८ वैशाख २०८१ शनिबार
समाज

सार्वजनिक सवारीसाधनमा डस्टबिन अनिवार्य

चितवन - सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्ने अभियान सुरु गरिएको छ। फोहोर व्यवस्थापन गरी पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन सहयोगी कार्यक्रमका रूपमा यस्तो अभियान सुरु गरिएको हो। भरतपुर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वे गु्रप चितवनले संयुक्त रूपमा भरतपुर महानगर क्षेत्रमा यो अभियान सुरु गरेका हुन्।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरूले जथाभावी फोहोर फाल्ने गर्दछन्। खानेकुराका बोक्रा, खोल, प्लास्टिक आदि फाल्ने ठाउँ सवारीसाधनभित्र नहुँदा यात्रुहरू झ्यालबाटै फेहोर फाल्न बाध्य भएका हुन्। यात्राका क्रममा फालिने त्यस्ता फोहोर व्यवस्थापनका लागि सवारीसाधनमा डस्टबिन राख्ने अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

अभियानअन्तर्गत चितवन भएर र चितवनभित्र चल्ने सानाठूला सार्वजनिक सवारीसाधनमा फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्ने र चेतनामूलक स्टिकर टाँस्ने काम सुरु गरिएको हो। अभियानअन्तर्गत केही सवारीसाधनलाई डस्टबिन पनि वितरण गरिएको ट्राफिक प्रहरी निरीक्षक गौतमको भनाइ छ। ‘नमुनाका रूपमा केही सवारीसाधनलाई डस्टबिन दिएका छौं,’ उनले भने, ‘अब लामो तथा छोटो दूरीमा चल्ने सबैखाले सवारीसाधनमा सवारीधनीले डस्टबिन अनिवार्य रूपमा राख्नुपर्नेछ।’

वे ग्रुप जिल्लाको सरसफाइमा सहभागी हुँदै आएको संस्था हो। आफ्नो ग्रुपले २०७३ जेठबाट ‘हप्ताको एक दिन एकछिन समाजका लागि’ भन्ने अभियान थालेर सरसफाइको क्षेत्रमा निरन्तर काम गरिरहेको संयोजक भोजनारायण कँडेलले बताए। फोहोरका कारण रोग पनि लाग्ने र सहरको सुन्दरता पनि गुम्ने भएकाले सहर सफा गर्ने उद्देश्य प्राप्तिका लागि अभियान निरन्तर चलिरहेको उनको भनाइ छ।

ग्रुपले महानगर क्षेत्रमा गुट्खामुक्त अभियान पनि थालिसकेको छ। सो अभियानको प्रभाव पनि देखिन थालेको संयोजक कँडेलले सुनाए। सार्वजनिक स्थलमा हुने फोहोरलाई नियन्त्रण गर्ने क्रममा सवारीसाधनमा चढ्ने यात्रुले बसपार्क क्षेत्रमा मात्र नभई बाटोवरपर जुनसुकै स्थानमा फोहोर फाल्ने गरेको भेटिएको उनले बताए।

फालिएको फोहोर टिप्दा मात्र सफासफाइले पूर्णता नपाउने ठहर गरेपछि यस किसिमको अभियान थालिएको कँडेलले बताए। बरु फोहोर नै गर्न नदिने निष्कर्षसहित अभियान अघि बढाइएको उनको भनाइ छ। समस्याको रूप ठूलो देखिएपछि सवारीसाधनमा डस्टबिन अनिवार्य राख्ने नीति बनाउन महानगरपालिकासँग सहकार्य गरिएको उनले बताए। चौबिसकोठी, पुल्चोक, केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्कका केही सवारीसाधलाई डस्टबिन दिएर सांकेतिक रूपमा अभियान सुरु गरिएको उनले जानकारी दिए।

अभियानलाई इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासँग सहकार्य गरेर विस्तार गर्ने तयारी वे ग्रुपले गरिरहेको छ। सार्वजनिक सवारीसाधनले डस्टबिनमा जम्मा भएको फोहोर तोकिएको स्थानमा मात्रै फाल्न पाउँछन्। त्यसका लागि केन्द्रीय बस टर्मिनल, पुल्चोक, चौबिसकोठीलगायत स्थानमा सवारीसाधनले फोहोर राख्न सक्ने व्यवस्था पनि गरिएको छ। अभियानअन्तर्गत सयभन्दा बढी सवारीसाधनमा मादक पदार्थ सेवन गरेको पाइए र डस्टबिन नभेटिए हटलाइन नम्बर १०३ मा खबर गरौं भन्ने सन्देशसहितका स्टिकर पनि टाँसिएका छन्।

डस्टबिन वितरण गरिएका सवारीसाधनको अनुगमन गरिने र प्रयोगलाई निरन्तरता दिन लगाइने ट्राफिक प्रहरी प्रमुख गौतम बताउँछन्। नगर क्षेत्र भएर गुड्ने सवारीसाधनमा डस्टबिन अनिवार्य गरिएपछि पनि प्रयोग नगर्ने सवारीसाधनलाई कारबाहीको दायरामा समेत ल्याइने उनको भनाइ छ। जिल्लालाई पूर्ण रूपमा सरसफाइयुक्त बनाउने कार्यक्रमअन्तर्गत महानगरबाट अभियानको थालनी भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी बताउँछन्। नगरलाई सफा र सुन्दर बनाउने अभियान जिल्लाका अरू नगरसँग पनि समन्वय गरिने उनले बताए।

प्रकाशित: २१ मंसिर २०७५ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App