coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इजरायलबाट कामदार माग आउनै छाड्यो

काठमाडौं - सरकारले इजरायलमा केयर गिभर कामदारका रुपमा पठाउन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन्।

वैदेशिक रोजगार विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो। एक वर्षअघि पहिलो चरणमा ५९ र ६ महिनाअघि दोस्रो चरणमा ६० जनालाई विभागले छनोट गरेको थियो। यसमध्ये अहिलेसम्म ७८ जनामात्र इजरायल गएका छन्। बाँकी ४१ जना अलपत्र परेका हुन्। विभाग कर्मचारीका अनुसार इजरायलबाट माग नै नआएपछि छानिएका सबैलाई उडाउन सकिएको छैन।

पछिल्लो समय केयर गिभरको माग नै आउन छाडेकाले यो संकटमा परेको कर्मचारी बताउँछन्। ‘पाइलट प्रोजेक्ट’को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम सफल भएर ठूलो संख्याका युवायुवती रोजगारीका लागि इजरायल जान थाल्ने वैदेशिक रोजगार विभाग र इजरायली दूतावासबीचको समझदारी थियो।

‘आर्थिक र सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको इजरायलमा रोजगारीका लागि जान सहज होस् भनेर विभागको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेका थियौं,’ विभागका एक धिकारीले भने, ‘तर कार्यतालिका अनुसार इजरायलबाट केयर गिभरको माग नआउँदा छानिएका व्यक्तिहरु उड्न पाएका छैनन्। नयाँ कार्यक्रम पनि अघि बढ्न सकेको छैन।’

विभाग स्रोतका अनुसार नेपाली मेनपावरको अवरोधका कारण इजरायलबाट कामदारको माग नआएको हो। विभागका ती अधिकारीले भने, ‘इजरायलमा ठूलो संख्यामा केयर गिभरको माग रहे पनि इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका म्यानपावरको प्रलोभनमा परेर माग पठाउन नसकेका हुन्।’

केही वर्षअघिसम्म म्यानपावरले नै कामदार पठाउने इजरायलमा उनीहरूले बदमासी गरेपछि त्यहाँको सरकारले जिटुजी (दुवै देशका सरकारी निकायको सहभागिता) प्रक्रियाद्वारा मात्र केयर गिभर लैजाने निर्णय गरेको थियो। सोही निर्णय अनुसार दुई वर्षभित्र तीन सय युवायुवतीलाई केयर गिभरका लागि इजरायल लैजाने ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको थियो ।

उक्त कार्यक्रम अनुसार अघिल्लो वर्ष पहिलो चरणमा ५९ जना युवायुवती केयर गिभरको काम गर्न इजरायल उडिसकेका छन्। त्यहाँ गएका सबैले राम्रो क्षमता देखाएपछि ६ महिनाअघि विभागले दोस्रो चरणको कार्यक्रम थालेको थियो।  ‘दोस्रो चरणमा इजरायल उड्न विभागका तर्फबाट गर्नुपर्ने कुनै पनि काम बाँकी छैन,’ ती अधिकारीले भने, ‘तर उताबाट माग नआउँदा तयारी अवस्थामा रहेका युवायुवतीलाई पठाउन सकिएको छैन।’ महिनामा एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने र जाँदा (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने भएकाले पछिल्लो समयमा युवायुवतीले इजरायल रोजगारी निकै मन पराएका छन्।

केयर गिभरको तीन महिने तालिम लिएका युवायुवती सोही काममा लागि सक्षम हुने भए पनि केयरगिभरका लागि नर्सिङ, अनमी, अहेब अध्ययन गरेकाले समेत प्रतिस्पर्धा गरेका थिए। पहिलो चरणको केयर गिभरका लागि इजरायल जानेमा अधिकांश नर्स, अहेब, अनमी थिए। इजरायलमा केयर गिभरको काम वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नु हो।

विभाग स्रोतका अनुसार युवायुवतीका लागि निकै आकर्षक र सुरक्षित मानिएको केयर गिभरका लागि सरकारले नै युवायुवती पठाउन थालेपछि म्यानपावर सञ्चालक आत्तिएका हुन्। विभागका कर्मचारीका अनुसार ‘पाइलट प्रोजेक्ट’ सुरु हुँदा नै सरकारी तवरबाट सुरु गरिएको केयर गिभरलाई आफैं सुरु गर्ने प्रयास गरेका म्यानपावरले नेपालमा गरेको प्रयासमा सफलता प्राप्त नगरेपछि इजरायलमा छनोट भएका एजेन्टसँग सम्पर्क बढाएका हुन्।

‘सुरुको सम्झौता अनुसार इजरायलका अधिकारीले त्यहाँ केयर गिभरको थुपै्र माग रहेको बताएका थिए,’ एक कर्मचारीले भने, ‘कार्यक्रम सुरु भएको अर्को वर्ष नै माग नआउनु म्यानपावरको खेल हो।’ इजरायल सरकारले त्यहाँ चारवटा एजेन्टलाई कामदारको माग संकलन गर्ने जिम्मा दिएको बताइएको छ।

म्यानपावरले कामदार इजरायल पठाउने हो भने ८–१० लाख रुपैयाँसम्म लिने तर सरकारी तवरबाट जाँदा एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने बताइन्छ। इजरायलबाट माग आउन छाडेपछि छानिएका युवायुवती चिन्तित छन्। कतिपय भने अन्य काममा लाग्न थालेका छन्।

विभागका महानिर्देशक दिलीप चापागाईं इजरायलको रोजगारीसुचारु गर्ने प्रयास भइरहेको बताउँछन्। विभागका कर्मचारी समयमा उड्न नपाउँदा केयर गिभरका लागि छानिएका मध्ये एकजना सरकारी सेवामा प्रवेश गरिसकेका छन् भने अर्का एक रोजगारीका लागि युरोप गइसकेका छन्। जिटुजी प्रक्रियामा इजरायल जान पाइने आसमा १० हजारभन्दा बढीले तीन महिने तालिम लिएर नयाँ कार्यक्रम पर्खेको बताइन्छ। पहिलो चरणमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष केयर गिभरका लागि छनोट भएका थिए।

प्रकाशित: २३ मंसिर २०७५ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App