८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय गठबन्धनप्रति सद्भावना आक्रामक

काठमाडौं- राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संघीय गठबन्धनप्रति आक्रामक देखिएको छ। तराई–मधेसको आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विघटन गराउन उद्यत भएको भन्दै सद्भावना आक्रामक देखिएको हो। राष्ट्रिय कार्यसम्पादन समितिको एक साता लामो बैठकले गठबन्धनको नाउँमा मोर्चालाई विघटन गर्न खोजिएको ठहर गरेको छ। 'गठबन्धनको निर्माण भनेको मोर्चाको विघटन होइन, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेपालको ऐतिहासिक राजनीतिक शक्ति भएको तथा जुन मुद्दामा केन्द्रित भएर मोर्चा गठन भएको थियो, उक्त मुद्दा टुंगोमा नपुगेको हुँदा मोर्चाको आवश्यक्ता छ,' निर्णयमा भनिएको छ। सद्भावनाका अनुसार मोर्चाको अस्तित्व कायम राख्दै गठबन्धनले कार्यसम्पादन गर्नुपर्नेछ।

अध्यक्ष महतोले शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्र्दै मोर्चाको औचित्य नभएको संकेत गरेका छन्। 'मोर्चाको नाउँमा सय बढीको बलिदानी भएको छ, रगत बगेको छ, सहिद भएका छन् तर गठबन्धनको नाउँँमा खै कतै रगत बगेको?' उनले प्रश्न गरे, 'वार्तामा बोलाउनेगरी खै दबाब दिन सकेको?' गठबन्धनले गरेको आन्दोलन प्रभावकारी नभएको पनि महतोको भनाइ छ।

गठबन्धनले जारी राखेको रिले अनशनप्रति पनि महतोले रोष प्रकट गरेका छन्। 'रिले अनशन भनिएको छ, १२ घन्टा मात्रै राखिएको छ, त्यो त २४ घन्टाको हुनुपर्थ्यो,' उनले भने, 'त्यसले केही हुनेवाला छैन तर पनि यो प्रचारका लागि मात्र हो।' अझैसम्म पनि गठबन्धनले खुलामञ्चमा जारी राखेको अनशनस्थलमा महतो भने पुगेका छैनन्।

सरकारले सार्थक वार्ताका लागि पहलकदमी नगरेको सद्भावनाको आरोप छ। ३६–३६ पटक वार्ता गरेर पनि कुनै निष्कर्ष ननिक्लिएकोमा आपत्ति जनाउँदै सद्भावनाले सार्थक वार्ताको वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरेको छ।

प्रकाशित: ११ असार २०७३ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App