६ वैशाख २०८१ बिहीबार
समाज

यसरी खस्यो त्रिशूलीमा घिमिरेको जिप

चितवन (दारेचोक)- बाटो फराकिलो छ। नजिकै घुम्ती छ। बाटो दुर्घटनास्थलतर्फ केही होचो र अर्कोतर्फ उठेको छ। मुग्लिनबाट काठमाडौं आँउदा सडक उकालो र काठमाडौंबाट जाँदा ओरालोओरालो पर्छ। पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेले आइतबार आफैं हाँकेको गाडीको अनुमानित गति प्रतिकिलोमिटर ६० हाराहारीमा थियो । विपरीत दिशाबाट अर्को एउटा गाडी अझै तीव्र गतिमा आयो।

‘घुम्तीमा साइड च्यापेर आएको उत्तक्त गाडीलाई छल्न खोज्दा अनियन्त्रित भएर पूर्व गृहमन्त्री चढेको जिप नदीमा खसेको घटनास्थल मुचुल्काले देखाउँछ,’ धादिङ ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले नागरिकसँग भने । उनका अनुसार गाडी तीन बल्ड्याङ खादै त्रिशूलीमा पुगेको हो । पहिलो बल्ड्याङमा गाडी अघिको भाग भिरमा बजारिएको र त्यसपछि अर्को बल्ड्याङमा उत्तानो पर्दै उछिट्टिएर नदीमा पुगेको घटनास्थलले देखाउँछ ।

प्रहरी मुचुल्का अनुसार घिमिरेकी आमा चैतन्यदेवीसँगै चार जना चालक पछिको सिटमा र दुईजना अन्तिममा बसेका थिए । गाडीले बल्ड्याङ खाएपछि आमा, घिमिरेका अंगरक्षक र अन्य एक  उछ्टििएर बाहिर पुगे भने अन्य चार जना गाडीसँगै नदीमा पुगे । गाडीसँगै नदीमा पुगेका चालक विष्णु राईले पौडिएर बाहिर आएको बयान प्रहरीमा दिएका छन् ।

‘हातखुट्टामा गम्भीर चोट नलागेकाले चालकले पौडिएर ज्यान बचाउन सकेको देखिन्छ । पौडिन अप्ठेरो भएकाले जुत्ता फुकालेर उनी नदी किनारसम्म पुगेका थिए,’ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने ।

‘घिमिरेकी आमा, नारायण काफ्ले र अंगरक्षकको शव फरक फरक स्थानमा विभत्स अवस्थामा फेला पारेका थियौं, चालक पौडिएर बाँचे, अन्य तीन जना गाडीसँगै खोलामा बगेको वा डुबेको हुनसक्छ,’ महानिरीक्षक अर्याललाई घटना विवरण सुनाउँदै भेटवालले भने । यसअघि भदौ २४ गते भएको ट्रक दुर्घटनामा भत्किएको पुलबाटै घिमिरे चढेको गाडी खसेको हो । नदी गहिराइ ५० मिटरभन्दा बढी र बहाव तीव्र भएका कारण खोजी र उद्धारमा कठिन भएको सुरक्षाकर्मी बताउँछन् ।

गृहमन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीका अनुसार बेपत्ता घिमिरेको खोजीमा नेपाली सेनाका ८५ जना, सशस्त्र प्रहरीका ५५ र नेपाल प्रहरीका २५ जान परिचालित छन् । उनले तीनै सुरक्षा निकायबाट व्यावसायिक र अनुभवी अधिकारीबाहेक पाँच सय ६० जना  चितवन र नवलपसारी क्षेत्रमा खटिएको बताए। 

‘तीन दिनदेखि तालिमप्राप्त गोताखोर र खोज तथा उद्धारमा कार्यरत सुरक्षा अधिकारी खटिएका छन, उपलब्ध सबै प्रविधि प्रयोग भएको छ तर भेटाउन सकिएको छैन,’ पन्थीले भने । घिमिरेसहित तीनजनाको अवस्था अज्ञात छ । सोमबार दुर्घटनास्थलभन्दा तल नदीमा हुक अड्किएको छ । ‘हुक अड्किएको छ, उहाँ (घिमिरे) चढेकै गाडीमा हो वा अन्यमा पत्ता लाग्ला,’ पन्थीले थपे ।

