७ वैशाख २०८१ शुक्रबार
विचार

मिडियाको नुहेको उदास अनुहार

आफ्ना वरिष्ठ सम्पादक जिम अकोस्टाको प्रेस परिचय पत्र निलम्बन गरेको विरोधमा संयुक्त राज्य (संरा) अमेरिकी मिडिया सिएनएनले राष्ट्रपति कार्यालयविरुद्ध मुद्दा दायर गर्ने निर्णय ग-यो। संरा अमेरिकामा अधिकांश मानिस सिएनएनको पत्रकारको पक्षमा उभिएका छन्।

यस्तो घटना भारतमा हुने कतिको सम्भावना छ ? सन् १९७५ देखि ७७ सम्म भारतमा इन्दिरा गान्धीले संकटकाल लागू गरेकी थिइन्। त्यतिबेला प्रेस तथा वाक् स्वतन्त्रता निलम्बन गरिएको थियो। लालकृष्ण आडवाणीको शब्दमा भन्दा त्यतिबेला भारतका मिडियालाई निहुरिन मात्र भनिएको थियो, तर भारतीय मिडिया त पूरा लम्पसार परेका थिए। आडवाणीको यो भनाइ निकै चर्चित बन्यो।

भारतमा अधिकांश पत्रकारहरू वास्तवमा स्वतन्त्र छैनन्, बरु मालिकका औँलामा नाच्छन्। अनि त्यो मालिकले राजनीतिक नेतासामु घुँडा टेकेको हुन्छ।

सन् २०१४ मा वरिष्ठ पत्रकारहरू राजदीप सरदेसाई र सागरिका घोसले सिएनएन–आइबीएन(आजभोलिको सिएनएन न्युज १८) छोडे। प्रधानमन्त्री नरेन्द्र मोदीका कान मानिएका मुकेश अम्बानीले त्यो च्यानल किनेपछि उनीहरूले त्यहा“बाट बिदा हुने निर्णय गरेका थिए। सन् २००२ को गुजरात दंगाको विषयमा सरदेसाईले ज्यादै पेचिलो प्रश्न सोधेकाले प्रधानमन्त्री मोदी उनीसँग रिसाएको बताइएको थियो। मिडिया क्षेत्रबाट कुनै प्रकारको विरोधको मधुरो स्वर पनि सुनिएन।

इन्डिया टुडे टिभीमा प्रसारण हुँदै आएको करण थापरको टिभी सो प्रशासनले निरन्तरता दिएन। थापरले मोदीसँग अन्तर्वार्ता लिने क्रममा उनीसँग प्रधानमन्त्री रिसाएको कुरा सबैलाई थाहा थियो।

सरकारमाथि व्यङ्ग्य गरिएका कार्टुनमाथि धेरै असहमति आएपछि मेल टुडेले कार्टुनिस्ट सतिस आचार्यलाई पत्रिकालाई उनको आवश्यकता नभएको जानकारी गराइयो। फेरि पनि कुनै आवाज उठेन।

पुण्य प्रसुन बाजपेई र मिलिन्द खण्डेकरलाई राजनीतिक दबाबका कारण एबिपी टिभी च्यानलबाट निष्काशन गरियो। त्यसको विरोधमा केही आवाज उठे तर विरोधको कुनै सुनुवाइ भएन। जे भयो, स्वीकारियो।

धेरै मानिससँग एउटा प्रश्न छ– सिएनएनले गरे जस्तै भारतीय मिडियाले कुनै सहासिलो कदम किन उठाउन सक्दैन ? यसबारे मेरो विचार यस्तो छ :
१) संरा अमेरिका वा अरु कुनै विकसित देशहरूमा जस्तै भारतमा जनताको मत त्यति बलियो छैन। भारतमा अधिकांश मानिस सत्तासँग तरबार जुधाउन चाहँदैनन्।

यसको एउटा उदाहरण पेस गर्छु, भारतमा वास्तवमै संकटकाल भएर होइन बरु आफ्नो सत्ता जोगाउन सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लागू गरिन। सबै मौलिक अधिकार निलम्बन गरियो। मिडियामाथि कडा सेन्सरसिप थोपरियो। जनस्तरबाट मुस्किलले विरोध भयो। अधिकांश मानिसले चुपचाप स्वीकारे। सहासिला रामनाथ गोयन्का र उनको इन्डियन एक्सप्रेस गु्रप मात्र यसको अपवाद रहे। जसको मूल्य उनले चुकाउनुप-यो।

यस्तै घटना संरा अमेरिका वा युरोपमा भएको भए त्यहा“ ठूलठूला आन्दोलन र प्रतिरोध हुने थियो।

