्टै विकास लजायो, भन्यो, ‘मैले तिमीलाई सरप्राइज दिन खोजेको थिएँ तर...,’ यत्ति भनेर ऊ अड्कियो।

मैले आफूलाई रोक्नै सकिनँ । भित्रको पीडा आँखाबाट उर्लिन थाल्यो र घुँक्कघुँक्क रुन थालेँ। विकासले सुरुमा मेरो हात समायो र विस्तारै सहजतापूर्वक अँगालो हाल्यो । सेतो–खैरो सुइटरको भुवाले मेरो अनुहारलाई थोरै बिझायो तर त्यो भन्दा टड्कारो उसको शरीरको सुवासले मलाई आश्वस्त पार्यो।

विकासले बिस्तारै मेरो अनुहार उठायो। पुलुक्क उसतिर हेरेँ। चश्मा लगाएको, गोरो र म भन्दा अग्लो केटो अचानक मेरै विकासजस्तो लाग्यो।

त्यो दिन हामीले बाहिरै खाना खायौँ र आ–आफ्नो बासतिर लाग्यौँ ।

कहिलेकाहीँ कल्पना र वास्तविकता कति नजिक बन्न पुग्छ, सायद भाग्य भन्नु नै त्यही हुँदो हो ! विकास त्यति सुन्दर होला भन्ने मेरो कल्पनामै थिएन । कल्पना गरेभन्दा सुन्दर ! सोचेभन्दा उज्यालो ! मैले आफूलाई भाग्यमानी सम्झिएँ ।
राति म गहिरो निद्रामा परेँ, झल्याकझुलुक विकासलाई नै देखेँ । बिहान विकासको म्यासेजले नै मलाई उठायो ।
‘गुड मर्निङ बाबा,’ उसले लेखेको थियो, ‘मेरो एउटा इच्छा पूरा गरिदिन्छ्यौ ? हामी पशुपतिलाई साक्षी राखेर यही मंसिरमा विवाह गरौँ अर्थात् दुई हप्तापछि ।’

एकै पटक उसको पाँच–सात वटा म्यासेज नोटिफिकेसनले म झसङ्ग भएँ ।
विकासः नक...नक...
विकासः विशु बाबा...
विकासः आज तिम्रो औँठीको नाप चाहिएको थियो। तिमी कुन बेला फ्री हुन्छ्यौ ?
मैले भोलि बेलुकीको समय दिएँ र मुस्कुराएँ। अचानक मेरो हात प्रार्थनाको अवस्थामा पुग्यो र मैले मन्त्रोच्चारण गर्दै भनेँ, ‘हे पशुपतिनाथ, तिमीलाई मेरो नमन छ। मेरो जीवनमा कालो बादल कहिल्यै नलागोस् ! तिमीले म एउटी अबलालाई गर्नुसम्मको प्रेम गर्यो‌ं। यो कहिल्यै नटुटोस्, नछुटोस्। विकास नामको जुन खुसी मेरो पोल्टामा हालिदिएका छौ, मेरो जीवन रहुञ्जेल त्यसलाई सुम्सुम्याइरहन पाऊँ।’ aakriti72@gmail.com

प्रकाशित: २३ मंसिर २०७५ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App