coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक वर्ष थन्किएको चिनियाँ जहाज उड्न तयार

काठमाडौं-एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज बल्ल नियमति उडानमा फर्कने भएको छ ।

निगमसँग रहेको १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको एकमात्र जहाजका लागि चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री गु्रप कम्पनी लिमिटेडबाट प्रशिक्षक पाइलट पेनिटा आएपछि बुधबारबाट नियमित उडान गर्न लागेको हो ।

‘लामो प्रयासपछि वाई१२–ई जहाजले बुधबारबाट नियमित उडान गर्ने छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘चीनबाट एकजना प्रशिक्षक पाइलट आएपछि जहाज उड्न तयार भएको हो । हामीसँग वाई१२–ईका १० जना को–पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन्, त्यही भएर जहाज एक वर्षदेखि थन्किएको थियो ।’

उनका अनुसार प्रशिक्षक पाइलट पेनिटालाई तीन महिनाका लागि करारमा नियुक्त गरिएको छ । उनले निगम यही जहाज उडाउने को–पाइलटलाई निश्चित घन्टा उडाएपछि स्तरोन्नति गरी क्याप्टेन बनाउने छन्। त्यसपछि क्याप्टेनले जहाज कमान्ड गर्न पाउँछन् ।  सुरुवातमा यो जहाजबाट दैनिक तीन उडान गर्ने तालिका बनाइएको छ ।

निगमले वाई१२–ईमार्फत बुधबारदेखि काठमाडौंबाट पोखरा, सिमरा र भैरहवाका लागि एक–एक उडान गर्ने छ । प्रत्येक बिहान ६ः३० बजे पोखरा जाने र यसको भाडा दर करसहित २ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै २ हजार २ सय २५ रुपैयाँ भाडा तोकिएको सिमरा उडान बिहान ८ः३० मा हुने छ भने ३ हजार २५ रुपैयाँ भाडा रहेको भैरहवाका लागि बिहान १० बजेको तालिका बनाइएको निगमले जनाएको छ।

२०७२ असोजतिर जहाज निर्माता कम्पनीबाट आएका एक प्रशिक्षक पाइलटको कार्यअवधि सकिएका कारण ‘ग्राउन्डेड’ भएको वाई१२–ई १० महिनापछि उड्न तयार भएको थियो । निगमकै प्रशिक्षक पाइलट आङनुरी शेर्पाको कमान्डमा परीक्षण उडान गरेपछि इन्जिनमा समस्या आएपछि जहाज पुनः थन्किएको थियो । जब जहाज तयार भयो तब शेर्पाले अकस्मात राजीनामा दिएपछि जहाज अलपत्र परेको थियो ।

पछिल्लो पटक यो जहाज उडाउन निगम व्यवस्थापनले चीनबाटै एकजना प्रशिक्षक पाइलट ल्याएपछि बुधबारबाट नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको हो । ‘अब भने यो जहाजले नियमित उडान गर्दै निगमको शाख माथि उठाउने छ,’ प्रवक्ता शर्माले भने, ‘दसैंका बेला भएका कारण यात्रुलाई सरल मूल्यमा हसज तरिकाले गन्तव्य पु¥याउन पाउँदा खुसी छौं ।’

गत वर्ष असोजमा थन्किनु अघिसम्म वाई१२–ई जहाजले नियमित उडान गरिरहेको थियो । त्यसबेला चिनियाँ जहाज निर्माता कम्पनीले उपलब्ध गराइदिएको प्रशिक्षक पाइलट फिर्ता जानु र निगमसँग आफ्नै प्रशिक्षक पाइलट नभएपछि ग्राउन्डेड भएको थियो । लामो समय ग्राउन्डेड भएपछि निगमले आफैं प्रशिक्षक पाइलटमा शेर्पालाई तयार गरेको थियो । त्यसपछि गत वैशाखमा यो जहाजको परीक्षण उडान गरिएको थियो । उडान सकेर अवतरण गरेपछि जहाजको एउटा इन्जिनमा समस्या उत्पन्न भएका कारण पुनः ग्राउन्डेड भएको थियो ।

यो जहाजमा अमेरिकी इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीमा उत्पादित इन्जिन जडान गरिएको छ। जहाज निर्माताले १८ सिटयुक्त भने पनि यसमा १७ यात्रुमात्र अट्छन् ।

निगमले गत वैशाखमा वाई१२–ईको परीक्षण उडान हुनुअघि नै वैशाख २८ देखि काठमाडौंबाट भैरहवा, सिमरा र पोखराका लागि दैनिक एक–एक उडान गर्ने गरी नियमित तालिका सार्वजनिक गरेको थियो । तर, जहाज ग्राउन्डेड भएपछि थप तीन महिना उड्न सकेन । त्यसपछि साउन पहिलो साता मर्मत सफल भएपछि साउन १७ बाट नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको थियो । तर जहाज उड्नुअघि नै शेर्पाले राजीनामा दिएका थिए ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ‘९एन–एकेएस’ कलसाइन पाएको यो जहाजलाई निगमले ‘कोइली’ चराको नाम दिएको छ । निगमका अनुसार २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा वाई१२–ईले १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो तर यसलाई उडाउन भने ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो । त्यति अवधिमा इन्धनका लागि १ करोड ४९ लाख खर्च भएको थियो ।

