६ वैशाख २०८१ बिहीबार
समाज

महानगरको सफाईमा मन्त्री महासेठ

काठमाडौं– काठमाडौं महानगरपालिकाको ‘सहरी सौदर्य प्रवर्द्धन सघाउ अभियान’मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागी भएका छन्। मंसिर ८ देखि सुरु भएको अभियानअन्तर्गत शनिवार हातमा कुचो लिँदै मन्त्री महासेठ सरसफाइ गर्न सडकमा उत्रिएका हुन्। उनले अभियानमा मन्त्रालयको पनि साथ र सहयोग निरन्तर रहने बताए। 

‘महानगरपालिकाको अभियान उत्कृष्ट छ। तर, अहिले बन्दै गरेका भौतिक संरचना र त्यसका निर्माण सामग्री जथाभावी मिल्काउँदा सहरको सौर्दयीकरण बढाउन केही समस्या भएको छ।’ 

त्यसैगरी मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको गाडीको धुलोका कारण पनि महानगर फोहोर भएको भन्दै अब जेठ मसान्तसम्म सबै ठिक हुने दाबी गरे। ‘म तपाईंहरुसँग जेठ मसान्तासम्मको समय माग्छु। त्यो बेलासम्ममा कलंकी–नागढुंगाको बाटो पनि बनिसक्ने छ’, उनले भने, ‘त्यतिबेला सम्म काठमाडौं महानगरपालिका र हामी मिलेर आवश्यक प¥यो भने प्रदेश सरकारसँग पनि साथ लिएर महानगरपालिका सफा गर्ने छौं। यो मेरो प्रतिबद्धता पनि हो।’ 

मन्त्री महासेठले भित्री र बाहिरी दुवै सडकलाई व्यवस्थित बनाएमात्र परिणाम प्राप्त हुने भन्दै मौसम प्रतिकुलताले कलंकी नागढुङ्गा सडक निर्माण भइनसकेकोले धुँवाधुलो नियन्त्रणमा समस्या भएको बताए।  

‘सहरी सौन्दर्यीकरण बढाउन यो अभियानलाई निरन्तरता दिने तयारी गरेका छौं’, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अहिले धरहरा, दरवार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा ठूला–ठूला भौतिक संरचना निर्माण भैरहेका छन्। यी संरचनाका लागि आवश्यक निर्माण सामग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारहरुले पनि यति कुरामा मात्रै ध्यान दिने हो भने महानगर सफा राख्ने हाम्रो अभियान धेरै हदसम्म सफल हुने थियो।’ 

उनले अहिले पनि निरन्तर रुपमा महानगर सुन्दर बनाउने अभियानमा जुटेका भन्दै थप पाँच वटा ब्रुमर निकट भविष्यमै आउने तयारीमा रहेको बताए। उनले आफू निर्वाचित भएर आएको अवस्थाको भन्दा अहिले विस्तारै महानगरपालिका धुलोमुक्त हुँदै गएको र अब अझ सुन्दर र सफा महानगर हुने दाबी पनि गरे। मेयर शाक्यले अहिले पनि चाहेको जति काम हुन नसकेको भन्दै यसरी सरसफाई गर्ने कामलाई महानगरपालिकाले नियमित रुपमा अघि बढाउने बताए। 

उपमेयर हरिप्रभा खड्कीले पनि विकास जादूको छडी जस्तो नभएको भन्दै विस्तारै विकासको अभियान अघि बढ्ने बताए। उनले अब महानगरपालिका सरसफाई अभियानमा जुटेको दाबी समेत गरे।  

शनिबार दुई चरणमा सरसफाई अभियान सञ्चालन गरिएको थियो। शान्तिवाटिकाबाट मन्त्री महासेठ, मेयर शाक्य र उपमेयर हरिप्रभा खड्कीले सरसफाई अभियानको सुरुवात गरेको थिए। त्यहाँबाट सुरु भएको अभियान भोटाहिटी, जमल हुँदै महाराजगञ्जतिर अघि बढेको थियो। दोस्रो चरणको अभियान महाराजगञ्जबाट टिचिङ हस्पिटल हुँदै लाजिम्पाटतर्फ आएको थियो। 

यस क्रममा सडक पेटीमा रहेका ¥याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेसिनले सफा गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत, टेलिफोन तथा केवलका पोल तथा तार, खानेपानीका पाइप, निर्माणजन्य फोहोर हटाउने, सडकमा मार्किङ् गर्ने तथा मर्मत गर्ने काम भएका थिए। आजको सफाइका लागि ५ वटा जेट, २ वटा ब्रमुर, २ वटा स्काभेटर र ३ वटा फोहोर संकलन गर्ने सवारी साधनको प्रयोग गरिएको थियो।

प्रकाशित: २२ मंसिर २०७५ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App