coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

क्रिकेट–क्रान्ति

सन् २०१६ मा क्रिकेटको सर्वोच्च संस्था आइसिसीले एउटा यस्तो कुरा उठायो जसले क्रिकेट जगत्मा केही हदसम्म चर्चा बटुल्यो।  आइसिसीले नयाँ एक दिवसीय क्रिकेट लिगको कुरा उठाएको थियो जसमा क्रिकेटका उत्कृष्ट १३ मुलुकले भाग लिने थिए र जसले एकदिवसीय क्रिकेटलाई नयाँ आधार र सन्दर्भ प्रदान गरिदिने थियो। १० टिमको कुरामा खासै विवाद थिएन किनभने टेस्ट मान्यता प्राप्त शीर्ष १० टिमहरू त्यसमा स्वतः सामेल हुने थिए तर बाँकी ३ टिमको कुरामा भने अफगानिस्तान र आयरल्यान्डपछि नेपालको नाम लिइयो। हुन त नेपाललाई त्यसमा सामेल गर्ने कुरा एउटा विकल्पको रूपमा मात्र प्रस्तुत गरिएको थियो, जसलाई वरियताक्रममा रहेको तेह्रौँ टिमले विरोध गर्ने त स्वाभाविक नै थियो तर पनि आइसिसीले नेपालमा क्रिकेट खेलको लोकप्रियतालाई दृष्टिगत गरेर नेपालका लागि त्यो स्थान सुरक्षित गर्न तत्पर रह्यो। यो कुरा त्यतिकैमा सेलाई गयो र पछिल्ला दिनहरूमा (सन् २०१६ तिरै) आइसिसीद्वारा नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यानलाई आइसिसीको नियम उल्लंघन गरेको अभियोगको आधारमा निलम्बन नै गर्नुपर्ने अवस्थाको सिर्जना पनि भयो। हालै आइसिसीको भावी टुर कार्यक्रम (एफटिपी) सम्पन्न भएको छ र नेपालको एकदिवसीय क्रिकेटले मूर्त रूप पाएको छ। त्यही लिगको आधारमा २०२३ को विश्वकपको क्वालिफिकेसन पनि तय हुने भनिएको छ। कुनै बेला आइसिसीले निकै समर्थन गरेको नेपाललाई अहिले ठाउँ दिइसकिएको छैन, क्यान अझै निलम्बित नै छ र आइसिसी एकदिवसीय क्रिकेटको वरियताक्रममा नेपाल हालको अवस्थामा शीर्ष सोह्रभित्र पनि पर्दैन।

तर यी सब विगतका कुराहरू हुन्, यिनलाई दोष र चर्चाको विषय नबनाई क्रिकेट खेल सम्बन्धित आजका अख्तियारी प्राप्त निकायहरू एवं सरोकारवालाहरू सबैले यसबाट पाठ मात्र सिक्न सके आगामी दिनहरू अवसर र सफलताका हुनेछन् भन्ने कुरामा विवाद छैन। खुसीको कुरा त के छ भने, आजको दिनमा नेपालमा क्रिकेट खेलको लोकप्रियता जीवन्त नै छ, अझ भन्ने हो भने, क्रिकेटको लोकप्रियता बढ्दो क्रममा छ र यहाँका केटाकेटीहरूमा समेत क्रिकेटप्रतिको रुचि उल्लेखनीय देखिन्छ। आज विश्वमा क्रिकेट खेल एक उदाउँदो खेलका रूपमा प्रस्तुत हुँदै छ, जसले उत्कृष्टभन्दा उत्कृष्ट प्रायोजकहरूलाई पनि आफूतर्फ आकर्षित गर्दै छ। उदाहरणका रूपमा नेपालमा भइरहेको प्रिमियर लिगलाई लिन सकिन्छ :

आजको दिनमा नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो छ, यहाँका केटाकेटीहरूमा क्रिकेटप्रतिको रुचि उल्लेखनीय छ।

