७ वैशाख २०८१ शुक्रबार
राजनीति

सार्कका ३४ वर्ष : गतिशील बनाउने चुनौती

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकार। तस्बिर : नवीन पौडेल, रासस

काठमाडौँ- दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४ वर्ष पुगेको छ। क्षेत्रीय संगठनको रुपमा स्थापित यस संस्था अहिले भने गतिशिल बन्न सकेको छैन। पाकिस्तानमा आयोजना हुन पर्ने शिखर सम्मेलन आयोजना हुन नसक्दा नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन।

सार्कको ३४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा विशेष समारोह भएको छ। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्ता रहेको थियो। समारोहमा सार्कका महासचिव अमजद हुसेन बी सियालले बितेका ३३ वर्षमा सार्कले दक्षिण एशियाको सामाजिक–आर्थिक विकासका निम्ति केही प्रगति गरेको भएपनि अझ धेरै गर्न सकिने स्थान रहेको बताए। उनले दक्षिण एशियाका जनताको जीवनस्तर उकास्न सामाजिक–आर्थिक उन्नयन अपरिहार्य भएको बताए।

उनले मानव संशाधन, प्राकृतिक स्रोतलगायत स्रोत र साधनले भरिपूर्ण दक्षिण एशियालाई समृद्धिको मार्गमा अग्रसर बनाउन सार्क सधैँ सक्रिय रहेको बताए। समारोहमा आठवटै सदस्य देशका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। सार्क स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश दिँदै सार्कलाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्न अतिमहत्वपूर्ण भएको बताएका छन्।

सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिएको सन्देसमा  सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अतिमहत्वपूर्ण भएको बताए। सन् १९८५ मा सार्क स्थापना भएयता क्षेत्रीय सहयोगका विविध क्षेत्रमा सङ्गठनले प्रगति गरेकामा खुशी व्यक्त गर्दै उनले सदस्य देश र दक्षिण एशियाका जनतामा हार्दिक शुभकामना बधाई तथा ज्ञापन गरेका छन्।

वर्तमान विश्वले गरिबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउँदै प्रधानमन्त्री ओलीले तिनलाई नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास अपरिहार्य भएका बताए।

सन्देशमा उनले दक्षिण एशियामा क्षेत्रीय सहयोगको विकल्प नभएर अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै दक्षिण एशियाली देशको साझा मञ्च सार्कले सदस्य राष्ट्रबीच समझदारी अभिवृद्धि, विकास र समृद्धिका निम्ति मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन्।

क्षेत्रीय सहयोगको औचित्य बढीरहेको परिप्रेक्ष्यमा सदस्य देशले सार्कलाई गतिशील क्षेत्रीय सङ्गठनका रुपमा अघि बढाउन उच्चस्तरीय प्रतिबद्धता प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि आतङ्कवाद नै सबैभन्दा ठूलो खतरा रहेको बताउँदै आतङ्कवादका सबै किसिमका स्वरुपलाई भेदभावरहित ढङ्गले निमिट्यान्न पार्नुपर्नेमा जोड दिएका छन्।

वडापत्र दिवसका अवसरमा उनले आज दिएकाे शुभकामना सन्देशमा तीन दशक लामो यात्रामा सार्कले निरन्तर प्रगति गर्दै आएको भए पनि आशातित लक्ष्य हासिल गर्न नसकेको यथार्थ औँल्याउँदै क्षेत्रीय सहयोगको निम्ति शान्ति–सुरक्षा अपरिहार्य भएको उल्लेख गरेका छन्।

यसैगरी पाकिस्तानका राष्ट्रपति डा आरिफ आल्भीले विवादरहित दक्षिण आफ्नो परिकल्पना भएको बताउँदै सदस्य राष्ट्रबाट गरिबी, अशिक्षा, रोग, कुपोषण र वेरोजगारीविरुद्ध सामूहिक रुपमा मुकाबिला भइरहेको स्मरण गरे।

गरिबी निवारण, सामाजिक–आर्थिक समानताको सृजना, महिला सशक्तीकरण तथा प्रगतिशील, शान्त, समृद्ध दक्षिण एशिया निर्माण गर्ने सङ्गठन भएको बताउँदै उनले वडापत्र दिवसले तिनै लक्ष्य पूरा गर्ने प्रतिबद्धतालाई नवीकृत तुल्याउने सन्देशमा उल्लेख गरेका छन्।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले दक्षिण एशियामा शान्ति र समृद्धि प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको सार्कले दक्षिण एशियालाई एकीकृत गर्ने प्रयास गरेको बताउँदै उक्त सङ्गठनको संस्थापकका नाताले श्रीलङ्काले सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गरेको सन्देशमा छ।

यसै अवसरमा भुटानका प्रधानमन्त्री लोते छिरिङले दिएको शुभकामना सन्देशमा सार्कले आर्थिक, सामाजिक एवं सांस्कृतिक फाँटमा उल्लेखनीय प्रगति गरेको बताउँदै दक्षिण एशियाका जनताको कल्याण तथा क्षेत्रीय सहयोग प्रवद्र्धनका निम्ति सङ्गठन स्थापना गरेका सार्कका संस्थापकहरुप्रति आभार प्रकट गरे।

बङ्गलादेशका परराष्ट्रमन्त्री अबुल हसन महमुद अलीले दिले दिएको शुभकामना सन्देशमा क्षेत्रीय सहयोगका धेरै क्षेत्रमा सार्कले सहकार्यका अवसर उपलब्ध गराएको बताउँदै क्षेत्रीय एकताको निम्ति सबै सदस्य मुलुक एक हुनुपर्ने जोड दिए।

यसैगरी, मालद्विभ्सका विदेशमन्त्री अब्दुल्लाह साइले सार्कका सिद्धान्त, आदर्श, सहयोग एवं मैत्री, विविधतामा एकताप्रति आफ्नो देशको पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै आपसी मतभिन्नता त्यागेर सार्क क्षेत्र र यहाँका जनताको समृद्धिका निम्ति साझेदारी गर्नुपर्नेमा जोड दिएका छन्।

अफगानिस्तानका उपविदेशमन्त्री अदेला राजले सार्कलाई क्षेत्रीय सहयोगको सुदृढ माध्यम बनाउन सदस्य मुलुकसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राससको सहयोगमा

प्रकाशित: २२ मंसिर २०७५ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App