coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्वाभाविक लय प्रदर्शन गर्न आतुर छु : केभिन

केभिन ओ ब्रायन

गत संस्करणमा श्रीलंकाका पूर्वखेलाडी परवेज महारूफको कप्तानीमा खेलेको काठमाडौं किङ्स एक्सआईले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा आशातीत प्रदर्शन भने गर्न सकेन। काठमाडौंले पाँचौं स्थानमा बस्दै प्रतियोगिताको अन्त्य गर्यो। यस संस्करणका लागि काठमाडौंले जिम्बाब्वेका सिकन्दर राजा र आयरल्यान्डका केभिन ओ ब्रायनलाई टोलीमा समावेश गर्ने घोषणा गरेको थियो। तर अन्तिम समयमा राजाले प्राविधिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। काठमाडौं यस संस्करणमा माथि उठ्ने प्रयासमा हुनेछ र टोलीको मुख्य सदस्य हुनेछन् केभिन। उनी प्रतियोगितामा सहभागी हुन बुधबार काठमाडौं आए। उनीसँग नागरिककर्मी राजन शाहसञ्जय थापाले गरेको कुराकानी।

इपिएलल सहभागिता कसरी सम्भव भयो?
मलाई नेपाली क्रिकेट र यहाँका क्रिकेट समर्थकका बारेमा थाहा थियो। मलाई काठमाडौंबाट  प्रतियोगिता खेल्न प्रस्ताव आयो। त्यसैले मैले यो अवसरलाई खेर जान दिइनँ। मेरा लागि यो नयाँ वातावरण, नयाँ टोली सदस्य, प्रशिक्षक भएकाले यो मेरा लागि नयाँ चुनौती हो।

आयरल्यान्डको र यहाँको वातावरणमा के भिन्नता छ?
यो पूर्ण रूपमा फरक छ। मैले गत वर्ष भारतमा खेलेको थिएँ। यहाको पिच पनि भारतको जस्तै हुनेमा म आशावादी छु। म यहाँको वातावरणमा भिज्दै स्वाभाविक खेल खेल्ने प्रयास गर्नेछु।

नेपाली क्रिकेटको वर्तमान अवस्थाका बारेमा कतिको जानकार हुनुहुन्छ ?
मैले विगतमा एक दुई पटक नेपालविरुद्ध खेलेको छु। पछिल्लो पटक मैले २०१५ मा बेलफास्टमा नेपालविरुद्ध ट्वान्टी–२० विश्वकप छनोट खेलेको थिएँ। मैले नेपाली क्रिकेटलाई नजिकबाट नियाल्दै आएको छु। एकदिवसीय मान्यता पाउनु नेपालका लागि ठूलो उपलब्धि हो। यहाँका क्रिकेट खेलाडी र समर्थकमा भएको खेलप्रतिको लगाव सुखद संकेत हो। तर यसका लागि अझ स्तरीय टोलीविरुद्ध धेरैभन्दा धेरै खेल खेल्न आवश्यक छ।

घरेलु क्रिकेट संरचनाको विकासका लागि फ्रेन्चाइज क्रिकेटले कस्तो अर्थ राख्छ ?
यसले खेलाडीलाई धेरै सहयोग पुर्याउँछ। विदेशी खेलाडीबाट यहाँका युवा खेलाडीले धेरै सिक्ने अवसर पाएका छन्। उनीहरूसँग एउटै टोलीमा दुई–तीन सातासँगै खेल्न र अभ्यास गर्दा उनीहरूले धेरैभन्दा धेरै एक्पोजर पाउँछन्। फ्रेन्चाइज क्रिकेटले सबैलाई मद्दत पुग्छ। यस्तै प्रतियोगिताबाट नयाँ खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर पाउँछन्। आशा छ, सबेै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गर्नेछन्।

अबको दुई–तीन साता इपिएलमा व्यस्त हुनुहुन्छ। तपार्इंबाट टोलीले कस्तो आशा गरेको छ ?
पक्कै पनि टोलीलाई सफलता दिलाउनु प्राथमिकता हो। त्यसका लागि हामीले समूहचरणमा राम्रोभन्दा राम्रो प्रदर्शन गर्दै शीर्ष दुईमा स्थान बनाउन आवश्यक छ। म आफ्नो स्वाभाविक लयको प्रदर्शन गर्न आतुर छु। सर्वप्रथम म जित्न चाहान्छु। मैले खेल जीवनमा कुनै पनि ट्वान्टी–२० प्रतियोगिता जित्न सकेको छैन। आशा छ,  यहाँबाट मेरो ट्वान्टी–२० प्रतियोगिताको जित यात्रा सुरु हुनेछ।

प्रकाशित: २१ मंसिर २०७५ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App