७ वैशाख २०८१ शुक्रबार
अर्थ

केएमसीमा रोजगार मेला

काठमाडौं– केएमसी एजुकेशनल नेटवर्कद्वारा सञ्चालित हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा काठमाडौं मोडल कलेज बालकुमारीमा शुक्रवार बृहत् रोजगार मेला सम्पन्न भएको छ। बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालित उक्त मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले भने, ‘देश हाम्रो हो, हामीले बनाउने हो, हामीसँग प्रचुर सम्भावनाहरू छन्। नेपाल प्रकृतिको अनुपम उपहार हो। बस्नका लागि यो संसारकै सुन्दर स्थान हो। यहाँका अनन्त सम्भावनाहरूको खोजी गरी देशको नवनिर्माण गर्ने जिम्मा विद्यार्थीको काँधमा छ।’

हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरूमा लक्षित उक्त मेलामा २० वटा प्रतिष्ठित रोजगारदाता कम्पनीहरू सहभागी भएका थिए। मेलामा विभिन्न रोजगारदाता कम्पनीले आवश्यक जनशक्ति अन्तर्वार्ताबाट छनोट गर्ने आयोजक संस्थाका निर्देशक कपिलदेव रेग्मीले जानकारी दिएका थिए। मेलामा नेटवर्क अन्तर्गतका झण्डै १ सय जना विद्यार्थीले सहभागिता जनाएका थिए। उक्त मेलाको लागि पूर्वतयारीका रूपमा आफ्नो वैयक्तिक विवरण (सिभि) लेखन र समूह छलफल लगायतका कार्यक्रममा सहभागी भएका थिए। 

तिनै विद्यार्थीले मेलाका दिनमा रोजगारदाता संस्थाका प्रतिनिधिलाई आफ्नो अन्तर्वार्ता दिए। त्यसैबाट रोजगारदाता कम्पनीले आफूलाई आवश्यक पर्ने जनशक्तिको छनोट गर्न लागेका छन्। उक्त मेलाको आयोजना मेरो जब नामक संस्थाको साझेदारीमा सम्पन्न भएको हो। मेरो जब संस्थाका कार्यकारी निर्देशक शैलेन्द्रराज गिरीले सहकार्य गर्न पाएकामा खुशी व्यक्त गरे।

कार्यक्रममा कपिलदेव रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने नेटवर्कका निर्देशक किशोर गौतमले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए। यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङका प्राचार्य इन्जिनियर मदन शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा केएमसी एजुकेशनल नेटवर्कका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले प्रमुख अतिथि तथा अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए। 

प्रकाशित: २१ मंसिर २०७५ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App