coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

विश्वकै पहिलो महाकवि

प्रा.डा.शास्त्रदत्त पन्त
महर्षि बाल्मीकि विश्वकै योगीका योगी, संगीतज्ञका संगीतज्ञ, कविका कवि हुन्। उनी सबै वेदका धुरन्धर ज्ञाता हुन्। उनले चारै वेदको शिक्षा रामायणमा समेटेका छन्। सम्प्रदाय र जातिका कुराबाट टाढा रहेर वेदको यथार्थ प्रस्तुत गरेका छन्।

उनका अनुसार योग र यज्ञ एकै हुन्। यिनले सबै खाले विनाशलाई रोक्न सर्वप्रथम शरीरलाई विकारमुक्त गराएर मात्र सकिन्छ भन्ने दर्शन प्रतिपादन गरेका छन्। पुरुषार्थ गर्ने व्यक्ति क्रियाशील र सकारात्मक हुन्छ। विश्वका निर्माता, पालक र संहारकर्ता परमेश्वर एउटा मात्र हुन्छ। त्यसको समष्टि परिचालन विधानचाहिँ धर्म हो। त्यसैले धर्म पनि एउटा मात्र हुन्छ। त्यो सास्वत सत्य हुन्छ, त्यो निरपेक्ष हुँदैन। अतः युवापिढीले रामायण महाकाव्य बुझेर अध्ययन गरे भने जीवनलाई सही दिशामा बदल्न सक्छन्। बाल्मीकिले रामायणमा प्रेम भाव, तप र यश मार्ग देखाएका छन्। हरकोहीलाई सत्मार्गमा हिँड्ने बाटो देखाएका छन्।

बाल्मीकिका पिता पनि तपस्वी महर्षि थिए, उनको नाम प्रचेता हो। बाल्मीकि जन्मदाको नाम अग्नि शर्मा र बोलाउने नाम रत्नाकर हो, उनलाई मायाले बोलाउँदा सुमाली पनि भनिन्थ्यो भन्ने भारतीय प्रकाशनका विभिन्न पुस्तकमा उल्लेख छ। उनकी पत्नीको नाम भानू थियो। भानूबाट उनका तीन जना छोरा जन्मेका थिए। रत्नाकर महर्षि प्रचेताका दशौं पुत्र हुन्। प्रचेताको गोत्र भृगु हो भनिएको छ भने रामायण अनुसार बाल्मीकि भार्गभ गोत्रका महर्षिका खलक हुन्।

रत्नाकर सानै छँदा आश्रमस्थल वरिपरि घना जंगलमा बाटो बिराएर हराए। उनका मातापिताले खोज्नसम्म खोजे। तर, भेट्टाएनन्। बालकलाई एक जना शिकारीले भेट्टाएर घरमा लगे। रत्नाकरलाई धर्मपुत्र बनाएर पाले। ठूलो भएपछि शिकारीले एक कन्यासँग विवाह गरिदिए। सन्तान पनि जन्मिए। बाबुआमा बूढा भए, छोराछोरी थपिए पाल्न गाह्रो भयो। उनले जंगलमा हिँड्ने बटुवालाई समातेर लुटलाट गरी जीविका चलाउन थाले। यसरी लुटिने क्रममा एकदिन महर्षि नारद परे। उनलाई रत्नाकरले भएको सबै देऊ नत्र टाउको फोरिदिन्छु भने। नारदले आफूसँग एउटा विणा र लगाएको कपडाबाहेक केही नभएको, त्यहि पनि चाहिन्छ भने सबै लैजाऊ, टाउको किन फोर्न पर्यो ? भनेर सोधे।  रत्नाकरले जवाफ दिए– वृद्ध बाबुआमा र परिवार पाल्न यसो गर्नुपरेको हो।

