८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘आउँदा ठूला हिंसा हुनसक्ने’

शैक्षिक सुधारको माग राख्दै बिहीबार नान्टेसमा विद्यार्थीद्वारा गरिएको प्रदर्शनपछिको दृश्य। तस्बिर : एजेन्सी

पेरिस – राष्ट्रव्यापी ‘पहेंलो भेस्ट’ प्रदर्शन आन्दोलन केही मत्थर भएको संकेत देखिएपछि केही अराजकले आउँदो शनिबार पेरिसमा ‘प्रमुख हिंसा’ फैलाउन सक्नेतर्फ फ्रान्सेली सरकारले चिन्ता व्यक्त गरेको छ। सरकारले इन्धनमा कर वृद्धि गर्ने घोषणा गरेपछि सुरु भएको प्रदर्शन हिंसात्मक हुन थालेपछि सरकारले तत्कालका लागि सो निर्णय कार्यान्वयन नगर्ने घोषणा गरेको थियो।

सुरुमा इन्धनमा भएको कर वृद्धिलाई लिएर प्रदर्शन भए पनि हाल सो प्रदर्शन महँगीप्रति लक्षित भएको छ। तसर्थ शनिबारको र्याली पनि त्यसरी नै तयारी भइरहेको बुझिएको छ। पछिल्ला प्रदर्शन अर्बौं युरो बराबरको सम्पत्ति ध्वस्त हुने गरी हिंसामा परिणत भएका छन्। कर वृद्धिको निर्णय सरकारले तत्कालका लागि फिर्ता लिएको भन्दै सरकारले सबैलाई शान्त बस्न आग्रह गरे पनि बिहीबार फ्रान्सका केही पकेट क्षेत्रमा विद्यार्थीसहितको प्रदर्शन भएको बिबिसीले उल्लेख गरेको छ।

सरकार कुन विषयमा चिन्तित छ ?
फ्रान्समा गत शनिबार भएको प्रदर्शन दशकौंपछिको हिंसात्मक प्रदर्शन थियो। शनिबारको प्रदर्शनका कारण सयौं घाइते र पक्राउ परेका थिए। प्रदर्शनकारी कानुनले बाँधिएका फ्रान्सेली नागरिक थिए जो सडक संघर्षमा उत्रिएका थिए र उनीहरुलाई ठूलो संख्यामा रहेका सर्वसाधारणको समर्थन् रहेको थियो। शनिबारको प्रदर्शनमा उत्रिएका फ्रान्सेली नागरिक र उनीहरुलाई समर्थन गर्नेको संख्या देख्दा यस्तो लाग्थ्यो उनीहरुले वैधानिक प्रजातान्त्रिक गतिविधि गरिरहेका छन्।

‘केन्द्रीय नेतृत्व वा आधिकारिक नेताले नेतृत्व नगरेको भए पनि शनिबारको र्यालीमा केही अतिवादी तथा समस्या उत्पन्न गराउने खालका मानिसको सहभागिता रहेको र उनीहरुले हिंसा फैलाएको आशंका गरिएको छ,’  यस साताको सुरुमा फ्रान्सेली आन्तरिकमन्त्रीले बताएका थिए। देशमा फैलिरहेको हिंसाको घटनालाई लिएर सरकारले बुधबार राति चिन्ता व्यक्त गरेको राष्ट्रपतीय दरबारको स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘देशमा फैलिएको हिंसा र त्यसको समाधान नचाहानेलाई लिएर सरकारको ध्यानाकर्षण भएको छ,’ फ्रान्सेली स्वास्थ्यमन्त्री एग्नेस बुज्यनले बिहीबार बिहान आरटिएल रेडियोसँगको अन्तर्वार्ताका क्रममा बताए। गत शनिबारको प्रदर्शनमा विश्व प्रख्यात आर्क डी ट्रियोम्फमा क्षति पुर्याइएको दृष्टान्तलाई मध्यनजर गर्दै सरकारले देशको प्रमुख राष्ट्रिय स्मारको संरक्षणका लागि सेना खटाउने तयारी गरेको फ्रान्सेली प्रसारण संस्था बिएफएमटिभीको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रदर्शनकारी कसरी फैलिँदै छन् ?
सुरुमा सरकारले इन्धनमा कर वृद्धि गरेपछि पहेंलो भेस्ट प्रदर्शन सुरु भएको थियो। केन्द्रीय नेतृत्वविहीन आन्दोलन भए पनि गत साता सो अभियानले सरकारसमक्ष ४० बुँदे माग पेश गरेको छ। ती मागमध्ये न्युनतम पेन्सन, कर प्रणालीमा व्यापक परिवर्तन र अवकाश पाउने उमेरमा कटौतीलगायत रहेको बिबिसीले जनाएको छ। सरकारले केही मागलाई अहिले नै सम्बोधन गरिसकेको छ। वर्तमान सरकार शक्तिमा आएपछि हटाइएको ‘वेल्थ ट्याक्स’ पनि पुनरावलोकन गर्न सरकार तयार रहेको बताइसकेको छ। सन् २०१८–२०१९ को बजेटको वास्तविक योजनको विश्लेषणअनुसार सरकारी नीतिले गरिबलाई भन्दा धनीलाई धेरै फाइदा पुगेको देखिएको छ।

सरकारी नीतिविरुद्ध हाल भइरहेको प्रदर्शनमाथि सफलता प्राप्त भएको देखिएपछि अन्य समूहले पनि छुट्टै गतिविधि सञ्चालन गर्न थालेको बिबिसीले जनाएको छ। एउटा प्रहरी युनियन ‘भिगी’ले आन्तरिक मन्त्रालयमा कार्यरत आफ्ना प्रशासनिक कर्मचारीलाई शनिबार हड्तालमा उत्रिन आह्वान गरेको छ। त्यस्ता प्रशासनिक कर्मचारीको सहयोग बिना दंगा प्रहरी कामविहीन हुने भन्दै सो युनियनले शनिबार हड्तालमा उत्रिन आह्वान गरेको बिबिसीले जनाएको छ।

उसले पहेंलो भेस्ट आन्दोलनप्रति सदाशयता देखाउँदै हड्तालमा उत्रन आग्रह गरेको बताइएको छ। यसैबीच बिहीबार विद्यार्थीहरुले देशको शैक्षिक सुधारको माग गर्दै प्रदर्शन गरेका छन्। राष्ट्रपति म्याक्रोंको सरकारले विश्वविद्यालय प्रवेशका लागि आवश्यक पर्ने विद्यालय शिक्षाको अन्तिम परीक्षामा परिवर्तन चाहेको बताइएको छ।

प्रकाशित: २१ मंसिर २०७५ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App