coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वारि अपराध, पारि आश्रय

लहान - घटना १–
जन्मदिनको पार्टीको बहानामा बोलाएर लहान नगरपालिका–११ स्थित भोटियाटोलको आँप बगैचामा दुई युवतीलाई सामूहिक बलात्कार गरियो। बलात्कृत लक्ष्मीपुर पतारीका १६ वर्षीया र २० वर्षीया किशोरीलाई चिनजानकै युवकले जन्मदिनको पार्टीमा बोलाएका थिए। कात्तिक २३ गते भाइटीकाको दिन जन्मदिनको भोज भन्दै बोलाइएका ती किशोरीलाई निम्तालुसहित सातजनाले बलात्कार गरेको आरोप छ।

राति १० बजे बलात्कारीलाई छक्याएर भागेकी २० वर्षीया किशोरीले नजिकैको गाउँमा पुगेर हारगुहार मागेपछि गाउँलेले इलाका प्रहरी कार्यालय लहानमा जानकारी गराए। लगत्तै घटनास्थल पुगेको प्रहरीटोलीले घटनास्थलबाट १६ वर्षीया युवतीलाई उद्धार ग-योे।

नेपाली भूमिमा अपराध गरेर भारत गई लुक्ने प्रवृत्तिले आरोपित/अभियुक्तलाई तत्काल पक्राउ गर्न अप्ठेरो परेको छ।

बलात्कारी भने भागिसकेका थिए। पीडित किशारीको बयानअनुसार लहान नगरपालिका–११ का हरिकान्त चौधरीले आफ्नो जन्मदिन मनाउन भन्दै घरमा बोलाएका थिए। हरिकान्तले उनीहरूलाई लिन अनिश चौधरी र सुनिल चौधरीलाई पठाएका थिए। ती किशोरीले आफूलाई जन्मदिनको भोजमा जाने भन्दै आँप बगैंचामा पु-याएर हरिकान्तसहित सातजनाले बलात्कार गरेको बयान दिएका छन्। आरोपित अझै पक्राउ पर्न सकेका छैनन्। आरोपित सातैजना सीमापारि (भारत) पुगेको प्रहरीको शंका छ।

घटना २–
कात्तिक २७ गते सुखिपर नगरपालिका–२ स्थित छजनाटोलमा २६ युवतीलाई सामूहिक बलात्कार गरियो। छठपर्वको दोस्रो दिन खरनाको ब्रत बसेकी ती युवतीलाई गाउँकै चार युवकले घरमै बलात्कार गरेको उजुरी परेको छ। महिलाले प्रतिकारका क्रममा दुईजना हातको औंलामा टोकिन तर चारजनाको अगाडि उनको जोर चलेन। उनी चिच्याए पनि गाउँमा डिजेको चर्को आवजले घरबाहिर सुनिएन।

भोलिपल्ट गाउँलेले घटनाको जानकारी पाए। बलात्कारी भनिएका युवक खोज्न गाउँले एकजुट भए। दुईदिनपछि गाउँलेले सोही वडाका ३० वर्षीय मोहमद समसुल र इसराफुल मियालाई पक्राउ गरेर प्रहरीलाई बुझाए। बाँकी दुई आरोपित सीमापारि पुगेकाले पक्राउ गर्न समस्या भएको छ।
                                     ....             ...                         ....

प्रदेश २ मा पर्ने सिरहामा साउनयता बलात्कारका २९ वटा घटना भएका छन्। यी उजुरी प्रहरीमा दर्ता भएका छन्। आरोपितमध्ये १० जना फरार छन्। उनीहरु सीमापारि गएर आश्रय लिएको आशंकामा प्रहरीले सुराकी परिचालन गरेको छ।

जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १५ सम्म प्रदेश २ मा बलात्कार (जबरजस्ती करणी) का १२० वटा उजुरी दर्ता भएका छन्। उजुरीमा आरोपितमध्ये १०३ जना पक्राउ परेका छन्। त्यस्तै प्रदेशभित्र जबरजस्ती करणी उद्योगका ६२ घटना भएका छन्। जबरजस्ती करण उद्योगमा संलग्न भएको आरोप लागेका ४३ जना फरार रहेको तथ्यांक छ। प्रदेश प्रहरी कार्यालयका प्रवतmा दानबहादुर थापाका अनुसार संख्यात्मक हिसाबले हेर्दा बलात्कारका घटनाको ग्राफ बढेको छ। फरार आरोपित पक्राउ गर्न प्रहरी संयन्त्र लागिपरेको थापाको भनाइ छ।

