‘हाटा’ गर्नेको ग्रेड वृद्धि रोक्का

शुक्रबार, २१ मङि्सर २०७५, ०९ : ४२ खिलक बुढाथोकी  | @KhilakB

50


काठमाडौं महानगरपालिका हाजिर गरेर टाप कस्ने (हाटा गर्ने) कर्मचारीको ग्रेड वृद्धि रोक्का गरेको छ। छड्ने अनुगमन गर्दा हाजिर गरेर कार्यालयमा नबस्ने पाइएपछि त्यस्ता कर्मचारीको ग्रेड वृद्धि रोक्का गरेको हो।

महानगरका अनुसार चार कर्मचारीको दुई वर्षसम्मको ग्रेडवृद्धि रोक्का गरेको हो। महानगरले कर्मचारीको प्रत्येक वर्ष ग्रेड वृद्धि गर्छ। ग्रेड वृद्धि भन्नाले प्रति वर्ष एक दिनको तलव बराबर खाइपाइ आएको मासिक तलबमा थपिने बुझ्नुपर्छ। ३० हजार मासिक तलब बुझ्ने कर्मचारीको एक वर्षमा एक हजार तलव थपिन्छ।

महानगरले ग्रेड वृद्धि रोकेका कर्मचारीमा इन्जिनियर र नायब सुब्बा छन्।

वातावरण विभागका नायब सुब्बा पद्युम्न लामा, पूर्वाधार विभागका इन्जिनियर हेमन्त चौरासिया, भवन विभागका नायब सुब्बा कृष्णगोपाल प्रधान र भवन विभागकै नायब सुब्बा दिनेशराज शिवाकोटीको ग्रेड वृद्धि रोक्का गरेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।

‘हाटा गरेर भाग्नेलाई हामीले स्पष्टीकरण सोधेका थियौं,’ उनले भने, ‘स्पष्टीकरणमा चित्त नबुझेको र बारम्बार हाटा गर्दै आएको पाएपछि विभागीय कारवाही स्वरूप ग्रेड वृद्धि रोक्का गरिएको हो।’ उनका अनुसार १४ कर्मचारीलाई भने सचेत गराइएको छ। सचेतमा निर्देशक तथा विभागीय प्रमुख समेत छन्। विभागीय प्रमुखमा महानगरका निर्देशक तथा सामाजिक विकास विभागका विभागीय प्रमुख सनद थापालाई पनि सचेत गराइएको छ। छड्के गर्दा कुर्सीमा नभेटिएको र हाजिर हेर्दा अधिकांश दिनमा ढिला आउने र छिट्टै कार्यालयबाट निस्कने पाएपछि सचेत गराइएको प्रवक्ता कार्कीले बताए।  

काम लिएर सेवाग्राही टेबुलमा पुग्दा कर्मचारी नभेटिएको गुनासो बढेपछि महानगरले कार्यालय र महानगरका ३२ वटै वडामा छड्के गरेको थियो। वडामा छड्के गर्दा बिहान ३ सय १० जना कर्मचारीले हाजिर गरेकोमा अपरान्ह ३ बज्दा ४५ जना कर्मचारीले हाटा गरेको भेटिएको थियो।

त्यसैगरी कार्यालयमा अनुगमन गर्दा बिहान ३ सय २२ कर्मचारीले हाजिर गरेकामा दिउँसो ३ बजे छड्के गर्दा ६९ कर्मचारी टेबुलमा भेटिएका थिएनन्। ती कर्मचारीलाई स्पष्टीकरण सोधिएको र अनुसन्धान गर्दा बारम्बार हाटा गर्ने भेटिएपछि भने विभागीय कारवाही गरिएको हो।

महानगरको सेवा प्रवाह छिटोछरितो, सेवाग्राही मैत्री र प्रभावकारी बनाउन कर्मचारीको छड्के अनुगमन थालेको छ। ‘कतिपय कामहरू कर्मचारीको कारणले ढिलासुस्ती हुने गरेको पाइयो,’ प्रवक्ता कार्कीले भने, ‘अनुसन्धान गर्दा हाटा प्रमुख कारण पाएपछि कर्मचारीको छड्के अनुगमन गरेका हौं।’ उनका अनुसार महानगरले नियमित तालिका बनाएर महिना दुई–तीन पटक छड्के अनुमगन गरेर कर्मचारीलाई जिम्मेवार बनाउन अगाडि बढेको छ। सोही अनुसार केन्द्रीय कार्यालय हुँदै वडा कार्यालयका कर्मचारीमाथि छड्के थालेर कारवाही नै गर्नपर्ने कर्मचारीलाई भने कारवाही स्वरूप विभागीय कारवाही गरिएको हो।

