७ वैशाख २०८१ शुक्रबार
समाज

२३ खानेपानी योजना समुदायलाई

सिन्धुपाल्चोक- भूकम्पपछिको पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

नेपाल भूकम्प पुनर्लाभ तथा पुनर्निर्माण अन्तर्गत तीन संस्थासँग साझेदारी गर्दै सात स्थानीय तहमा आयोजना बनेका हुन्। दुई वर्ष लगाएर बनाइएका खानेपानी आयोजनामा झण्डै ६ करोड ११ लाख रुपैयाँ खर्च भएको अक्सफामले जनाएको छ।

आयोजनाबाट जुगल, भाटेकोसी, त्रिपुरासुन्दरी, हेलम्बु गाउँपालिका तथा बाह्रविसे, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिका २ हजार २ सय ८७ परिवारका १२ हजारभन्दा बढी जनसंख्यामा खानेपानी पहूँच पुगेको स्थानीय साझेदार संस्था जनहित ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले बताए। उनका अनुसार ४ सय १७ धारबाट स्थानीयले आँगनमै सुविधा लिइरहेका छन्।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा खानेपानी क्षेत्रमा समेत ठूलो क्षति पुगेको थियो। साना–ठूला झण्डै ६ सय खानेपानी योजना क्षतिग्रस्त भएका थिए। भूकम्पले मूल सुकाउँदा र पानी स्रोत दबाउँदा सुरुका ६ महिना खानेपानीको हाहाकारै मच्चियो। अहिले अधिकांश क्षतिग्रस्त आयोजना निर्माण भइसकेका छन्।

अक्सफामसँगको साझेदारीमा जनहितले मात्रै १२ खानेपानी आयोजना निर्माण गरेको छ। यसमा झण्डै २ करोड ७५ लाख रुपैयाँ लगानी भएको कार्यक्रम संयोजक न्यौपाने बताउँछन्। त्यस्तै ग्रामीण महिला सिर्जनशील परिवारले सात र महिला आत्मनिर्भरता केन्द्रले चार आयोजना बनाएका छन्। ती आयोजनामा क्रमशः १ करोड ८२ लाख र १ करोड ५४ लाख रुपैयाँ लगानी भएको सहयोगी संस्था अक्सफामले जनाएको छ । ग्लोबल अफेयर्स क्यानडा उसको मुख्य दाता हो।

प्रकाशित: २२ मंसिर २०७५ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App