नारदले फेरि सोधे– यो कर्म गर्दा त पाप लाग्छ। के तिम्रा बाबुआमा र परिवार तिम्रो पापको हिस्सा बोक्न तयार छन् ? जाऊ घर गएर सोधेर आऊ। तिमीले जवाफ लिएर आउने बेलासम्म म यहीँ बस्छु। तिमीलाई पत्यार लाग्दैन भने मलाई यही रुखमा बाँधेर जाऊ। उनी घर गए, सबैलाई सोधे। घर परिवारमा कसैले पनि उसको पापको हिस्सेदार बन्न मन्जुरी गरेनन्। रत्नाकरका आँखा खुले, उनले नारदलाई मुक्त मात्र गरिदिएनन्, आफूलाई पापमुक्त हुने बाटो देखाइदिन भन्दै उनको पछि लागे। लामो हिँडाइपछि नारदले उनलाई एक रुखमुनि राखेर रामको नाम भज्न लगाए।

सुरुमा राम उच्चारण गर्न नजानेपछि ‘मरा’ भज्न लगाए। उनले ‘मरामराम’ भज्न थालेपछि आफू फेरि फर्केर नआउन्जेल भजिरहन आदेश दिएर गए। रत्नाकर रामनाम जप्नमा यति तल्लिन भए कि तपस्यामा वर्षाैं बितेको पत्तै पाएनन्। नारद फेरि फर्केर त्यहाँ आउँदासम्म उनको शरीरमा धमिराको गोलोले ढाकिसकेको थियो। धमिराको गोलोलाई पखालेर अनुहार देखिएपछि नारदले उनलाई पाऊ छोएर ढोग गरे र भने– अब हजुर ब्रह्मर्षि हुनुभयो। धमिराको गोलोबाट हजुरको पुनर्जन्म भएकाले यहाँको नाम पनि बाल्मीकि भयो।

बाल्मीकि उनको जीवनको दोस्रो नाम। उनले तपस्या गरेको आश्रम त्रिवेणी नगरको नारायणी पारिपट्टिको घना वन हो। तमसा नदी र गजेन्द्रमोक्ष धाम पनि त्यहीँ छ। सार के हो भने जस्ताको संगत गर्यो व्यक्ति उस्तै हुन्छ।

यो कुरा त्रेता युगको। धेरै विज्ञहरू त्रेता युगलाई १५ हजार वर्ष पुरानो मान्छन्। नासाले भने करिब सात हजार वर्ष  पहिलेको मानेको छ। सनातनीहरूका अनुसार पृथ्वी सृष्टि भएको एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार एक सय १९ वर्ष भएको छ। यहाँ प्राणीको सृष्टि भएको पनि चार युगमा ४३ लाख २० हजार वर्ष भएको छ। तीन युग सकिसकेका छन्, अब कलियुग सकिन थोरै वर्ष मात्र बाँकी छ। यस अर्थमा त्रेता युग धेरै वर्ष पहिलेको हुन्छ। अर्कातर्फ सभ्यताको चक्रलाई नियाल्दा ६ करोड वर्षपहिले डाइनोसर प्रजातिको विनाश भइसकेको कुरा फोसिलको अध्ययनबाट प्रमाणित छ। ४० करोड वर्ष पुराना फोसिल हिमालयमा पाइनुले त्यस पूर्वका लगभग एक सय ५५ करोड वर्ष पृथ्वी तातो आगोका रूपमा अथवा प्राणीविहिन अवस्थामा रहेको हुन आउँछ। यी कुरा मनन् गर्दा त्यसबेलाको भू–राजनीति शासन व्यवस्थालाई आजको विभाजनसँग कल्पनै गर्न सकिँदैन। यद्यपि शुक्ल यजुवेद, कृष्ण गजुर्वेद, हिमबत खण्ड, भरतखण्ड र आर्याव्रतको आधार उपयुक्त हुन्छ।

त्यसपछि नारदले बाल्मीकिलाई ब्रह्म लोकमा लगेर ब्रह्मासँग परिचय गराएको, ब्रह्माले बाल्मीकिलाई रामायण लेख्न आदेश दिएको, आदेशका साथै ऊर्जा शक्ति पनि दिएपछि उनले रामायण लेखेको प्रसंग पाइन्छ।

