coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पीडितले भुल्यो, कानुनले भुलेन

खोटाङ - ज्यान मार्ने उद्योगका मुद्दामा दोषी ठहरिएका केपिलासगढी गाउँपालिका–७ सुँदेलका ५६ वर्षीय सानकुमार राई ११ वर्षपछि जेल चलान भए। ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ वैशाख २० गते छ वर्ष सात महिना १० दिन कैद सजाय सुनाइएका उनी मंसिर १४ गते कारागार चलान भएका हुन्। अदालतबाट दोषी ठहर भए पनि कानुनको नजरबाट लुकीछिपी बसिरहेका राई मंसिर १३ गते घरबाटै पक्राउ परेका थिए।

यसैगरी कर्तव्य ज्यान मुद्दामा फरार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की २९ वर्षपछि पक्राउ परे र जेल चलान भए। कर्तव्य ज्यान मुद्दामा २०५७ जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैदसजायको फैसला सुनाइएका उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले गत असोज ३० गते सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनस्थित घरबाटै पक्राउ गरेको थियो। भारतका नागाल्यान्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दै आएका कार्की गत कात्तिक ८ गते जेल परेका हुन्। लामो समय कानुनको नजरबाट छलिएर रहन सफल उनलाई दसैं मनाउन घर आएको मौका पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। जग्गासम्बन्धी विवादमा चन्द्रबहादुरलगायत सोही ठाउँका केशव कार्की, नरबहादुर भुजेलसहित चार जनामाथि स्थानीय ढकबहादुर कार्कीको हत्या गरेको अभियोग छ।

फरार अभियुक्तमाथिको पक्राउले ‘छलिएर’ र ‘लुकेर’ बस्ने मानसिकता बोकेका अभियुक्तलाई हतोत्साहित बनाएको छ।

आपराधिक क्रियाकलापमा संलग्न भई दोषी ठहरिए पनि कानुनको नजरबाट भाग्दाभाग्दै पक्राउ परेका केही उदाहरण हुन् यी। अदालतबाट दोषी ठहर भएर दण्डसजाय सुनाइए पनि फरार रहेर सजायबाट बच्ने कतिपयको प्रयास असफल भएको देखिएको छ। दोषी ठहर भए पनि लामो समयदेखि फरार ३३ जना अभियुक्तलाई गत भदौ १ गतेयता पक्राउ गरेर जेलमा पु-याइएको डिएसपी केसीले बताए। कतिपय जवान हुँदा दोषी ठहरिएका अभियुक्त वृद्धावस्थामा जेल पुगेका छन्। कतिपय पीडित परिवारले न्याय पाउने आशा मारिसक्दा दोषी पक्राउ परी जेल पु-याइएका छन्। ‘कति दिन भाग्ने ? अपराध गरेर प्रहरीबाट जति छलिए पनि कानुनको फन्दाबाट छलिन सम्भव छैन, कुनै न कुनै दिन कानुनी दायरामा आउनैपर्छ,’ डिएसपी केसीले भने, ‘आपराधिक क्रियाकलापमा संलग्न रहेर कानुनबाट भागेर हिँडे पनि कुनै न कुनै दिन उनीहरूले यसरी सजायको भागीदार हुनैपर्छ।’ प्रहरीका अनुसार १९ दिनदेखि बढीमा २० वर्ष कैदसजाय सुनाइएका तथा एक सय ५० रुपैयाँदेखि नौ लाखसम्म जरिवाना तिर्ने सजाय सुनाइएका अभियुक्त कानुनी दायरामा ल्याइएका छन्। सिमाला डाँडा गरेको मुद्दामा बुधबार छ वर्षका लागि जेल चलान भएका केपिलासगढी–५ सप्तेश्वरका राजेश राईलाई नौ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने अदालतको फैसला छ।

अदालतबाट दोषी ठहर भए पनि लामो समय फरार रहेका अभियुक्त ढिलै भए पनि कानुनी दायरामा ल्याइँदा पीडित परिवारले न्यायको महसुस गरेका छन्। दोषी पक्राउ नपर्दा र कानुनी सजायबाट दोषी भागीरहँदा थप पीडाको महसुस गरेका पीडितलाई न्यायको प्रत्याभूति दिलाउन जिल्ला प्रहरी कार्यालयले लामो समयदेखि फरार अभियुक्त पक्राउ अभियान चलाएको जनाइएको छ। प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका तर फरार बनेर कैद÷जरिवाना भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई धमाधम पक्राउ गरिरहेको छ। ‘लुकीछिपी कानुनबाट बच्न सकिन्छ’ भनेर बसिरहेका अभियुक्त अचानक प्रहरीको फन्दामा परिरहेका छन्। अपराध गरेका दोषी जुनसुकै बेला कानुनी दायरामा आउनुपर्छ भन्ने सन्देशमार्फत अन्य आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने र दण्डहीनता अन्त्यका लागि फरार अभियुक्त पक्राउ अभियान बाक्लो बनाइएको डिएसपी केसीले बताए। यसबाहेक सजाय सुनाइए पनि दण्ड वा सजायबाट भाग्दा पीडित परिवारमा परिरहेको नकारात्मक धारणा तोडेर न्यायको महसुस गराउन पनि फरार दोषीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘अपराध गरेका मान्छे कुनै न कुनै दिन कानुनी दायरामा आउनैपर्छ, राज्यले र प्रहरीले कानुनी दायरामा ल्याउँछ। कानुनी दायरामा परिन्छ भन्ने भएपछि अपराध न्यूनीकरण हुन्छ,’ डिएसपी केसीले भने, ‘पीडकले सजाय पाएपछि मात्र पीडितलाई न्याय पाएँ, राहत पाएँ भन्ने महसुस हुन्छ।’

फरार अभियुक्तमाथिको पक्राउले ‘छलिएर’ र ‘लुकेर’ बस्ने मानसिकता बोकेका अभियुक्तलाई हतोत्साहित बनाएको छ। पक्राउ पर्नेमा कतिपय मुद्दा लागेका बेला भाग्ने र मुद्दा सेलाएपछि ढुक्कसँग घरैमा बसिरहेकाहरू पनि छन्। फरार अभियुक्तको पक्राउले अपराध गरेर भाग्नेलाई ढिलै भए पनि कारबाही हुने सन्देश गएको छ। लामो समयसम्म पक्राउ नपर्दा फरार रहेर सजायबाट जोगिन सकिन्छ भन्ने अभियुक्तको मानसिकता तोडिएको स्थानीयको भनाइ छ। फरार रहेपछि प्रहरीले अभियुक्तलाई फरारको सूचीमा राखेर पक्राउमा चासो नदिएका कारण उनीहरूले वर्षौं उन्मक्ति पाएका हुन्। अर्कातर्फ पीडितले फरार दोषीलाई पक्राउका लागि ताकेता गर्न छाडेका कारण पनि उनीहरूले लामो समय सजायबाट जोगिने मौका पाएका हुन्।

प्रकाशित: २२ मंसिर २०७५ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App