८ वैशाख २०८१ शनिबार
राजनीति

परराष्ट्र नीतिमा सरकार फेल भइसक्याे : कोइराला

फाइल तस्बिर

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले परराष्ट्र नीतिमा ओली सरकार फेल भइसकेको बताएका छन्। शुक्रबार मोरङको विराटचोकमा आयोजित कार्यक्रममा डा कोइरालाले सरकारकार पराराष्ट्र नीतिमा फेल भइसकेको बताएका हुन्।

सरकारका पछिल्लो गतिविधिले परराष्ट्र नीतिमा फेल भइसकेको पुष्टि गरेको कोइरालाले बताए। सरकारले संतुलित परराष्ट्र नीति लिन नसकेकै कारण चीन र भारतले समेत नेपाल प्रति चासो र चिन्ता व्यक्त गर्न थालेको कोइरालाले दाबी गरे। कोइरालाले भने ‘सरकारका गतिविधिका कारण दुबै छिमेकीले नेपाल प्रति चासो र चिन्ता व्यक्त गर्न थालेका छन्।’

कोइरालाले सरकार आइएनजीओ सामु निरीह बनेर झुकेको आरोप समेत लगाए। उनले आइएनजिओ सामु निरीह बन्ने सरकारले देश चलाउन नसक्ने ठोकुवा गरे। दुई तिहाई बहुमतको आडमा बनेको सरकार भएकाले आफूहरूले हटाउन नसक्ने भए पनि आफ्नै गतिविधिका कारण सरकार संकट उन्मुख हुँदै गएको काेइरालाले बताए। ‘विमस्टेकको वेला ५ देशका सेनाको संयुक्त सैेन्य अभ्यास गर्ने विषयमा सहमति गरेको सरकारले सेना पठाउन नसक्नु, एउटा आइएनजिओसंग निरीह बनेर सहयोग गर्नु, प्रधानमन्त्रीले विना स्वीकृति विदेशी संस्थाको अवार्ड लिनुले सरकार परराष्ट्र नीतिमा फेल भइसकेको स्पष्ट हुन्छ’, कोइरालाले भने।

उनले जनवादी केन्द्रीयतामा विश्वास गर्ने कम्युनिष्ट सरकार संघीयता असफल पार्न लागिपरेको आरोप पनि लगाए। प्रधानमन्त्रीले शक्ति आफू केन्द्रीत गर्नु, प्रदेशलाई अधिकार दिन कन्जुस्याई गर्नु, प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेका आयोजनाहरू पुनः संघीय सरकार मातहत तान्नुले सरकार संघीयता सिध्याउने खेलमा लागेको पुष्टि गरेकाे काेइरालाकाे दाबी छ।

प्रकाशित: २१ मंसिर २०७५ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App