८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपामा चुलिँदै असन्तुष्टि

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ।

पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरुसमेत असन्तुष्ट देखिएका छन्। पार्टी एकीकरणभन्दा अन्य विषयलाई नै ओलीले प्राथमिकतामा राखेको भन्दै सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यले ओलीको आलोचना गर्न थालेका छन्।

ओली कार्यशैलीबाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत सन्तुष्ट नरहेको स्रोत बताउँछ। छलफल नै नगरी महत्वपूर्ण विषयमा एक्लै निर्णय गर्ने ओलीको कार्यशैलीप्रति संकेत गर्दै दाहाल निकट एक नेताले भने, ‘पछिल्लो समय उहाँ (ओली) को कार्याशैलीमा समस्या देखिन थालेको छ, उहाँको कार्यशैलीप्रति अध्यक्ष दाहाल पनि असन्तुष्ट हुनुहुन्छ।’ सांगठानिक एकीकरण, नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टी परिचालन विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्दा पार्टी गतिविधि ठप्प भएको नेताहरुको आरोप छ।

ओलीको कार्यशैलीप्रति पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि असन्तुष्ट

हालै काठमाडौंमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीको भूमिकालाई लिएर पनि नेकपाभित्र असन्तुष्टि बढेको छ। पार्टीमा पर्याप्त छलफल नगरी उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका कारण दाहाल पनि असन्तुष्ट रहेको स्रोत बताउँछ। ‘सरकार र पार्टीलाई समेत असर पुग्नेगरी कार्यक्रममा प्रधानमन्त्रीको भूमिका नदेखियोस् भन्ने दाहालको चाहना थियो तर त्यसको ठिक उल्टो भयो। ओलीका कारण पार्टी र सरकारको आलोचना हुन थालेपछि दाहाल पनि असन्तुष्ट हुनुहुन्छ,’ दाहाल निकट ती नेताले भने। दाहाल पार्टीभित्र बढिरहेको असन्तुष्टिलाई स्थायी समितिबाट समाधान गर्नुपर्ने पक्षमा रहेको उनले बताए। ‘तर यो विषय ओलीको प्राथमिकतामा नपर्दा समस्या भइरेको छ,’ ती नेताले भने।

एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीको भूमिकालाई लिएर नेकपाका नेताहरु भीम रावल, घनश्याम भुसाललगायतले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन्। नेकपा सचिवालय सदस्य झलनाथ खनाल, अर्का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत प्रधानमन्त्रीसँग असन्तुष्ट देखिएका छन्।

स्थायी समिति सदस्य अग्नि सापकोटा एकीकरणको काम नटुंग्याई पार्टीको ध्यान अन्त मोडिन नहुने बताउँछन्। उनले पार्टी एकीकरणलाई जतिसक्दो छिटो टुंग्याउँदै असन्तुष्टिका विषय सचिवालयमार्फत अजेन्डा बनाएर स्थायी कमिटीमार्फत सम्बोधन गर्नुपर्ने बताए। ‘पार्टी नेतृत्वले प्राथमिक विषयलाई छोडेर गैरप्राथमिक विषयमा ध्यान दिँदा समस्या भइरहेको छ,’ उनले भने।

पार्टी प्रवक्ता श्रेष्ठ सांगठनिक कामलाई कुनै पनि बहानामा पछि धकेल्न नहुने बताउँछन्। तत्काल सचिवालय बैठक बोलाएर एकीकरण प्रक्रिया टुंग्याइहाल्नुपर्ने र स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्नुपर्ने उनको धारणा छ। ‘तत्काल सचिवालय बैठक र स्थायी समिति बैठक बोलाएर सांगठनिक एकीकरण, असन्तुष्टि र सरकारका कामको समीक्षा गर्न आवश्यक छ,’ श्रेष्ठले भने। एसिया प्यासिफिक सम्मेलन हुनुभन्दा पहिले पार्टीका बैठकहरु निरन्तर भइरहे पनि सम्मेलनपछि बैठकको टुंगो नलागेको उनको भनाइ छ। पार्टी नेतृत्वको कार्यशैलीबारे भने उनले प्रतिक्रिया दिन अस्वीकार गरे।

नेकपा सचिवालय सदस्य माधवकुमार नेपाल पनि पार्टीमा जिम्मेवारी बाँडफाँट तथा एकीकरण प्रक्रियामा भइरहेको विलम्बप्रति असन्तुष्ट छन्। नेपालको असन्तुष्टि नेतृत्वको कार्यशैलीभन्दा पनि पार्टीभित्र आफ्नो पक्षलाई पेलिएकोमा रहँदै आएको छ। जिल्ला तथा जनवर्गीय संगठन एकता प्रक्रियामा संस्थापन पक्ष पेलेर अघि बढ्न खोजेको भन्दै नेपाल पक्षले व्यापक असन्तुष्टि जनाएको छ। यो विषय टुंगिन सकिरहेको छैन।

नेपाल पक्षले पार्टीका महत्वपूर्ण विषय स्थायी कमिटीमार्फत टुंग्याउनुपर्ने माग गर्दै आएको छ। तर लामो समयदेखि स्थायी समिति बैठक बस्न सकेको छैन। ‘पार्टीभित्र उहाँ (नेपाल) को विचार प्रस्ट छ। उहाँले पार्टीभित्र विधि, प्रक्रिया र मापदण्डको विषय उठाउँदै आउनुभएको छ। अरु विषयमा उहाँको खासै ठूलो विरोध छैन,’ नेपाल निकट एक नेताले भने। एसिया प्यासिफिक सम्मेलनलाई लिएर अन्य नेताले असन्तुष्टि जनाइरहेका बेला नेता नेपालले भने प्रधानमन्त्री ओलीलाई साथ दिएका छन्। उनी आफैं कार्यक्रम आयोजक समितिका अध्यक्ष हुन्।

सचिवालय सदस्य खनाल पनि पार्टीको सांगठनिक एकीकरणमा भइरहेको ढिलाइ, नेतृत्वको कार्यशैली र सरकारको कामकारबाहीप्रति असन्तुष्ट छन्। ‘पार्टी एकीकरण तल्लो तहसम्म हुन सकिरहेको छैन। जतिसक्दो छिटो एकीकरण टुंग्याउन जरुरी छ, त्यसका लागि सचिवालय र स्थायी समिति बैठक बोलाउन आवश्यक छ,’ उनले भने। आफूले पहिलेदेखि नै सचिवालय र स्थायी कमिटी बैठक माग गर्दै आएको बताउँदै खनालले निरन्तर बैठकहरु नहुँदा पार्टी अप्ठेरो अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे। ‘विवाद समाधान गर्न निरन्तर बैठक जरुरी छ,’ उनले भने। उनले नेतृत्वले बैठक नडाक्दा एकता प्रक्रिया लम्बिँदै गएको र के कारणले बैठक लम्बिएको छ भन्ने विषयमा आफूले अध्ययन गरिरहेको बताए। ‘अब हामी नियम बनाएर पार्टीका सबै कमिटीको बैठक नियमित राख्ने परिपाटी बनाउँछौं, जो नियमअनुसार चल्न सक्दैन त्यस्तो नेता पार्टीमा काम लाग्दैन,’ खनालले भने।

प्रकाशित: २२ मंसिर २०७५ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App