उनका अनुसार पहिलो चरणमा महानगरको सेवा शर्तसम्बन्धी विनियमावली २०६१ हाटा गर्ने कर्मचारीलाई विभागीय कारवाही गर्न पाइन्छ। बढुवा रोकुवा, तलव वृद्धि रोकुवाको कारवाही गर्न पाउने प्रावधान छ। त्यसमा पनि चित्त नबुझेमा भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाटै पनि हटाउन सक्ने प्रावधान विनियमावलीमा छ। विभागीय कारवाहीबाट मात्रै पनि हाटा नरोकिए विनियमावली अनुसार  सेवाबाट हटाउने सम्मको कारवाही गर्न समेत पछि नपर्ने प्रशासन विभाग प्रमुख समेत रहेका प्रवक्ता कार्कीको दाबी छ।

महानगरमा १३ विभाग छन्। त्यसैगरी त्यसको महाशाखा, शाखा, इकाई र आयोजनाहरू समेत छन्। ती सबै कार्यालय र ३२ वटै वडामा गरेर २२ सय कर्मचारीको दरबन्दी छ। तर, महानगरमा अहिले १७ सय ८१ कर्मचारी छन्। तीमध्ये सबैभन्दा बढी सरसफाइमा छन्। सरसफाइमा ११ सय बढी कर्मचारी छन् भने नगर प्रहरीमा दुई सय हाराहारी छन्।

कर्मचारी नपठाएको विभागीय प्रमुखको गुनासो

काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका प्रमुख सनदकुमार थापाले कर्मचारी नपाएको गुनासो गरेका छन्। विभागमा दरबन्दी अनुसार महानगरले कर्मचारी नपठाउँदा काम गर्न समेत समस्या भएको थापाको भनाई छ।
उनका अनुसार विभागीय प्रमुखसहित ७ जनाको दरबन्दी विभागमा छ। तर, हाल विभागमा थापाबाहेक नायव सुब्बा कृष्णप्रसाद सोती र कार्यालय सहयोगी सुनम श्रेष्ठ मात्रै छन्। तीन निर्देशक र एक नायब सुब्बा छैनन्।

‘कर्मचारी नहुँदा सेवाग्राहीको काम चाङ लागेर बसेको छ,’ विभागीय प्रमुख थापाले भने, ‘महानगरलाई पटक पटक जानकारी गराउँदा पनि कर्मचारी पठाएको छैन।’ उनका अनुसार महानगर मेयर विद्यासुन्दर शाक्यलाई मौखिक जानकारी गराउँदा कर्मचारी नपठाएपछि मंसिर ७ गते लिखित पत्रमार्फत् नै कर्मचारी उपलब्ध गराउन जानकारी गराएका छन्।

कात्तिकको अन्तिम साता सरुवा भएर विभागका जिम्मेवारी लिन पुगेका थापाले त्यसयता कर्मचारी नपाउँदा सेवाग्रहीको काम गर्न समस्या भएको दाबी गरेका छन्। उनका अनुसार पहिलाका विभागीय प्रमुखले गर्ने भन्दा कामको बोझ समेत थपेका छन्। तर, कर्मचारी भने सरुवा गराएर अहिलेसम्म पठाएका छैनन्। विभागले सामाजिक संघसंस्थाले गरेका कामको अनुगमन गर्न कार्यक्षेत्रमा समेत जानुपर्ने हुन्छ। कर्मचारी अभावले गर्दा कार्यक्षेत्र अनुगमन समेत ठप्प रहेका थापाले बताए।

यता महानगरका प्रशासन प्रमुख तथा प्रवक्ता ज्ञानेन्द्र कार्की भने कर्मचारी अभावले होइन, भएका कर्मचारीलाई परिचालन गर्न नसकेको बताए। ‘दरबन्दी भए पनि पहिलाका विभागीय प्रमुखले पनि थोरै कर्मचारीबाटै विभाग चलाउँदै आएका थिए,’ उनले भने, ‘अहिलेका विभागीय प्रमुख भने कर्मचारी मात्रै थुर्पान खोज्ने र काम नगर्ने प्रवृत्ति छ।’ उनका अनुसार महानगरले आवश्यकता ठानेमा भने कर्मचारी पठाउनेछ। अहिले महानगरको सरुवाको क्रममा रहेकाले कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको छ। २२ सय कर्मचारीको दरबन्दी रहेको महानगरमा अहिले १७ सय ८१ जना मात्रै कर्मचारी कार्यरत छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...