नेपालका प्रायः सबै छिमेकी राष्ट्रहरू अब क्रिकेटमा एक स्थायी स्तम्भका रूपमा खडा हुँदै छन् र विश्वभरमा यो खेलको लोकप्रियताले कुनै बेलाको बेलायती साम्राज्यको सीमा नाघ्दै छ। यस्तोमा, नेपालमा पनि एकीकृत रूपले, सबैको समझदारी र सहकार्यको आधारमा नेपाली क्रिकेटको सुन्दर सपना देख्न र पूरा गर्न लागि पर्न थालियो भने त्यो सपना छोटो समयमा नै साकार हुने कुरामा हामी विश्वस्त हुन सक्छौँ। नेपालमा क्रिकेट खेलसँग सम्बन्धित अख्तियारी भएका निकायहरूबाट आज एउटा प्रमुख पक्षमा समझदारी, सहकार्य र पहल हुन सके, आउँदो दिनहरूमा खेलप्रतिको प्राविधिक लगायत विद्यमान कमी–कमजोरीहरूको सुधारमा ध्यान केन्द्रित गरी एउटा दीगो तथा स्थिर प्रणाली विकासका साथ अगि बढ्न सकिन्छ जसले अवश्य पनि सफलतातर्फ लैजाने नै छ। अख्तियारी प्राप्त निकायहरूबाट के–के गर्न सकिन्छ लगायत आजको दिनमा तिनको जिम्मेवारी के हो भनेर हेर्नु पूर्व एकपल्ट खेल र खेलाडी विकासको निम्ति तत्काल प्रयोगमा ल्याइनुपर्ने एक दीगो र स्थायी प्रणालीतर्फ ध्यान केन्द्रित गरौँ।  

साधारणतः कुनै पनि खेलमा उत्कृष्टता हासिल गर्न दुई थरीका कुराहरू चाहिन्छन्ः पहिलो त त्यस खेलसम्बन्धी नवीनतम प्रणालीबाट सही सामान्य प्राविधिक ज्ञान एवं सीप र दोस्रो मानवीय गुणहरू याने, साहस, आत्मविश्वास, विषयप्रतिको अत्याधिक लगाव, जित्ने एवं संघर्ष गरिरहने भोक र कठोर मानसिकता। हामी क्रिकेट अथवा जुनसुकै खेलमा पनि सफलता हासिल गरेका व्यक्ति अथवा टोलीहरूलाई विश्लेषण गरी हेर्न सक्छौँ, हामी उनीहरूमा यिनै कुराहरू पाउछौँ। नेपालमा पनि क्रिकेट खेलमा आकांक्षी नेपाली बालबालिका, युवा एवं व्यावसायिक क्रिकेट खेलाडीहरूका निम्ति माथि उल्लिखित पक्षहरू विकास गर्नको निम्ति उचित वातावरण निर्माण गर्न सकिए, उनीहरूको एवं नेपाली क्रिकेटको निम्ति त्यो नै सफलताका लागि सबभन्दा उपयुक्त माध्यम हुने थियो। यो यथार्थ बुझेर, सन् २०१३ मा नेपालका तत्कालीन प्रशिक्षक पुबुदु दस्सानायकेको परिकल्पनाका रूपमा नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानद्वारा एक ‘नेसनल क्रिकेट एकेडेमी’को थालनी गरिएको थियो। सो एकेडेमीले विशेष प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने सोच बनाएको थियो जसले टेकनिक, फिटनेस, शारीरिक अवस्था र प्रविधिको प्रयोगमा ध्यान पु¥याउने थियो। अझ, नियमित तालिम, पुनर्सुधार र मनोवैज्ञानिक काउन्सेलिङको माध्यमबाट नेपाली क्रिकेटका सुनौला दिनहरूका लागि पूर्वाधार तयार गरिएको थियो। त्यसमा डाटा एवं भिडियो विश्लेषण जस्ता नवीनतम प्राविधिक प्रणालीको पनि व्यवस्था गरिएको थियो। त्यस परियोजनामा राष्ट्रिय खेलकुद परिषद्ले पनि आफ्नो उत्सुकता जाहेर गरेको थियो। तर आजको दिनमा त्यही एकेडेमीलाई नियालेर हेर्दा, त्यो एकेडेमीलाई क्रियाशील पाइँदैन। न त्यसमा केही सुधार भएका छन् न त्यसले सोचेअनुरूप आगाडि बढेर आफूले दिनुपर्ने फल दिन सकिरहेको छ। तर फेरि, यो सन्दर्भमा पनि, त्यस्तो दूरदर्शी परियोजना को–कस्का कारणले किन अगि बढ्न सकेन भनेर दोष खोजी विगतका घाउ कोट्याई वादविवाद गरेर केही उपलब्धि हासिल हुनेछैन भन्ने कुरा स्वीकार्नु जरुरी छ। सकारात्मक मनोवृत्तिसहित अख्तियारी प्राप्त निकायहरू, अन्य संस्था एवं बुद्धिजीवीको साथ, समर्थन र सहयोग लिई, एकीकृत भई, सँगै आगाडि बढेमा त्यही एकेडेमीले नै नेपाललाई क्रिकेटको जगत्मा थोरै समयमा नै स्तम्भका रूपमा खडा गरिदिन थाल्नेछ।  किनभने त्यस एकेडेमीको परिकल्पना नै विश्व स्तरीय नेपाली क्रिकेट खेलाडी निर्माण गर्नुको सेरोफेरोमा घुमेको थियो।   