आइतबार चितवन, दारेचोकको घोप्टेभिरबाट घिमिरेसहित सात जना चढेको गाडी त्रिशूलीमा खसेको हो । तीन जनाको मृत्यु भइसकेको छ भने घिमिरेसहित तीन हराइरहेका छन् ।

घिमिरेको पारिवारिक टोली मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेको हो । बा.९च १५३१ नम्बरको निजी नम्बर प्लेटको स्कोर्पियो जिप दुर्घटनामा परेको हो । पूर्वमुख्य सचिव घिमिरे खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषदमा गृह तथा परराष्ट्र मन्त्री हुन् ।

दुर्घटना स्पट ‘दारेचोक’

प्रहरीका अनुसार २०७१  जेठ ९ यता पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप खसेकै स्थानमा १० वटा दुर्घटना भइसकेका छन् । भदौ २४ गते सोही स्थानबाट ना.३ख ६०१७ नम्बरको ट्रक खसेको  थियो । ट्रक खस्नुअघि त्यहाँ नौवटा गाडी दुर्घटनामा परेका थिए ।

 चितवन–काठमाडौं सडकखण्डमा पछिल्लो तीन वर्षमा भएका २० दुर्घटनामा १० दारेचोकमा भएका हुन् । यी दुर्घटनामा ४० जनाको मृत्यु, १९ जना बेपत्ता र ५८ घाइते भएको प्रहरी तथ्याक छ ।

काठमाडौं–चितवन ३८ स्थान जोखिमयुक्त

काठमाडौं–चितवन सडकखण्डका ४० स्थानमा तत्काल सुधार नगरिए थप दुर्घटना हुनसक्ने प्रारम्भिक स्थलगत विवरण चितवन ट्राफिक प्रहरीले सम्बन्धित निकायमा दिएको छ । चाडपर्वका समयमा सडक दुर्घटना न्यूनीकरण गर्न तत्काल सडक, रेलिङ, प्यारापिट, सेफ्टी ब्यारियर र रङरोगन गर्न अनिवार्य भएको प्रतिवेदनमा उल्लेख छ । ट्राफिक प्रहरीले भदौ १५ गते सडक, जिल्ला प्रशासनसहित सरोकारवालालाई बुझाएको प्रतिवेदनमा मुग्लिन बजारदेखि मौवाखोलासम्मका विभिन्न ६ स्थानमा तत्काल निर्माण तथा मर्मत गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रहरीले पहिचान गरेका ३८ खतरास्थलध्ये मुग्लिङ बजार मोडमा पर्खाल मर्मत, नाग्दी पुलको रेलिङ मर्मत, रमाइलो डाँडामा सडक साइडको डनेरेटर सरसफाइ, कुरिनटार बजारको साइड ब्यारियर मर्मत, डाहाकी पुल छेउ प्यारापिट मर्मत र फिस्लिङ क्षेत्रमा साइडवाल निर्माण आवश्यक छ । यस्तै पहिचान गरिएका जोखिम क्षेत्रमा १६ किलो, लामु बालुवा पुल, खानी पुल, १७ किलो, भोर्ले र भोर्ले पुल, २० किलो, २१ किलो, घुमाउने, भालु पहडा घुम्ती, २७ किलो, २८ किलो, जलवीरे र घुम्ती, २९ किलो, ५ किलो पहिरो, चार किलो हाइट, टोपे खोला, कालीखोला, ३५ किलो र ३३ किलो छन । प्रतिवेदन अनुसार एक, दुई र तीन नम्बर पुलमा तत्काल रेलिङ मर्मत, प्यारापिट निर्माण र रङरोगन गर्न अनिवार्य छ ।

‘हामीले स्थलगत अवलोकन र दुर्घटनाका पछिल्ला स्थलको विश्लेषणपछि प्रतिवेदन तयार पारेका होैं,’ धादिङ ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले भने ।

 

 

 

 

प्रकाशित: १२ आश्विन २०७३ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App