प्रहरीका अनुसार बलात्कारका मात्र होइन जघन्य अपराधका आरोपित पनि फरार छन्। कतिपय आरोपित सीमावर्ती भारतीय क्षेत्रमा लुकेको प्रहरी अधिकारी बताउँछन्। तराई–मधेसका सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायत जिल्लामा दण्डनीय काम गरेपछि भारतीय गाउँमा गएर लुक्दा पक्राउ गर्न समस्या पर्दै आएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवतmा डिएसपी माधवराज खरेल खुला सीमाका कारण यता (वारि) अपराध गरेर उता (पारि भारत) भाग्न सजिलो भएको छ। ‘घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा आरोपित फरार भैसकेका हुन्छन्,’ उनी भन्छन्, ‘सीमा पार गरेपछि हामीलाई सुराक पाउन अप्ठेरो र आरोपितलाई लुक्न सजिलो हुन्छ।’ आरोपित उता भारतमा निर्धक्क घुमफिर गरेको थाहा पाए पनि समातेर ल्याउन कानुनी रुपमा सहज छैन्। यही कानुनी जटिलताको फाइदा उठाउँदै नेपाली भूमिमा अपराध गरेको व्यक्तिले भारत गएर ‘सेल्टर’ लिने गरेको प्रहरी अधिकारी बताउँछन्। यसैगरी भारतीय भूमिमा अपराध गरेर नेपाल आएर लुक्ने प्रवृत्ति पनि छ। ‘खुला सिमानाले अपराधीलाई वारिबाट भागेर पारि तथा पारिबाट भागेर वारि आई लुक्न सजिलो भएको छ। सीमाक्षेत्रमा हुने आपराधका घटना रोक्न दुवैतर्फका सुरक्षाकर्मीको समन्वय आवश्यक पर्छ,’ खरेल भन्छन्।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक डिएसपी राजेश थापाका अनुसार नेपाली भूमिमा अपराध गरेर भारत गई लुक्ने र भारतमा अपराध गरेलगत्तै नेपाल आएर लुक्ने प्रवृत्तिले आरोपित/अभियुक्तलाई पक्राउ गर्न अप्ठेरो परेको छ। विभिन्न घटनाका आरोपितको विवरण पत्ता लागे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। यसको कारण हो– खुला सीमाक्षेत्र र भारतीय सुरक्षाकर्मीको भरपुर सहयोगको अभाव।

नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाबीचे नातासम्बन्ध छ। यो सम्बन्धलाई कतिपय अपराधीले दुरुपयोग गर्दै आएका छन्। अपराधीले नातेदारका घरलाई आश्रयस्थल बनाउँछन्। ‘नेपाली सीमागाउँ–सहरका अधिकांश मानिसको नातासम्बन्ध सीमावर्ती भारतीयसँग जोडिएको छ। भारतीय सीमावर्ती गाउँ–सहरका मानिसको नातासम्बन्ध नेपालका सीमावर्ती गाउँ–सहरका मानिससँग जोडिएको छ। नातासम्बन्धको यही आवरणमा अपराधीलाई लुक्न सजिलो भएको छ,’ सीमावर्ती बरियारपट्टीका दवेन्द्र यादवले भने। दुवैतिरका अपराधीले दसगजा क्षेत्रका नाता–कुटुम्बकहाँ आश्रय लिने उनको भनाइ छ।

‘वारि (नेपाल) मा अपराध गरेको केही घन्टामै पारि (भारत) ‘सेल्टर’ मा पुगिहाल्छन्, उताबाट अपराध गरेर केही समयमै लुक्न नेपाल आइहाल्छन्,’ यादव भन्छन्। सीमा काटेपछि अपराधीले आफूलाई सुरक्षित ठान्छन्। ‘नेपालका प्रहरीले पारि (भारत) गएर सहजै अपराधी÷आरोपितलाई पक्राउ गर्न मिल्दैन, यसका लागि कानुनी रित पूरा गर्नुपर्छ। भारतका प्रहरीलाई पनि यही जटिलता छ। यही कानुनी जटिलताले सीमावर्ती क्षेत्रमा अपराधीलाई नियन्त्रणमा लिन समस्या छ,’ यादव थप्छन्।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुरपत्तारीका प्रहरी निरक्षक रविभूषण यादवले भने, ‘नेपालमा अपराध गरेकोे केहीबेरमै लुक्न पारि भारत जान्छन्। पारि भारतका अपराधी पनि यस्तै गर्छन्, लुक्न नेपाल आउँछन्। यसले गर्दा अपराधी समात्न गाह्रो भएको छ।’

आरोपित तत्काल पक्राउ नपर्दा झन्झट
जघन्य अपराधका आरोपित/अभियुक्त तत्काल पक्राउ परे प्रहरीले अनुसन्धान बलियो बनाउन थप तथ्य–प्रमाण जुटाउन सक्छ। मिसिलमा प्रहरीले जति बलियो प्रमाण जुटाउन सक्यो पीडितलाई न्याय दिलाउन त्यति नै सजिलो हुन्छ। तर पक्राउ नपर्दा अनुसन्धान र प्रमाण जुटाउन समस्या हुन्छ। ‘पक्राउ गर्न जति ढिलो भयो पीडितलाई होस्टायल गराउने सम्भावना उति नै बढी हुन्छ। यसबाट पीडितलाई न्याय दिलाउन असहज हुन्छ,’ डिएसपी थापाले भने।

सुपुर्दगी सन्धि कार्यान्वयन नहुँदा भारतमा गएर लुकेका अभियुक्त÷आरोपित पक्राउ गर्न अप्ठेरो भएको सुरक्षा अधिकारीको अनुभव छ। अहिले पारस्परिक सम्बन्धका आधारमा नेपालबाट भारतीय अपराधी र भारतबाट नेपालका अपराधी पक्राउ गरेर ल्याइरहेको अवस्था छ।

‘सुपुर्दगी सन्धि भए कानुनी रुपमै पारि र वारिका अपराधी पक्राउ गर्न सजिलो हुन्छ,’ डिएपी थापा भन्छन्।

प्रकाशित: २३ मंसिर २०७५ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App