कुनै बेला आइसिसीले निकै समर्थन गरेको नेपाललाई अहिले ठाउँ दिइसकिएको छैन, क्यान अझै निलम्बित नै छ र आइसिसी एक दिवसीय क्रिकेटको वरियताक्रममा नेपाल हालको अवस्थामा शीर्ष सोह्रभित्र पनि पर्दैन।

यी कुरा गरेपश्चात्, नेपालको सर्वोच्च क्रिकेट निकायका रूपमा स्थापित गरिएको क्यानप्रति विशेष ध्यानाकर्षण गर्नु जरुरी रहेको छ, किनभने एक सक्रिय, प्रभावशाली, जिम्मेवार क्रिकेट निकायविना त्यस्तो मजबुत एकेडेमी निर्माण हुने र यदि निर्माण भए भने पनि दीगो हुने देखिँदैन। एकेडेमीको कुराबाहेक, मुलुकमा क्रिकेट खेलको विकास, लोकप्रियताको निम्ति प्रचार–प्रसार एवं अन्तर्राष्ट्रिय सहकार्य निर्माणका निम्ति पनि क्रिकेट खेलको विशेष र सर्वोच्च निकाय अपरिहार्य रहन्छ। नेपालमा त्यस्तै निकायका रूपमा सन् १९५६ मा नै क्रिकेट असोसियसन अफ नेपाल (क्यान) को स्थापना गरिएको थियो जसले सन् १९८८ मा विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीको अफिलियट सदस्यता पाएको थियो भने सन् १९९६ मा असोसियट सदस्यता पाएको थियो। तर त्यही निकाय हालका दिनहरूमा आइसिसीको सदस्यताबाट निलम्बित अवस्थामा छ।  आइसिसीले क्यानलाई निलम्बन गर्नुको कारण क्यानले उसको नियम उल्लंघन गरेको हुनाले हो भनी बताएको थियो जसअनुसार कुनै पनि राष्ट्रको क्रिकेटको सर्वोच्च निकायमा सरकारी हस्तक्षेप हुन पाउँदैन र निकायको पद वहालीमा स्वतन्त्र र निष्पक्ष चुनाव हुनुपर्छ। क्यानमा यिनै नियमावली तोडिएको हुनाले आइसिसी असन्तुष्ट भएको थियो र ऊ नेपाली क्रिकेटमा आफ्नो भावी सोच र योजना हुँदाका बाबजुद क्यानलाई निलम्बन गर्न बाध्य भएको थियो। अबको पहलमा अख्तियारी प्राप्त निकायहरू संघीय सरकार, सरकारको युवा तथा खेलकुद मन्त्रालय र मुख्य जिम्मेवारी गहनकर्ता राष्ट्रिय खेलकुद परिषद् सशक्त भई अगि बढ्न जरुरी रहेको छ। तत्कालै क्यानलाई आइसिसीको पुनः मान्यता प्रदान गराउन ती निकायहरू एकीकृत भएर अन्य भित्रका तथा बाहिरका संस्थाहरूको समर्थन एवं सल्लाह लिई अग्रसर नभएसम्म नेपाली क्रिकेटको कुनै पनि भावी योजनाले सफलता हासिल गर्ने छाँटकाँट देखिँदैन।