यसको बिमावापत ४ करोड १९ लाख ७९ हजार ९ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार ७ सय ७५ र चालकदलको खाना/खाजा खर्च ९५ लाख ९२ हजार २ सय ७० रुपैयाँ खर्च भएको थियो । यो जहाज नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । यो भनेको दैनिक नोक्सानी २० लाख ४ हजार ७ सय २५ रुपैयाँबराबर हो ।

मुम्बईमा निगम यात्रुको बिजोग

नेपाल वायुसेवा निगमको ‘ए३२०–२००’ जहाजले सोमबार साँझ भारत मुम्बईबाट डेढ सय यात्रुलाई काठमाडौं ल्याउने तालिका भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किँदा यात्रुको बिजोग भएको थियो।

मुम्बई विमानस्थलमा जहाज कुरेर बसेका यात्रुलाई निगमको त्यहाँस्थित स्टेसनमा कार्यरत कर्मचारीले बेवास्ता गर्दा यात्रुले पाउनुसम्म दुःख पाए । ‘हामीलाई लिन आउने जहाज काठमाडौंमा आकस्मिक अवतरण गरेर रोकिएको रहेछ तर हामीलाई जहाज आउँछ, आउँछ भन्दै १० घन्टासम्म झुलाएर राखे,’ यात्रु ज्योत्सना सुब्बा श्रेष्ठले भनिन्, ‘त्यति लामो अवधि न हामीलाई खाने व्यवस्था गरे, न होटलमा आराम गर्ने व्यवस्था मिलाए ।’

बिजनेस क्लास टिकटमा आउन लागेकी श्रेष्ठका अनुसार स्टेसन म्यानेजर गोपाल तण्डुकारले सुरुमा केही समय जहाज आउँछ भने पनि त्यसपछि सबै कर्मचारी काउन्टर छाडेर यात्रु अलपत्र पार्दै हिँडेका थिए । साँझ साढे ५ बजे उड्ने तालिका भएका कारण साढे २ बजे यात्रु विमानस्थल पुगेका थिए ।

‘स्टेसन म्यानेजरले यात्रुलाई होटलमा लाने वा खाना खान दिने विषयमा कुरै गरेनन्,’ उनले आक्रोशित हुँदै भनिन्, ‘यसबारे कुरा गर्दा माथिबाट निर्देशन आउनुपर्छ मात्र भनिरहे । तर चार÷पाँचजनालाई बर्गर खुवाए त्यति हो, बाँकी यात्रुलाई रातभरि भोकै राखे । हामी भने आफ्नो देशको ध्वजावाहक भनेर माया गर्ने तर निगम भने यात्रुको बिजोग पार्ने ? व्यवस्थित तरिकाले चलाउन सकिँदैन भने बन्द गरे पनि हुन्छ।’

उनका अनुसार यात्रुमध्ये केही शल्यक्रिया गरेका बिरामी पनि थिए । बिरामीलाई बस्ने ठाउँ नहुँदा सामान राख्ने ट्रलीमा बस्नुपरेको थियो । विमानस्थलभित्र १५ जनाजति अटाउने एउटा कफी पसलबाहेक केही थिएन। दिउँसोदेखि मध्यरातसम्म बिजोग पारेपछि जहाज बल्ल आयो । मंगलबार बिहान साढे ४ बजे काठमाडौंका लागि जहाज उडेको थियो ।

मुम्बईमा यात्रुको बिजोगबारे जानकारी दिँदा निगमका कर्पोरेट डाइरेक्टर रामहरि शर्माले अचम्म माने । ‘त्यस्तो भएछ, यात्रुलाई भएको असुविधाप्रति हामी दुःखी छौं र क्षमा माग्छौं,’ उनले भने, ‘मुम्बईमा भएको यात्रुको समस्याबारे विस्तृतमा छानबिन गरी दोषीलाई कारबाही गर्छौं ।’

शर्माका अनुसार जहाज उड्न दुई घन्टाभन्दा बढी ढिलो भए यात्रुलाई खाजा वा खानाको व्यवस्था गर्नुपर्छ। ६ देखि ७ घन्टा ढिला भए सकेसम्म स्तरीय होटलमा लगेर तीन छाक खानासहित बासको व्यवस्था गर्नुपर्छ । आफ्नो जहाजबाट उडाउन नसके अर्को कम्पनीको जहाजबाट पठाउनुपर्छ । यस्ता घटनामा खर्च गर्न निगमसँग छुट्टै बजेट हुने गरेको छ ।  

 

प्रकाशित: १२ आश्विन २०७३ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App