coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

संकटाकाे संघर्षपूर्ण जित, पुलिस र शेर्पाकाे बराबरी

पुलिसविरूद्द हिमालयन शेर्पा ।

काठमाडाैं - विभागीय टोली नेपाल पुलिस क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। हलचोकस्थित एपिएफ मैदानमा सम्पन्न सातौँ चरणको खेलमा पुलिसले ३१औं मिनेटमा लिएको अग्रतालाई अन्तिम २० मिनेट कायम राख्न नसक्दा अंक बाँड्नुपरेको हो।

३१औं मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। अफसाइड भन्दै हिमालयनका रक्षकले छोडेको बललाई तेज तामाङले नियन्त्रणमा लिँदै उपलब्ध गराएको क्रसपासमा भरतले पुलिसको खाता खोलेका थिए। अग्रता लिए पनि हिमालयन शेर्पा हाबी बनेको खेलमा पहिलो हाफमा गोलका सुनौला अवसर सिर्जना गरे पनि टोली बललाई पोस्टको दिशा दिन असफल भयो।

१८औं मिनेटमा हिमालयनका त्रिदेभले दिएको क्रसबल विदेशी खेलाडी गोहा प्याट्रिकले पेनाल्टी बक्सभित्र फिनिसिङमा चुक्दा हिमालयनले सुरुआती अग्रता लिने अवसर गुमाएको थियो। २७औं मिनेटमा सुन्दर अवसर सिर्जना गरेको पुलिसका लागि कप्तान भोला सिलवालले पेनाल्टी बक्सभित्र गोल गर्ने अवसर गुमाए।

पहिलो हाफमा अधिकांश समय बलमा पकड जमाए पनि इन्जुरी समयमा हिमालयन गोल गर्नबाट चुक्यो। प्याट्रिकले विश्वास श्रेष्ठलाई उपलब्ध गराएको अनमार्क बललाई विश्वासले फितलो प्रहार गर्दा पुलिसले ३१औं मिनेट लिएको अग्रता छोट्याउन असफल बनेको थियो। पोस्टअगाडिको उक्त बललाई विश्वासले गोलपोस्टभन्दा निकै माथि प्रहार गरेका थिए।

बराबरीपछि पुलिसको ७ खेलबाट ११ अंक भएको छ। पुलिस लिगको पाँचाैं स्थानमा छ भने समान ११ अंक भएको हिमालयन शेर्पा एक स्थान तल छैटौं स्थानमा रहेको छ।

पहिलो हाफमा अग्रता लिएको पुलिसले दोस्रो हाफमा पनि सन्तुलित प्रदर्शन गर्न सकेन। ७०औं मिनेटमा हिमालयन शेर्पाका लागि विश्वासले गोल गर्दै खेल बराबरीमा ल्याए। बाँकी समयमा हिमालयनले जितको खोजीमा काउन्टर गरिरहे पनि बललाई जाली चुमाउन सकेन र पुलिससँग एक अंक बाँड्न पुग्यो। बराबरी गोल गर्नका लागि कर्नरमा रवि मगरको प्रहार पुलिसका गोलरक्षक अर्पण कार्कीको हातबाट फुत्किँदा विश्वासले चलाखीपूर्ण तरिकाले जाली चुमाए। स्पष्ट जित निकाल्ने उद्देश्यमा रहेको पुलिसले बाँकी समयमा गोल गर्नका लागि केही सुन्दर मौका बनाए पनि असफल हुँदा अंक बाँड्न बाध्य बन्यो।

अग्रता लिएको पुलिसले अन्तिम समयमा तालमेल मिलाउन नसक्दा अंक बाड्नुपरेको पुलिसका प्रशिक्षक अनन्तराज थापाले बताए।

‘टोलीले सन्तुलित प्रदर्शन गर्न सकेन। तालमेलको अभाव देखियो। युवा खेलाडी भएकाले विपक्षीको खेल नियाल्ने योग्यतामा कमी भयो,’ प्रशिक्षक थापाले भने, ‘यो लिग खेलाडीका लागि पाठ हुँदै छ। आउँदो लिगमा युवा टोलीमा राम्रो अनुभव हुनेछ र राम्रो गर्नेमा आशावादी छौं।’

हिमालयन शेर्पाका प्रशिक्षक सुभास लिम्बुले स्पष्ट जितका लागि आएको भए पनि रणनीति असफल भएको प्रतिक्रिया दिए।

‘पुलिसका दुई विंगर राम्रा छन्। त्यसैले विदेशी खेलाडी र नेपाली खेलाडीलाई अगाडि बढेर खेल्ने रणनीति बुनेको थिएँ,’ लिम्बुले भने, ‘हामी अंकको खोजीमा रहेका थियौं। कमब्याक गर्दै अंक खोस्न सफल भयौं।’

बराबरीपछि पुलिसको ७ खेलबाट ११ अंक भएको छ। पुलिस लिगको पाँचाैं स्थानमा छ भने समान ११ अंक भएको हिमालयन शेर्पा एक स्थान तल छैटौं स्थानमा रहेको छ। यस्तै लिगअन्तर्गत शनिबारै सम्पन्न दिनको दोस्रो खेलमा एलोन म्याक्सवेलको गोलको मद्दतमा संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छैटौं जित निकालेको छ। एपिएफको हलचोक मैदानमा भएको खेलमा संकटाले तालिकाको पुछारमा रहेको एनआरटीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो।

दोस्रो स्थानमा फर्किएको संकटालाई जित दिलाउन एलोन म्याक्सवेलले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन्। यसअघि खेलको २०औं मिनेटमा संकटाले अग्रता बनाउने मौका गुमाएको थियो। सेड्रिक अबालेले उपलब्ध गराएको पासमा सुभास गुरुङको कडा प्रहार पोस्टमा लागेर बाहिरिँदा संकटाले चुकचुकाउनुपरेको थियो। ४१औं मिनेटमा सुभासको फ्रिकिकमा रवि सिलवालले हेड गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइडको संज्ञा दिए। उता पराजित एनआरटी भने लिगमा लगातार छैटौं पराजय भोग्न बाध्य बन्यो। उद्घाटन खेलमा आर्मीसँग बराबरी खेल्दै अंक बाँडेको एनआरटी १ अंकमै सीमित छ।

लिगमा आइतबार तीन खेल हुनेछन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा हुने पहिलो खेलमा विभागीय टोली एपिएफले सरस्वतीको सामना गर्दा दोस्रो खेल थ्री स्टार र जावलाखेल युथ क्लबबीच हुनेछ। हलचोककमा हुने अर्को खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्सको सामना गर्नेछन्।

आइतबारकाे खेल
एपिएफविरुद्ध सरस्वती (एन्फा कम्प्लेक्स) – ११ः०० बजे
थ्री स्टारविरुद्ध जावलाखेल (एन्फा कम्प्लेक्स) – २ः३० बजे
च्यासलविरुद्ध फ्रेन्ड्स (हलचोक) – २ः३० बजे

प्रकाशित: २२ मंसिर २०७५ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App