 २) भारतीय र पश्चिमा देशका मिडिया दुवैका मालिक व्यापारीहरू नै हुन्। तर पश्चिमा व्यापारीहरू प्रायशः राजनीतिक नेताहरूसमक्ष कहिल्यै घुँडा टेक्ने गर्दैन। बरू पश्चिमा देशहरूमा राजनीतिक नेताहरू व्यापारीसमक्ष झुक्ने गर्छन्।

यसका धेरै कारण छन् :
प्रथमतः, भारतमा कोही व्यापारीले सत्तासीनलाई चिढाए नेताहरूले केन्द्रीय अनुसन्धान विभाग, कर तथा भन्सार कार्यालय वा प्रहरी प्रशासनको काउछो लगाइदिने गर्छन्। सर्वोच्च अदालतले भनेजस्तै ती सरकारी कार्यालयका कर्मचारी भनेका ‘पिँजडाभित्रका सुगा’ हुन्। उनीहरू कहिल्यै राजनीतिक नेताहरूलाई चिढाउने गर्दैनन्। अझ कतिपय अवस्थामा त उनीहरूले बरु झुटा प्रमाणसमेत बनाएर नेताहरूलाई खुसी बनाउने गर्छन्।

अर्कोतिर पश्चिमा देशहरूमा कर्मचारीहरू थप व्यावसायिक वा पेसाप्रति इमानदार हुन्छन्। उदाहरणका लागि, डोनाल्ड ट्रम्पले सङ्घीय अनुसन्धान विभाग वा आन्तरिक कर सेवा कार्यालयलाई सिएनएनमाथि कारबाही गर्न आदेश दिएको अवस्थामा पनि ती कार्यालयले त्यसो गर्ने थिएनन्।

दोस्रो, अधिकांश भारतीय मिडियाले अरू धेरै व्यापार पनि सँगसँगै चलाइरहेका हुन्छन्। उनीहरूका अखबार वा टिभी च्यानल भनेका अरु व्यापार–व्यवसाय जोगाउने वा त्यहा“बाट प्राप्त हुने नाफा जोगाउने माध्यम मात्र हुने गरेका छन्। मिडियाभन्दा उनीहरूका ती व्यवसाय बढी नाफामूलक हुने गरेको छ।

तेस्रो, सन् १९४७ मा भारत उपनिवेशमुक्त भयो। तर अधिकांश भारतीय पत्रकारहरूमा अझै पनि उपनिवेशकालीन चिन्तन बाँकी नै छ। उनीहरू कोही मन्त्री वा भारतीय प्रशासनका कुनै अधिकारी (आफ्नो गोजीमा भएको बाहेक)आफ्नो सामू आएपछि करकलोको पातजतिकै गल्ने गर्छन्। त्यसकारण सिएनएनसँगजस्तै उनीहरूसँग सत्ताको विरोधमा लाग्ने हिम्मत छैन।

३) संरा अमेरिका र युरोपमा अधिकांश पत्रकारहरू जस्तै एन्डरसन कुपर, बब उडवार्ड, बारबारा वाल्टर्स, क्रिस्टियन अमनपुर, फरिद जकारिया र अरूहरू मिडियाहरूमा काम गर्ने भए पनि मिडिया गृहका मालिका सबै कुरा आँखा चिम्लिएर पछ्याउने गर्दैनन्। मिडियाका मालिकले बरु उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्छन्। त्यस्ता पत्रकारहरूको व्यक्तित्व शक्तिशाली हुने गर्छ। उनीहरू आफ्नै मूल्य–मान्यता हुन्छन् र व्यावसायिक मर्यादा हुने गर्छ। उनीहरूले आफ्ना मूल्य मान्यता र मर्यादा कायम राखेका हुन्छन्।

म अनुमान गर्छु, सिएनएनका मालिक टेड टर्नरले कुनै अनुभवी पत्रकारसँग जिम अकोस्टामाथिको घटनाबारे परामर्श लिएको हुनुपर्छ। अनुभवी पत्रकारले सिंगो संस्था जिमको पक्षमा उभिनुपर्ने र प्रथम संशोधन (प्रेस स्वतन्त्रता) अधिकारको रक्षाका लागि लड्नुपर्ने सल्लाह दिएको हुुनुपर्छ।

भारतमा सबभन्दा ठूला भनिएका मिडियाका मालिकले पनि यस्तो काम गर्न हिम्मत गर्नेछैन। भारतमा अधिकांश पत्रकारहरू वास्तवमा स्वतन्त्र छैनन्, बरु मालिकका औँलामा नाच्छन्। अनि त्यो मालिक राजनीतिक नेतासामु घुँडा टेकेको हुन्छ।

(लेखक भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। ‘द वायर’बाट नीरज लवजूद्वारा अनूदित।)

प्रकाशित: २३ मंसिर २०७५ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App