रामायण महाकाव्य
बाल्मीकि विश्वकै पहिला महाकवि हुन्। उनको जोडको काव्य आजसम्म विश्वमै रचना हुन सकेको छैन। रामायण महाकाव्य विश्वको पहिलो उत्कृष्ट महाकाव्य हो। संस्कृत भाषामा लेखिएको यो ग्रन्थलाई आदि काव्य र बाल्मीकिलाई आदि महाकवि मानिन्छ। रामायण विश्वकै ठूलो महाकाव्य पनि हो। यसमा २४ हजार श्लोक र चार लाख ८० हजार दुई शब्द छन्। ब्रह्माको निर्देशन अनुसार बाल्मीकिले रामायणमा चारै वेदको सार समेटेका छन्।

भावानुवाद गर्ने तुलसीदासलाई पनि बाल्मीकिकै अर्काे जन्म भएको मानिन्छ। बाल्मीकिले लेखेको अर्काे पुस्तक योग बशिष्ठ हो। यो पनि संस्कृत भाषामा लेखिएको छ। यो गहन दर्शनको ग्रन्थ हो।

बाल्मीकिको जन्मोत्सव नेपाल र भारतमा अलग–अलग गते मनाइन्छ। भारतमा सौर्यमासका हिसाबले ८ अक्टोबरमा मनाइन्छ भने नेपालमा चन्द्रमासका हिसाबले कोजाग्रत पूर्णमाका दिन। दक्षिण भारतको तिरुवनमियुर भन्ने ठाउँमा थिरु बाल्मीकि उर नामक मन्दिर पनि छ। यो मन्दिर १३ सय वर्षपहिले बनाइएको पुरातत्वविद्को भनाई पाइन्छ। आन्द्रप्रदेशको अन्तपुरमका दलितहरूले आफू बाल्मीकिका सन्तान भएको भन्दै बाल्मीकि मन्दिर बनाएका छन्। त्यसै गरेर कर्नाटकको राजनहल्लीमा बाल्मीकि मत महासंस्थान छ। सायद यो मत अष्टाध्यायीको हो भन्ने चर्चा सुनिन्छ। यिनी आधारमा केही मानिसले बाल्मीकिलाई दलित जातका भन्ने गर्छन्। तर, त्यो गलत हो। संभवतः शिकारी बाबुआमा दुषाद् मानेर त्यसो भनिएको हुन सक्छ।

बाल्मीकि आश्रम बाल्मीकिनगर चितवन, नेपाल र चित्रकुट अयोध्याबीच विज्ञहरूका विचार भिन्न छन्। राम वनबासमा गएको अवस्थामा बाल्मीकि चित्रकुटमै रहेको र १४ वर्षबीच कुनै समयमा उनले आश्रम त्रिवेणीपारि चितवनमा बनाएको प्रतित हुन्छ। ब्रह्माले उनलाई रामायण लेख्न त्यहीँ मार्गदर्शन गराएको पाइन्छ। लक्ष्मणले गर्भवती सीतालाई त्यहीँ लगेका र बाल्मीकिले सीतालाई धर्मछोरीका रूपमा स्वीकारेको पाइन्छ।

अमेरिकाको नासाले बाल्मीकिलाई ज्योतिष शास्त्रका पहिला ज्ञाताका रूपमा मानेको छ। उनले श्री रामको कुण्डली बनाएको सही भएकाले रामको जीवनीका सबै तथ्य पत्ता लगाउन सजिलो भएको र मिलेको भन्ने पाइन्छ। यो कुरा भारतका अवकासप्राप्त राजस्व अधिकारी पुष्कर भटनागरले उल्लेख गरेका छन्। उनका अनुसार श्रीराम लगायत सबै ऐतिहासिक प्राचीन महापुरुषको तथ्य पत्ता लगाउन सहायक भएको छ। श्री राम वनबास जाँदा उनी २५ वर्षका थिए भने फर्कदा ३९। फर्कदाको दिन पनि चैत शुक्ल नवमी थियो।

प्रकाशित: २२ मंसिर २०७५ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App