कुनै पनि अन्तर्राष्ट्रिय मामिला सम्मिलित संयुक्त मुद्दामा अन्तर्राष्ट्रिय मापदण्ड पु-याउनु पर्छ भन्ने कुरामा पनि लापरबाही गर्न मिल्दैन। लापरबाही गरिएको खण्डमा पहिचान गुम्न धेरै समय लाग्दैन जसको उदाहरण हामीले देखी र भोगी पनि सक्यौँ। क्रिकेटमा पनि त्यही लागू हुन्छ। अब, सकभर छिटोभन्दा छिटो आइसिसीको मापदण्ड बमोजिम क्यानलाई पुनः सजीव पार्न जरुरी छ। त्यो जिम्मेवारी माथि उल्लिखित अख्तियावालाहरूको काँधमा आइपुगेको छ। नयाँ ढंगबाट क्यानलाई आगाडि बढाउने हो कि, क्रिकेटको नयाँ सर्वोच्च निकाय बनाउने हो, यो उनीहरूले लिने फैसला हो। त्यसपश्चात् ‘नेसनल क्रिकेट एकेडेमी’लाई सजीव पारी सो एकेडेमीको लक्ष्यअनुरूप एकेडेमीलाई अगाडि बढ्न दिनुपर्छ।       

नेपाली क्रिकेट तथा क्रिकेटमा नै खुसी हुनुपर्ने कुराहरू पनि थुप्रै छन्। छिमेकी राष्ट्रहरूको सफलतालाई आत्मसात् गरेर उनीहरूबाट सक्दो सहयोग लिन सकिए त्यो पनि राम्रै बाटो रोजिएको हो भन्ने बुझ्नुपर्छ। तर ती सब कुराहरू गर्नुपूर्व ‘नेसनल क्रिकेट एकेडेमी’को सजीवतालाई ध्यानमा राख्दै, क्रिकेटको माध्यमबाटै सपना बुन्न थालेका बालबालिका तथा युवाहरूलाई ध्यानमा राख्दै, आइसिसीको सामान्य मापदण्डअनुसार नै अग्रसर हुने एक जिम्मेवार, प्रभावशाली एवं सर्वोच्च निकायले तत्कालै मूर्त रूप प्राप्त गर्नुपर्छ। फेरि पनि, त्यो पूरा गर्ने जिम्मेवारीमाथि उल्लिखित सरोकारवालाहरूको नै हो।

अन्तर्राष्ट्रिय लोकप्रियताको लहर यता नेपालमा पनि चाँडै नै आई नै हाल्नेछ र त्यही लहरले नै विभिन्न निजी निकाय तथा अन्य संस्थाहरूलाई क्रिकेट आकांक्षीको आकांक्षालाई च्याप्प समातेर केही बीजारोपण गराइ नै हाल्नेछ। त्यस्तोमा अप्ठेरोको वातावरण हुनु हुँदैन, योजनाहरूमा रोकावट हुनु हुँदैन। माथिल्लो तहको अगुवाइमा तत्कालै यति भइदिए सबैलाई साझा रूपले अघि बढ्न सजिलो हुनेछ, समय थोरै लाग्नेछ र शक्ति झनै जुट्नेछ। यसपश्चात् नेपाली क्रिकेट चुपचाप आफ्नो बाटो लाग्नेछ, आउँदो केही सालभित्रै नेपाललाई आइसिसीको टेस्ट मान्यता प्रप्त मुलुकसम्म पु-याउने बाटो!

प्रकाशित: २३ मंसिर २०७५ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App